सुदूरपश्चिम- धनगढी उपमहानगरपालिकाका बहादुर चौधरीलाई सेती प्रादेशिक अस्पताल धनगढीमा अघिल्लो दिन दिएको रगतको ‘रिपोर्ट’ लिन दुई घन्टा लाइनमा बस्नुपर्यो।
स्वास्थ्य परीक्षण गराउन अस्पताल पुग्नुभएका चौधरीलाई चिकित्सकले रगत जाँच गराउन भनेपछि अस्पताल परिसरको प्रयोगशालामा रगत दिन उनले अघिल्लो दिन डेढ घन्टा लाइनमा बस्नुपरेको थियो ।
रगतको रिपोर्ट लिन लाइनमा बसेका अर्का एक बिरामी लाइनमा बस्दा धकेलाधकेल हुन थालेपछि रिपोर्ट नलिइ फर्किए । धनगढीकै अर्का बिरामी हरिनादेवीलाई रगत दिन लामो समय लाइनमा बस्नुपर्यो । बहिरङ्ग सेवा कक्ष अगाडि चिकित्सकको पर्खाइमा मुटुरोगीहरु डेढ घन्टाभन्दा बढी उभिएर लाइनमा बस्ने गरेका छन् ।
कोठाको बाहिरतर्फ बिरामी बस्नका लागि बेञ्च, डेस्कको व्यवस्था नगरिँदा उभिएर पालो कुरिरहेका बिरामी लामो समयसम्म उभिएरै लाइनमा बस्नुपर्ने बाध्यता छ । अल्ट्रासाउन्ड कक्षको ढोका अगाडि पनि थामिनसक्नु भीड हुने, ह्वील चियरमा बसेर एक्स–रे गराउन पुगेका अपाङ्गता भएका र वृद्ध बिरामीलाई समेत कुर्न लगाउने गरिएको छ ।
अपाङ्गता र वृद्धवृद्धालगायतलाई सामाजिक सुरक्षा भत्ताको कार्ड पेस गरेमा निःशुल्क उपचारको व्यवस्था सरकारले गरे तापनि अस्पतालबाट सहज रुपमा उपचार सेवा लिन असहज भएको उनीहरुको गुनासो छ ।
‘उखरमाउलो गर्मीमा उभिएर घन्टौँसम्म लाइनमा बस्दा पनि पालो नआउँदा बिरामी थप बिरामी हुने अवस्था देखिएको भएको छ’, मुटु रोगको परीक्षण गराउन पालो कुरिरहेका कमलसिंह भण्डारीले भने ।
अस्पतालको आकस्मिक कक्षको अवस्था पनि उस्तै छ । शय्या नपुगेर बरण्डा र ग्यालरीमा राखेर बिरामीको उपचार गर्ने गरिएको छ । सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठूलो ‘रेफरल’ अस्पतालका रुपमा रहेको सेती प्रादेशिक अस्पताल धनगढीमा बिरामीले खेप्नुपरेको सास्तीका यी प्रतिनिधिमूलक घटना हुन् ।
मन्त्री र अस्पताल विकास समितिका पदाधिकारीले पटकपटक अस्पतालको उपचार सेवामा सुधार ल्याउने प्रतिबद्धता गरे पनि अस्पतालको उपचार व्यवस्थापनमा सुधार आउन नसकेको बिरामी बताउँछन् ।
प्रदेश संरचना कार्यान्वयनमा आएसँगै धनगढीको सेती अञ्चल अस्पताललाई सेती प्रादेशिक अस्पतालमा स्तरोन्नति गरिएको थियो । अस्पतालको सेवा सुदृढीकरण एवं स्तरोन्नतिका लागि प्रदेश सरकारले बर्सेनि बजेट विनियोजन गर्ने गरेको छ ।
स्वीकृत प्राप्त र अस्पताल विकास समितिबाट थपिएकोसमेत गरी तीन सय श्यया सञ्चालनमा रहेको यो अस्पताल सुदूरपश्चिम प्रदेशको ठूलो अस्पताल मानिन्छ । अस्पतालमा चिकित्सक, नर्सिङ स्टाफलगायत गरी तीन सय स्वास्थ्यकर्मी कार्यरत छन् । प्रदेशका अन्य स्वास्थ्य संस्था एवं अस्पतालमा उपचारार्थ भर्ना हुने कतिपय बिरामीलाई थप उपचारका लागि यसै अस्पतालमा सिफारिस गरिन्छ ।
स्वास्थ्योपचारमा प्रयोग हुने स्वास्थ्य उपकरण बिग्रिएमा मर्मत गर्ने जनशक्ति नहुँदा बेलाबेलामा समस्या हुने गरेको छ ।