नेपाली र अमेरिकी सेनाबीच आइतबारदेखि संयुक्त अभ्यास शुरु हुँदैछ।
दुईवटा सेनाले दुई दशकदेखि साझेदारी गर्दै आएका छन्। यो साझेदारी विपद् व्यवस्थापनदेखि शान्ति स्थापना कार्यसम्बन्धी विविध विषयमा सबलीकरणसम्ममा छ। काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार सोही परम्परालाई कायम राख्दै नेपाली सेनाको स्पेसल अपरेसन्स फोर्सेस र अमेरिकी स्पेसल अपरेसन् कमान्डका सदस्यहरू संयुक्त अभ्यासमा सहभागी हुने छन्।
‘एक महिना लामो शान्ति स्थापना कार्यसम्बन्धी विविध क्रियाकलापमा सम्मिलित संयुक्त अभ्यास हुनेछ,’ दूतावासले भनेको छ, ‘यो संयुक्त अभ्यासले दुवै देशका सुरक्षाकर्मीहरूलाई विपदको समयमा कसरी उत्कृष्ट प्रतिकार्य गर्ने भन्नेबारेमा आफ्ना अनुभव र सिकाइहरू आदानप्रदानको अवसर प्रदान गर्नेछ।’
यो संयुक्त अभ्यासको नाम ‘ब्यालेन्स नेल’ दिइएको छ। सेनाको रेन्जर फौज र अमेरिकी सेनाको स्पेसल फौजबीच नियमित प्रक्रिया र अभ्यास हो यो, जुन अगस्ट २००३ देखि हुँदै आएको छ।
हालसम्म ब्यालेन्स नेलका ३९ वटा शृंखला सम्पन्न भएका छन्। र, रेन्जर फौजका करिब चार हजार सुरक्षाकर्मी यसमा सहभागी भइसकेका छन्। यसपटकको शृंखलामा २० अमेरिकी र ९० नेपाली सैनिक सहभागी छन्।