काठमाडौँ । नेकपा माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहयोग परियोजना एमसीसीमा देखा परेको संकट समाधान गर्न बेकारमा केपी ओलीलाई भेट्न पुगेको बताएका छन् । प्रेस सेन्टर नेपालको लुम्बिनी प्रदेशमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले बेकार नेकपा एमालेका अध्यक्ष ओलीलाई भेट्न पुगेको बताए ।
‘संसद (प्रतिनिधिसभा)मा एमसीसी अनुमोदन हुन नदिन र देशमा देखा परेको संकट समाधान गर्न केपी ओलीलाई भेट्न पुगेका थियौँ,’ प्रचण्डले भने, ‘ओलीले त सभामुखको राजीनामा र तत्कालीन नेकपा कालको १९ पृष्ठ लामो आरोप पत्र फिर्ता गर्न माग गरे, त्यसपछि किन आइएछ भन्ने भयो ।’
प्रचण्डले ओलीसँग भेटेपछि व्याख्यात्मक घोषणासहित एमसीसी पास गरी देशलाई दुर्घटना हुनबाट र गठबन्धन सरकारलाई रोक्न बाध्य भएको बताए । उनले गठबन्धन सरकार एमसीसी पास भएपछि थप बलियो भएको प्रतिक्रिया दिए ।
उनले गठबन्धन दलसँग केही स्थानमा मिलेर चुनावमा होमिने र सकेसम्म आफ्नै तागतमा निर्वाचन जित्ने बताए । उनले एमालेसँग कुनै प्रकारको सहकार्य पनि नहुने दाबी गरे ।