पाँचथर– पाँचथरमा चोरीको अनौठो घटना सार्वजनिक भएको छ। एक घरमा चोरी गर्न गएका फिदिम नगरपालिका-१ का २८ वर्षीय सुरेन्द्र योङ्याले एक तोला सुन नै निलेका छन्।
गत चैत २८ गते फिदिम-२ की विष्णुकुमारी तामाङको घरमा चोरी गर्न पसेका योङ्याले एक तोला सुन नै निलेका जिल्ला प्रहरी कार्यालय पाँचथरकाका सूचना अधिकारी सुमित कुशवाहाले बताए।
घरमा चोरी गरिरहेका योङ्यालाई देखेपछि परिवारले प्रहरीमा सम्पर्क गरेका थिए। प्रहरीले उनलाई पक्राउ खानतलासी गर्दा उनको साथबाट १५ हजार रुपैयाँ नगद बरामद गरेको थियो। तर तामाङको दराजमा राखिएको १ तोला सुन फेला नपरेपछि योङ्याले निलेको आशंका गर्दै प्रहरीले जिल्ला अस्पताल फिदिममा योङ्याको पेटको एक्स-रे गरेको थियो। सोही एक्स-रेमा योङ्याको पेटमा धातु देखिएको थियो।
योङ्याले निलेको उक्त सुन ३६ घण्टापछि दिसाबाट बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
उक्त घटनापछि चोरीसम्बन्धी मुद्दामा प्रहरीले जिल्ला अदालत पाँचथरमा मुद्दा दायर गरेको थियो। जिल्ला अदालतले वैशाख २३ गते योङ्यालाई एक लाख ५० हजार रूपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएकोमा धरौटी तिर्न नसकेपछि उनलाई पुर्पक्षका लागि जिल्ला कारागार पाँचथरमा थुनामा पठाइएको प्रहरीले जनाएको छ।