नयाँदिल्ली- नुन मानिसका लागि मात्र नभई जनावरलाई पनि अनिवार्य मानिन्छ। शरीरमा नुनको कमी भयो भने त्यसले विभिन्न प्रकारका बिरामी उत्पन्न गर्छ।
अमेरिकी वैज्ञानिक डा. जेम्स डिकोन्टोनियोले आफ्नो पुस्तक ‘द साल्ट फिक्स’मा मानव शरीरलाई नुनको आवश्यकताबारे चर्चा गरेका छन्। उनको भनाइमा आवश्यकताभन्दा कम नुन सेवनबाट अनिद्रा, इन्सुलिन रेजिस्टेन्स, हाइपोनेट्रिमियाजस्ता स्वास्थ्य समस्या उत्पन्न हुन्छन्।
अमेरिकी लेखक मार्को कुर्लास्कीले आफ्नो पुस्तक ‘साल्ट ए वर्ल्ड हिस्ट्री’मा नुन एक मात्र पत्थर हो, जसलाई मानिसले खान्छ भनेका छन्। र, त्यसविना मानिस जीवित रहन असम्भव रहेको बताएका छन्।
एक स्वस्थ बयस्क शरीरमा हरसमय करिब २५० ग्राम नुन हुन्छ। र, दैनिक २ हजार मिलिग्राम नुन मानव शरीरलाई आवश्यकता हुने वैज्ञानिकहरूको भनाइ छ। दैनिक २ हजार ३०० मिलिग्रामभन्दा बढी नुन सेवन पनि शरीरका लागि हानिकारक मानिन्छ।
नुन सोडियम क्लोराइडबाट बनेको हुन्छ। र, त्यसको अधिक सेवनले उच्च रक्तचापको समस्या आउँछ। त्यसबाट मुटु रोग, स्ट्रोक, हृदयाघात र मिर्गौलाको समस्या पनि देखिन्छ। लामो समय उच्च रक्तचापको समस्या देखियो भने त्यसले हाइपाटेन्सन पनि उत्पन्न गराउँछ।
तथापि, मानव शरीरमा सोडियमले नै पानी र मिनरल्सको सन्तुलन कायम राख्छ। शरीरमा सोडियमको कमी भयो भने डिहाइड्रेसन गराउँछ।
निरन्तर कम नुन भएका खाना खाँदा हाइपोनेट्रिमियाको समस्या उत्पन्न गराउँछ। शरीरमा आवश्यकताभन्दा साह्रै कम नुन हुँदा यस्तो समस्या आउँछ।
भोजनमा नुन कम हुँदा खराब कोलेस्टेरोल र ट्राइग्लिसराइडको खतरा बढ्छ। र, ती दुवै अवस्था मुटु रोगको जोखिमका कारक पनि हुन्।
शरीरमा सोडियमको कमीले इन्सुलिन रेजिस्टेन्स पनि उत्पन्न हुन्छ। त्यो भनेको ब्लड सुगर लेभल र इन्सुलिन बढ्नु हो। त्यसबाट डाइबिटिक र मुटु रोग उत्पन्न हुन्छ। दैनिक भोजनमा सोडियम कम हुँदा टाइप-१ र टाइप-२ डाइबिटिकका बिरामीलाई बढी समस्या हुन्छ।
यस्तै, नुनको कमीले निद्राको साइकल बिग्रिन्छ। सोडियमले शरीरमा पानी र इलेक्ट्रोलाइट्सको होमियोस्ट्यासिसलाई सन्तुलित बनाउँछ। सोडियम कम हुनासाथ उक्त सन्तुलन बिग्रिन्छ। र, त्यसले प्राकृतिक निद्रालाई असर पुर्याउँछ। यस्तै, सोडियमको कमीले कार्टिसोल र एड्रेनलाइनजस्ता स्ट्रेस हर्मोन प्रभावित हुन्छन्। र, त्यसबाट हाम्रो निद्राको प्याटर्न बिग्रिन पुग्छ।