रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सिरियालगायत रुसको समर्थनमा रहेका मुलुकबाट आउने भाडाका सैनिकलाई युक्रेन युद्धमा सामेल गराउन निर्देशन दिएका छन्। युक्रेनले यसको शुरुवात गरेको बताउँदै उनले आफूहरूले पनि भाडाका सैनिक पठाउने बताएका हुन्।
शुक्रबारको राष्ट्रिय सुरक्षा बैठकलाई सम्बोधन गर्दै पुटिनले पश्चिमा मुलुकले युक्रेनलाई सघाउन भाडाका सैनिक पठाइरहेको उनको दाबी थियो। कतिपय विदेशी युवाले युक्रेन युद्धमा रुसविरुद्ध लड्ने घोषणा गरेको सन्दर्भलाई पुटिनले त्यो पश्चिमा मुलुकको रणनीति भएको दाबी गरेका हुन्। र, त्यसलाई पुटिनले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन भएको दाबी गरेका छन्।
बिनातलब काम गर्ने त्यस्ता भाडाका सैनिकलाई युक्रेनको सीमावर्ती शहर डोनबासमा तैनाथ गर्न उनले अधिकारीहरूलाई निर्देशन दिए। ‘यदि कोही स्वयंसेवक आउन चाहन्छन् भने हामीले उनीहरूसँग आधा बाटोमा भेट्नुपर्छ। र, उनीहरूलाई युद्ध क्षेत्रमा स्थानान्तरित गर्न मद्दत गर्नुपर्छ,’ उनले भने।
रुसी सेनाले युक्रेनी फौजबाट कब्जा गरेका हतियारलाई लुहान्स्क र दोनेत्स्क क्षेत्रका सैन्य इकाइ (विद्रोही समूह)लाई हस्तान्तरण गर्न पनि पुटिनले निर्देशन दिए। रुससँग जोडिएका नेटो सदस्य मुलुकका सीमामा पनि सुदृढीकरण बढाउन उनले निर्देशन दिएका छन्। त्यसका लागि अलग रिपोर्ट तयार पार्न र अलग बैठकमा छलफल गर्न उनले निर्देशन दिए।
बैठकमा रुसी रक्षामन्त्री सर्गेई सोइगुले रुसी भाडाका सैनिकका रूपमा काम गर्न मध्यपूर्वी मुलुकबाट १६ हजार जनाले इच्छा जनाएको जानकारी दिए। ‘हामीले त्यो प्रस्ताव स्वीकार्नुपर्छ। पछिल्ला १० वर्षको दौरान आईएसआईएसविरुद्ध लड्न हामीले उनीहरूलाई सहयोग गरेका छौँ। र, उनीहरू पनि हामीलाई सहयोग गर्न चाहन्छन्,’ मन्त्री सोइगुले भने।