भारतका पाँचवटा राज्यमा भाजपासँग भारी अन्तरमा पराजयपछि पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले सन् २०२४ को केन्द्रीय संसद चुनावमा विपक्षी दलहरूको महागठबन्धन गर्ने प्रस्ताव अगाडि सारेकी छन्।
पाँच राज्यमध्ये उत्तरप्रदेश, मणिपुर र उत्तराखण्डमा भाजपाले बहुमतको सरकार गठन गर्दैछ। गोवामा भाजपा सबैभन्दा ठूलो दल बनेको छ। र, पञ्जाबमा आम आदमी पार्टीले सबै दललाई बढाएर स्पष्ट बहुमतका साथ सरकार बनाउँदै छ।
चुनावी परिणाम सार्वजनिक भएपछि भारतका पार्टीहरूको अलग-अलग प्रतिक्रिया आइरहेको छ। पश्चिम बंगालकी मुख्यमन्त्री तथा तृणमुल कांग्रेसकी अध्यक्ष बेनर्जीले भने सन् २०२४ मा महागठबन्धनमार्फत भाजपालाई हारको स्वाद चखाउने प्रस्ताव अगाडि सारेकी हुन्। र, त्यस्तो महागठबन्धन पाँच राज्यमा आफूहरू कमजोर बनेको हालको परिणामलाई उल्ट्याउन सकिने उनको आकलन छ।
त्यसका लागि कंग्रेस–आईले पहलकदमी लिनुपर्ने ममताको प्रस्ताव छ। समाचार एजेन्सी एएनआईका अनुसार ममताले भनिन्, ‘यदि कंग्रेसले चाह्यो भने सन् २०२४ को चुनाव मिलेर लड्न सकिन्छ। र, सन् २०२२ को चुनावी परिणाम दुई वर्षभित्रैमा उल्ट्याउन सकिन्छ।’
ममताले भोटिङ मेसिन (ईभीएम)माथि पनि प्रश्न उठाएकी छन्। ‘इभीएमको लुट भएको छ। समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवले निराश हुनुपर्दैन। उनले ईभीएम मेसिनहरूको फरेन्सिक जाँच गराउनुपर्छ,’ उनले भनिन्, ‘अखिलेशको भोट यसपटक २० प्रतिशतबाट बढेर ३७ प्रतिशत पुगेको छ।’