काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले आगामी निर्वाचनमा आफ्नो पार्टीले राम्रो नतिजा ल्याउने बताएका छन् । उनले अहिले पार्टीको संगठन निर्माणको काम युद्ध स्तरमा भएको दाबीसमेत गरे ।
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले अहिले पार्टी सम्पूर्ण रुपमा स्थानीय तहको निर्वाचनमा होमिएको बताए । ‘हामी अहिले युद्ध स्तरमा संगठन निर्माणको तयारीमा छौँ, स्थानीय तहको निर्वाचनमा हामी सहभागी छौँ,’ उनले भने, ‘हाम्रो प्राथमिकता संसदीय निर्वाचनमा छ। आगामी निर्वाचनबाट राप्रपा नेपाललाई राष्ट्रिय पार्टी बनाउने तयारी गरेका छौँ ।’
थापाले प्रमुख दलका कारण देश संकटको चक्रब्यूहमा फसेको टिप्पणी गरे । ‘बाहृय शक्तिको चलखेल र प्रभाव तीव्र रुपले बढेको छ, नेपाल विश्व महाशक्तिको रणनीतिक प्रतिस्पर्धाको स्थल बन्न सक्ने संकेत देखा परेका छन्,’ उनले भने, ‘पछिल्लो समय एमसीसीका सम्बन्धमा जे÷जस्ता विवाद देखा परे, त्यसले पनि नेपाल अन्तर्राष्ट्रिय शक्तिहरुको चलखेलको केन्द्र बन्न सक्ने खतरा सहजै देख्न सक्छौँ ।’