काठमाडौँ । गत असार १ गतेको बाढी पहिरोले क्षति पुगेको मेलम्ची खानेपानी आयोजनाको मर्मत कार्य ६० प्रतिशत सम्पन्न भएको छ । चैतभित्र काठमाडौँ उपत्यकामा अस्थायी रुपमा भए पनि पानी लैजाने तयारीमा पुगेको मेलम्ची खानेपानी विकास समितिका डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए ।
चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले नेपाली सेनाको सहयोगबाट ढुंगा विष्फोट गराएर नदी सफाइ गर्ने काम ६० प्रतिशत काम सकिएको जनाएको छ । अस्थायी रुपमा काठमाडौँमा पानी ल्याउन मेलम्ची नदीको गेट १, ९ र ३८ मात्र प्रयोग हुने भएकाले मर्मतको काम अन्तिम चरणमा पुगेको कुँवरले जानकारी दिए ।
गेट नम्बर ३८ मा हाइड्रोलिक सिष्टम बिग्रिएकाले यसमा थप मर्मतको काम सुरु भएको र बाँकी गेटमा भएको क्षति हेरेर अस्थायी रुपमा पानी सञ्चालन गर्न नयाँ गेट जडान गर्ने गरी तयारी थालिएको उनले बताए । मुहानमा खसेका ढुंगा माटो सफाइको काम सकिएकाले चैत मसान्तसम्म पानी काठमाडौँ पठाउन सकिने समितिले जनाएको छ ।
गत असार १ गतेको बाढी पहिराले क्षति पुगेको मेलम्चीको पानी पिउने काठमाडौँ उपत्यकाबासीको सपना पर धकेलिएको छ । आगामी चैतसम्म काठमाडौँ उपत्यकामा १७ करोड लिटर पानी दैनिक रुपमा वितरण गर्ने समितिको लक्ष्य छ । तर, वर्षा लागेसँगै चार महिना सुरुङ बन्द गर्नु पर्ने अवस्था रहेको कुँवरले बताए ।