सोलुखुम्बूको खुम्बु पासाङल्हामु गाउँपालिका-२ मा पर्ने हरियाली सामुदायिक वनमा लागेको डढेलोका कारण बस्ती जोखिममा परेको छ।
आइतबार रातिदेखि लागेको डढेलो नियन्त्रण बाहिर हुँदा सोही गाउँपालिका-२ को नाक्चुङबस्ती जोखिममा परेको वडाध्यक्ष आङ्फुर्वा शेर्पाले जानकारी दिए। डढेलोका कारण नाक्चुङका १३ घरपरिवार जोखिममा परेका वडाध्यक्ष शेर्पाले बताए।
तीव्र बेगको हावाका कारण स्थानीयवासीले आगोलाई नियन्त्रणमा लिन कठिन भएपछि सोमबारदेखि हेलिकोप्टरको प्रयोग गरिएको छ। अग्निनियन्त्रक सिम्रिक एयरको हेलिकोप्टरले दुई दिनदेखि आगो नियन्त्रणमा लिने प्रयास जारी राखेको भए पनि सफल नभएको प्रहरीले जनाएको छ।
गाउँपालिकाको पहलमा ल्याइएको उक्त हेलिकोप्टरले आगो नियन्त्रणका लागि ८४ हजार लिटर पानी प्रयोग गरेको वडाध्यक्ष शेर्पाले बताए। आगो लागेको क्षेत्र नजिकै पर्ने सुर्केखोलाबाट पानी तान्ने काम गरिएको छ। मंगलबार बेलुका लुक्लामा नै बसेको हेलिकोप्टरले आज पनि आगो नियन्त्रणको प्रयास गर्ने बताइएको छ।
डढेलो नियन्त्रणका लागि गाउँपालिकाले सबै संयन्त्र प्रयोग गरेको भए पनि सफल हुन नसकेको पालिकाले जनाएको छ। अत्यधिक भिरालो र तीव्र बेगको हावाका कारण मानिसले आगो नियन्त्रणको प्रयाससमेत गर्न नसक्ने स्थानीयवासी राम तामाङले बताए। धुवाँका कारण सोमबार बिहान झण्डै एक घण्टा तेञ्जिङ हिलारी विमानस्थल लुक्ला बन्द गर्नुपरेको थियो। आगोका कारण सल्ला, उत्तिसलगायत विभिन्न प्रजातिका बोटबिरुवा नष्ट भएको भए पनि के-कति क्षति भयो भन्न यकिन छैन।