काठमाडौं- इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार प्रतिवादी सिरहा बिष्णुपुर गाउँपालिका-५ लक्ष्मीपुर ठेगाना भएका ४१ वर्षीय विक्की मुस्कान भन्ने भोगेन्द्र प्रसाद यादवलाई घटनाको ६ वर्षपछि कतारबाट पक्राउ गरी सोमबार नेपाल ल्याइएको छ ।
आफ्नै २५ वर्षीया श्रीमती आरती परियारको धारिलो हतियारले घाँटी रेटी हत्या गरेको घटनामा संलग्न रही फरार रहेका भोगेन्द्रलाई कतारमा पक्राउ परेपश्चात प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाले ईन्टरपोल दोहा कतारसँग समन्वय गरी नेपाल ल्याई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको हो ।
ललितपुर लेलेमा २०७२ वैशाख १५ गते बिहान आरतीको हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । घटनापश्चात वैदेशिक रोजगारीको सिलसिलामा कतार गएका भोगेन्द्रविरुद्ध अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवम् पक्राउको लागि महानगरीय अपराध महाशाखाको अनुरोधमा २०७६ पुस १२ गते ईन्टरपोल महासचिवालयबाट ‘डिफ्यूजन’ तथा पुन: २०७७ साउन १९ गते ‘रेड नोटिस’ जारी गरिएको थियो ।