काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि अध्ययन समिति गठन भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकले ११ सदस्यीय समिति गठन गरेको हो ।
समितिमा एकवाल मियाँ, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, मीनबहादुर विश्वकर्मा, यशोदा सुवेदी (गुरुङ), रामबहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र डा. शिवमाया तुम्वाहाम्फे रहेका छन् । संसद बैठकमा आफ्ना माग पूरा गराउन विरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले समेत समितिका लागि आफ्नोतर्फबाट नाम दिएको छ ।
प्रतिनिधिसभाको बैठकअघि सभामुख अग्निप्रसाद सापकोटाले आज बोलाएको कार्य व्यवस्था परामर्श समितिको बैठकमा उक्त प्रस्तावमाथि अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेश गर्न ११ सदस्यीय सिफारिश समिति गठन गरिएको हो ।
नेपालको संविधानको धारा १०१ को उपधारा (३) र (४) एवं प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १६२ बमोजिम सो समिति गठनको प्रक्रिया अघि बढेको हो । प्रधानन्यायाधीश जबरामाथि यही फागुन १ गते कार्य क्षमता र आचारणसम्बन्धी प्रश्न उठाउँदै उक्त प्रस्ताव दर्ता भएको थियो ।