सुनसरी- बराहक्षेत्र नगर खेलकुद विकास समितिले गत १६ माघ ४ फागुनसम्म आयोजना गरेको वडास्तरीय दोस्रो मेयर लिग कप फुटबल प्रतियोगिताका विजेता खेलाडीहरूलाई सम्मान गरिएको छ।
प्रतियोगितामा वडा नम्बर १ को टिमले सहभागिता जनाई उत्कृष्ट खेल प्रदर्शन गर्दै प्रथम भएको थियो।
उक्त वडाको टिमले फुटबलको माध्यमबाट वडाको प्रतिष्ठा उच्च बनाएको भन्दै प्रशिक्षक, टिम म्यानेजर, खेलाडीहरूलाई उच्च मूल्यांकन गरी १ नम्बर वडा कार्यालयको तर्फबाट उत्तरोत्तर प्रगतिको कामनासहित सम्मान पत्र र नगदसहित सम्मान गरिएको वडाध्यक्ष किसन थापा मगर बताए।
सम्मानित हुनेमा प्रशिक्षक दिनेश राई, म्यानेजर मनोज राई, टिम क्याप्टेन दिवस लिम्बूसहित २१ जना खेलाडी छन्। उनीहरूलाई नगद, प्रशंसा पत्र र दोसल्लासहित सम्मान गरिएको वडा सदस्य कुमार भट्टराई जानकारी दिए।
प्रतियोगितामा नगरका ११ वटै वडाको सहभागिता थियो।
फाइनल खेलमा वडा नम्बर १ ले २–० गोल अन्तरमा वडा–५ ले हराएको थियो। वडा–५ उपविजेता बनेको थियो। वडा–३ तेस्रो भएको थियो।
उक्त प्रतियोगितामा प्रथम हुनेलाई २ लाख १ हजार रुपैयाँ, चाँदीको ट्रफी, मेडल प्रदान गरिएको थियो। दोस्रोलाई १ लाख १ रुपैयाँ र तेश्रोलाई ५१ हजार रुपैयाँ उपलब्ध गराइएको वडा नम्बर ७ का अध्यक्ष तथा खेलकुद विकास समितिलका अध्यक्ष कपिल आचार्य जानकारी दिए।
सम्मान कार्यक्रममा वडाध्यक्ष किसन थापा मगर, वडा सदस्यहरू कुमार भट्टराई, अमिना राई, दिलमाया सुर्खेती, दीपक राई, वडा सचिव लक्ष्मण पौडेलले खेलाडीहरूलाई नगदसहित सम्मान पत्र प्रदान गरेका थिए।
कार्यक्रममा स्थानीय चन्दबहादुर थापा (राजु), बडा कर्मचारी गोपाल तामाङ, सीमा दाहाल, रविना जोशी, लालबाबु यादव, रोशन काफ्ले, विवेक थापालगायतको उपस्थिति थियो।
‘खेलकुद हाम्रो सान खेलाडी उत्पादन गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ वडा नम्बर ७ देवीघाटस्थित वसन्तऋतृ माविको खेल मैदानमा उक्त प्रतियोगिता सञ्चालन भएको थियो।
यसपटक नगरले मेयर कपका लागि खेलकुद विकास समितिलाई १५ लाख रुपैयाँ विनियोजन गरिदिएको थियो।