काठमाडौं- कैलालीको धनगढीमा जारी छैटौं फारवेस्ट पशुपति कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ।
बुधवार भएका अन्तिम २ क्वाटर फाइनल खेलमा बीएस-१५ युवा क्लब र इलाइट युवा क्लबले जित निकालेपछि अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो। स्टार सिटी र आयोजक फारवेस्ट पशुपति युवा क्लब यसअघि नै सेमिफाइनल पुगिसकेका छन्।
बुधबारको पहिलो तथा तेस्रो क्वाटर फाइनल खेलमा बीएस १५ युवा क्लबले सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबलाई २-१ गोल अन्तरले पराजित गरी सेमिफाइनलमा स्थान सुरक्षित गर्यो। बीएसको जितमा हरिस कडायत र विदेशी खेलाडी ग्लोरीले १-१ गोल गरे। खेलको १३ औँ मिनटमा हरिस कडायतको गोलमार्फत अग्रता बनाएको बीएसका विरुद्ध सुदूरपश्चिमका फागुराम चौधरीले त्यसको ४ मिनटपछि गोल फर्काएर खेल बराबरीमा ल्याए। पहिलो हाफ १-१ को बराबरीमा सकिँदा दोस्रो हाफको २० औँ मिनटमा इलाइटका विदेशी खेलाडी ग्लोरीले गरेको गोल निर्णायक भयो। खेलको म्यान अफ दी म्याच हरिस कडायत चुनिँदा उनले नगद ५ हजार पुरस्कार र ट्रफी प्राप्त गरे।
बुधवारको दोस्रो र अन्तिम क्वाटर फाइनल खेलमा इलाइट युवा क्लबले नेपाल प्रहरी सुदूरपश्चिम प्रदेशमाथि ५-१ गोल अन्तरको फराकिलो जित दर्ता गर्यो। इलाइटलाई जिताउन हरिस भट्टले ह्याट्रिक गरे। उनले खेल शुरु भएको १० औँ मिनटमै पहिलो गोल गरेर टिमलाई उत्साहतर्फ अघि बढाउँदा त्यसको १ मिनटपछि ११ औँ मिनटमा अर्को गोल गर्ने अवसर बनाए।

खेलको ३५ औँ मिनटमा टिमलाई विनोद केसीले थप एक गोलको योगदान गरेपछि पहिलो हाफमा नेपाल प्रहरीको टिम ३-० गोल अन्तरले पछि पर्यो। दोस्रो हाफको ९ औँ मिनटमा विनोदले आफ्नो ह्याट्रिक पूरा गरे। दोस्रो हाफको २० औँ मिनटमा इलाइटका अनुज गैरेको गोलमार्फत फराकिलो अग्रता बनाएको टिमविरुद्ध नेपाल प्रहरीका सुरज महतोले दोस्रो हाफको २२ औँ मिनटमा १ गोल फर्काए पनि त्यसपछिको खेल गोलरहित सकिँदा इलाइट फराकिलो जितसहित सेमिफाइनल पुगेको हो। खेलको म्यान अफ दी म्याच ह्याट्रिक ब्वाय विनोद घोषित भए। उनले नगद ५ हजार पुरस्कार र ट्रफी प्राप्त गरे।
प्रतियोगितामा बिहीबार सेमिफाइनलका खेल हुनेछन्। पहिलो सेमिफाइनलमा स्टार सिटी र बीएस १५ मध्यान्ह १२ बजे आमनेसामने हुनेछन् भने दोस्रो सेमिफाइनलमा दिउँसो २ बजे आयोजक फारवेस्ट पशुपति युवा क्लब र इलाइट युवा क्लब भिड्नेछन्। शनिबार फाइनल खेल हुने छ।
प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख पुरस्कार पाउने छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टले १५-१५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजक फारवेस्ट पशुपति युवा क्लबका अध्यक्ष खेम रावतले बताए। प्रत्येक खेलको म्यान अफ द म्याचले पाँच हजार नगद पाउने छन्। प्रतियोगिताको मुख्य प्रबर्द्धकमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् छ भने मुख्य प्रायोजकमा एनआरएनए छ।