काठमाडौं- धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाललाई पत्रकार महासंघ कैलाली शाखाले आज ध्यानाकर्षण पत्र बुझाएको छ।
१९ मंसिर बिहान हमालले आफ्नो आधिकारिक फेसबुक पेजबाट समाचार प्रकाशन प्रसारण भएकै कारण आम नागरिकलाई मिडियाविरुद्ध भड्काउने गरी अभिव्यक्ति दिएको भन्दै महासंघले ध्यानाकर्षण पत्र बुझाएको हो।
फेसबुक पेजमा नगरप्रमुखजस्तो जिम्मेवार पदमा रहेका व्यक्तिले आम नागरिकलाई समाचार लेख्ने अनलाइन, पत्रपत्रिका र फेसबुकमा लेख्नेलाई वाच गर्न दिएको अभिव्यक्ति प्रेस स्वतन्त्रता विरोधी रहेको बताउँदै पत्रकार महासंघ कैलालीसहित पत्रकारका विभिन्न संघ संगठनले विरोध जनाएका थिए।
पत्रकार र मिडिया हाउसविरुद्ध आम नागरिकलाई भड्काउन नगर प्रमुखले अभिव्यक्ति दिएको ठहर गर्दै ध्यानाकर्षण पत्र बुझाइएको पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले जानकारी दिए।
ध्यानाकर्षण पत्रमा मेयर हमालको अभिव्यक्तिका कारण कुनै सञ्चारकर्मी र मिडिया हाउसमाथि आक्रमण भएमा, गालीगलौज वा धम्की आएमा त्यसको जिम्मेवारी स्वयं हमालले नै लिनुपर्ने उल्लेख गरिएको छ।
तत्काल सोही माध्यमबाट पत्रकारिताप्रतिको आफ्नो धारणा राख्न र पोस्ट गरेको सामग्री तत्काल सच्याउन माग गरिएको छ। त्यसो नभएमा मिडिया संस्था र मिडियाकर्मीहरू आन्दोलनमा उत्रिनेसमेत चेतावनी दिइएको छ।
मेयर हमालले आफूले सबै मिडियालाई आरोप लगाउन नखोजेको बताएका थिए। पत्रकार महासंघले भने समग्र पत्रकार तथा मिडियामा आँच आउने अभिव्यक्ति भएको भन्दै उक्त अभिव्यक्तिको विरोध गरेको जनाएको छ।