काठमाडौं- ‘समृद्ध सुदूरपश्चिमका लागि आर्थिक समृद्धि’ भन्ने मुल नाराका साथ कैलाली उद्योग वाणिज्य संघले विगत १६ वर्षदेखि मनाउँदै आएको ‘सुदूरपश्चिम महोत्सव’को सम्पूर्ण तयारी पूरा भएको छ। ०६३ सालदेखि हुँदै आएको सुदूरपश्चिम महोत्सवको यो १७ औं संस्करण हो।
महोत्सवको भोलि २२ मंसिरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदघाटन गर्ने महोत्सव आयोजक कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बताए।
महोत्सवमा चार सयभन्दा बढी स्टलहरू छन्। महोत्सवमा कृषि उपजका ११, होटलका २६, अटोमोबाइलका ११ तथा बैंक र वित्तीय संस्था, घरेलु उद्यम एवं व्यापारिक गरी चार सयभन्दा बढी स्टल छन्। साथै, मनोरञ्जनका लागि समेत विभिन्न स्टलहरू राखिएका छन्।

महोत्सवमा स्थानीय कला संस्कृति, कृषि प्रदर्शनी, अटोमोबाइल्सको प्रदर्शनी, रमाइलो मेलाका साथै स्थानीय र राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने कैलाली उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले जानकारी दिए।
करिब ५ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको महोत्सवमा करिब २० करोडको आर्थिक कारोबार हुने अपेक्षा राखिएको वरिष्ठ उपाध्यक्ष ओझाले बताए।
महोत्सव सुदूरपश्चिमको आर्थिक विकासको सम्भावनाहरूको खोजी गर्दै यस क्षेत्रको पर्यटन विकास, कला संस्कृति, खानपान, भाषाको संरक्षणसहित व्यावसायिक रूपमा सफलता प्राप्त गरि जनताको गुणस्तरीय जीवनमा सहयोगी सावित हुने विश्वास लिइएको छ।


