काठमाडौं- सुदूरपश्चिमको धार्मिक तथा प्राकृतिक दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण पर्यटकीय क्षेत्र खप्तडमा पछिल्ला ६ वर्षमा पर्यटकको आगमन घट्दो क्रममा छ। यस अवधिमा खप्तड आउने पर्यटकको संख्यामा ५० प्रतिशतले कमी आएको छ।
खप्तड राष्ट्रिय निकुञ्जले दिएको जानकारीअनुसार ०७४-७५ मा तेस्रो मुलुकका २८, सार्क राष्ट्रका ७ र नेपाली ६ हजार ८३१ गरी ६ हजार ८६६ जना पर्यटक खप्तड पुगेका थिए। त्यसयता पर्यटकको संख्यामा लगातार कमी आएको छ।
आर्थिक वर्ष ०७५-७६ मा तेस्रो मुलुकका ४९, सार्कराष्ट्रका १८ र नेपाली तीन हजार ६५३ गरी तीन हजार ७२० जनाले खप्तडको भ्रमण गरेका थिए।
आर्थिक वर्ष ०७६-७७ मा तेस्रो मुलुकका १६ जनाले खप्तड भ्रमण गरे। सार्क राष्ट्रबाट पर्यटक नै आएनन्। नेपाली पर्यटकको संख्या पनि ७३० जनामा खुम्चियो। उक्त वर्ष ७४६ जनाले मात्र खप्तड अवलोकन गरेको निकुञ्जका वार्डेन सरोजमणि पौडेलले बताए।

यसैगरी आर्थिक वर्ष ०७७-७८ मा तीन जना तेस्रो मुलुकका, एक हजार ६८५ नेपाली गरी एक हजार ६८८ जना पर्यटकले खप्तड भ्रमण गरेको पौडेलले जानकारी दिए।
यस्तै, आर्थिक वर्ष ०७८-७९ मा १९ जना तेस्रो मुलुकका, तीन जना सार्कराष्ट्रका, दुई हजार १८७ नेपाली गरी दुई हजार २०९ जनाले खप्तडको भ्रमण गरे।
आर्थिक वर्ष ०७९-८० मा ७० जना तेस्रो मुलुकका, सार्कराष्ट्रबाट २२ र दुई हजार ७९९ गरी दुई हजार ८९१ जनाले खप्तड भ्रमण गरेको तथ्यांक छ।
चालू आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्म चार महिनाको अवधिमा १५ तेस्रो मुलुकका र १२१ महिला ५९२ सहित गरी ७२८ जना पर्यटकले खप्तड भ्रमण गरेको वार्डेन पौडेलले जानकारी दिए।
पर्यटन व्यवसायी तथा होटल व्यवसायी संघ सुदूरपश्चिम प्रदेश अध्यक्ष दीपकबहादुर खड्काले संघीयता आएयता खप्तडमा पर्यटक आगमनको अवस्था निराशजनक रहेको बताए।
गत २६ साउनमा खप्तडमा बाबा रामदेव र आचार्य बालकृष्णको उपस्थितिमा आयोजित कार्यक्रमपछि भारतीयसँगै अन्य पर्यटकको संख्या बढ्ने अनुमान गरिए पनि त्यसयता झन् भारी गिरावट आएको उनले बताए।
‘हामीले त खप्तडको व्यापक प्रचार भएपछि पर्यटकको घुइँचो लाग्ने सोचेका थियौं,’ खड्काले भने, ‘अहिले त झन् खप्तड सुनसान भयो।’
खप्तड राष्ट्रिय निकुञ्ज
बझाङ, बाजुरा, डोटी र अछामको संगमस्थलमा अवस्थित खप्तड राष्ट्रिय निकुञ्जले मध्य पहाडी वातावरण, वनस्पति र वन्यजन्तुहरूको प्रतिनिधित्व गर्छ। निकुञ्जमा सल्ला, खसुर र निगालाको जंगलको साथै वन्यजन्तुका लागि उपयुक्त घाँसे मैदान छन्। यहाँ पाइने वन्यजन्तुमा रतुवा मृग, कस्तुरी मृग, घोरल, चितुवा, जंगली कुकुर, जंगली बिरालो, रातो बाँदर, लंगुर बाँदरका साथै डाँफे, मुनालजस्ता सुन्दर चराचुरुंगीहरूको प्रधानता छ।

यो निकुञ्ज धार्मिक दृष्टिकोणले पनि निकै महत्त्वपूर्ण छ। त्रिवेणी, खप्तड दह, सहस्रलिंग आदि स्थानहरू हिन्दू धर्मावलम्बीहरूका पावन तीर्थस्थल मानिन्छन्। यी स्थानहरूमा गंगा दशहरा, जनैपूर्णिमाजस्ता पर्वमा हजारौंको संख्यामा तीर्थयात्रीहरू भेला हुन्छन्।
खप्तड दह-त्रिवेणी क्षेत्रलाई रामसार सूचीमा समावेश गर्न प्रस्ताव गरिएको छ। पर्या-पर्यटनको प्रचुर सम्भावना भएको यो क्षेत्र प्रचार प्रसार र अन्य भौतिक सेवा सुविधाको अभावमा पछाडि परेको छ।