मुम्बई- प्रदर्शन शुरु भएकै दिन अर्जुन कपुर अभिनित बलिउड फिल्म ‘द लेडी किलर’ सुपर फ्लप भएको छ।
पहिलो दिन उक्त फिल्मले ३८ हजार भारतीय रुपैयाँ मात्र कमायो। भारतभर २९३ वटा मात्र टिकट बिक्री भए। उक्त फिल्ममा भूमि पेडनेकरको पनि मुख्य भूमिका छ।
उक्त फिल्म सबैभन्दा कम ओपनिङवाला सिनेमाको सूचीमा परेको छ। इन्डस्ट्री ट्र्याकर सक्निल्कका अनुसार भारतभर उक्त फिल्मका १२ वटा सो मात्र भए। ‘अब आधा मात्र पाकेको फिल्म सिर्फ रिलिज गर्नकै लागि रिलिज गर्नु हुन्छ त यस्तै हालत हुन्छ,’ सक्निल्कले ट्विटमा लेखेको छ।
यस फिल्ममा अर्जुन र भूमिले पहिलोपटक एकसाथ काम गरेका छन्। यो फिल्ममा एक हत्या रहस्यको कथा छ। र, एक सानो शहरका प्लेब्वाई र एक रहस्यमयी युवतीको कथा छ।
अजय बहलले यस फिल्मको निर्देशन गरेका छन्। उनले यसअघि ‘बीए पास’, ‘सेक्सन ३७५’ र ‘ब्लर’लगायत फिल्म निर्देशन गरेका थिए।
अर्जुन र भूमि दुवैका पछिल्ला फिल्महरू निरन्तर फ्लप भइरहेका छन्। अर्जुनका ‘पानीपत’, ‘एक भिलेन रिटर्न’ र ‘कुत्ते’जस्ता फिल्मले साह्रै खराब प्रदर्शन गरे। यस्तै, भूमिका ‘बधाइ दो’, ‘गोविन्दा मेरा नाम’, ‘थ्यांक्यु फर कमिङ’लगायत फिल्महरू फ्लप रहे।