नयाँदिल्ली– भारतबाट यस वर्षको ओस्कर अवार्डका लागि केरलाको बाढीमा आधारित सिनेमा पठाइने भएको छ।
फिल्म फेडेरेसन अफ इन्डियाले ‘२०१८– एभ्रिवान इज अ हिरो’ फिल्मलाई ओस्करको प्रतिस्पर्धामा पठाउने निर्णय गरेको छ। उक्त सिनेमा सन् २०१८ मा केरलामा आएको विनाशकारी बाढीको कथामा आधारित छ।
छनोट समितिका अध्यक्ष तथा फिल्म मेकर गिरिश कसारावल्लीका अनुसार १६ सदस्यीय जुरी समितिले सर्वसम्मतिबाट उक्त मलयाली फिल्म चयन गरेको हो। सोही फिल्मले यस वर्ष ओस्करमा भारतको प्रतिनिधित्व गर्ने उनले बताए।
छनोट समितिका १६ सदस्यहरूले एक साताभित्र २२ वटा फिल्म हेरेका थिए। र, ‘२०१८-एभ्रिवान इज अ हिरो’लाई छनोट गर्ने निर्णय लिएका छन्।
उक्त फिल्मले भारतको मात्र नभई संसारभरको प्राकृतिक विपत्तिको प्रतिनिधित्व गर्ने भएकाले छनोट गरिएको कसारावल्लीले बताए। प्राविधिक हिसाबबाट पनि उक्त फिल्म उत्कृष्ट ठहरिएको उनले बताए। उक्त फिल्मको मुख्य भूमिकामा तोविनो थोमस छन्। र, उनले आफू अभिनित फिल्म ओस्करमा जान लागेकामा खुशी व्यक्त गरेका छन्।