काठमाडाैं– संयुक्त राज्य अमेरिकाले सैन्य शासित अफ्रिकी राष्ट्र ग्याबाेनलाई सहयोग नगर्ने घोषणा गरेको छ।
बाइडेन प्रशासनले मङ्गलबार ग्याबोनलाई सबै किसिमका मानवीय सहायता निलम्बन गरिएको घोषणा गरेको हो। नाइजरपछि मानवीयलगायत अमेरिकी सहयोग नपाउने देशको सूचीमा अब ग्याबोन पनि थपिएकाे छ।
अर्को व्यवस्था नभएसम्मका लागि सहायता कटौती गर्ने यो अन्तरिम उपाय अवलम्बन गरिएको विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बताएका छन्। मध्य अफ्रिकी मुलुकका साथै अफ्रिकी सङ्घ र अन्य अन्तर्राष्ट्रिय साझेदारहरूको आर्थिक समुदायले अवलम्बन गरेका नीतिअनुरुप सहायता स्थगनको निर्णय गरिएको उनले स्पष्ट गरेका छन्।
“हामी ग्याबोनमा अमेरिकी नागरिकहरूलाई सहयोग गर्ने कूटनीतिक एवं ‘कन्सुलर’ सेवालाई निरन्तर सञ्चालन गर्नेछौँ” विदेशमन्त्री ब्लिन्केनले एक विज्ञप्ति निकालेर भनेका छन्। ग्याबोनका नेता अलि बोङ्गो ओन्डिम्बालाई पदच्युत गरिएको तथा सैन्य सत्ता लागू गरिएको विषयमा समीक्षा गर्न बाँकी रहेको उनले बताएका छन्।