काठमाडौं- आज २७ सेप्टेम्बर। विभिन्न विश्व घटनाले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, तीमध्ये केही प्रमुख घटनाको सारसंक्षेप।
– सन् १९९६- तालिबानको कब्जामा काबुल
सन् १९९६ मा आजकै दिन तालिबानले अफगानिस्तानमाथि कब्जा जमाएको थियो। राजधानी काबुलमाथि नियन्त्रण जमाएलगत्तै मुस्लिम अतिवादी संगठन तालिबानले ‘इस्लामिक इमिरेट अफ अफगानिस्तान’ घोषणा गरेको थियो।
– सन् १९६२- यमन अरबिक रिपब्लिक स्थापना
सन् १९६२ मा आजकै दिन पश्चिम एसियाली मुलुक यमनलाई अरबिक रिपब्लिक घोषणा गरिएको थियो। राजा मुहम्मद अल-बदरलाई गद्दीच्युत गर्दै गमाल अब्देल नासेरले गणतन्त्र घोषणा गरेका थिए।
– सन् १९३७- बाली टाइगर लोप
इन्डोनेसियाको बाली द्विपको रैथाने बाघ ‘द बाली टाइगर’ आजकै दिन धर्तिबाट लोप भएको आधिकारिक घोषणा गरिएको थियो। ठूलो मात्रामा मानिसले गरेको शिकारका कारण उक्त बाघ लोप भएको थियो। आजकै दिन उक्त प्रजातिको अन्तिम सदस्यलाई तस्करहरूले गोली हानी मारेका थिए।
– सन् १९२२- ग्रिसका राजाको गद्दी त्याग
ग्रिसका राजा कन्स्टेन्टाइन प्रथमले आजकै दिन गद्दी त्याग गरेका थिए। सेनाले गरेको विद्रोहपछि उनले छोरा जर्ज द्वितीयका लागि गद्दी त्यागेका थिए।
– सन् १८३३- भारतीय सुधारवादी राममोहन रायको निधन
सती प्रथाविरुद्ध पहिलोपटक विद्रोहको बिगुल फुकेका भारतका सुधारवादी नेता राममोहन रायको आजकै दिन निधन भएको थियो। २२ मे १७७२ मा जन्मेका उनलाई बीबीसी मत सर्वेक्षणका आधारमा सन् २००४ मा ‘ग्रेटेस्ट बंगाली अफ अल टाइम’ घोषित गरिएको थियो। सती प्रथाविरुद्ध विद्रोहका लागि उनले ‘ब्राह्मो सभा’ गठन गरेका थिए। सोहीमार्फत भारतीय उपमहाद्विपमा उनले सामाजिक-सांस्कृतिक सुधार अगाडि बढाएका थिए। मुगल बादशाह अकबर द्वितीयले उनलाई राजाको उपाधि प्रदान गरेका थिए। उनी नै बालविवाह विरोधी पहिलो अभियन्ता पनि हुन्। उनलाई इतिहासकारहरूले ‘भारतीय पुनर्जागरणका जनक’को संज्ञा पनि दिएका छन्। उनी हालको पश्चिम बंगालको हुग्ली जिल्लामा कुलीन ब्राह्मण परिवारमा जन्मेका थिए।