काठमाडौं- एक छन् बिल्लु, अर्का छन् साहिर। बिल्लु बुदबुदा गाउँमा गाउँलेको कपाल, दाह्री काट्छन्। साहिर भने बलिउडका विख्यात सुपरस्टार। दुवै स्कुले साथी। भौतिक रूपमा त उनीहरू टाढा छन् नै, आर्थिक हैसियतमा पनि आकाश र जमिनको अन्तर। टाढा भएर के भो त, दुवैको मनमा माया छ गाढा !
‘बिल्लु’ चलचित्रका त्यस्ता पात्र हुन्, जसले भारतको ग्रामीण भेगको गरिबीको असली प्रतिनिधित्व गर्छ। एक श्रीमती र दुई सन्तानको परिवार अभावै अभावले गुज्रिँदै आएको छ। त्यस्तो अभावबाट साहिर खान धेरै माथि छन्। गाउँमा बिल्लुको परिवारले टाउको लुकाउने एउटा सानो छाप्रो छ।
परिवारको दैनिक खर्च चलाउन बिल्लुले गाउँ नजिकै बजारमा कपाल र दाह्री बनाउने सैलुन खोलेका छन्, ‘बिल्लु केश कर्तनालय’। पसलमा आवश्यक सामान पनि सकिएका छन्। खरिद गर्न पैसा छैन। सैलुनमा ग्राहकलाई राख्ने कुर्सी पनि जीर्ण छ। जब कि, त्यही सैलुन बिल्लुको परिवार पाल्ने एक मात्र जरिया हो।
‘बिल्लु केश कर्तनालय’कै सामुन्ने सजधजका साथ अर्को सैलुन खुल्छ। ग्राहक त्यतै ओइरिन्छन्। बिल्लुको पसल सुनसान। बिल्लुलाई परिवार पाल्न धौधौ पर्छ।
सैलुनका लागि आवश्यक सामान खरिद गर्न उनले गाउँकै लघु उद्योग विकास केन्द्रमा ऋणका लागि आवेदन दिन्छन्। त्यहींबाट बलिउड सिनेमा ‘बिल्लु बार्बर’को कथा अगाडि बढ्छ।
केन्द्रमा उनलाई ऋण पत्याइँदैन। र, उनले निरास हुँदै घर फर्किनुपर्छ। साँझपख घर फर्कंदा बिल तिर्न नसकेकाले बिजुली काटिएको हुन्छ। त्यसकारण छोरी गुन्जा र छोरा दुग्गु (रोनक) लालटिन बाल्दै किताब पढ्दै हुन्छन्। श्रीमती बिन्दिया छिमेकीको घरमा तेल माग्न गएकी हुन्छिन्।
त्यति मात्र होइन, सैलुनमा ग्राहक नआउँदा बिल्लुले छोराछोरीको स्कुलको फी पनि तिर्न सकेका हुँदैनन्। फी तिर्न नसकेपछि एक महिनापछि तिर्ने शर्तमा विद्यालयले उनका छोराछोरीलाई पढाउने निधो गरेको हुन्छ। तर, यसपटक पनि उनी विद्यालयको फी तिर्न असमर्थ हुन्छन्। र, उनका छोराछोरीलाई विद्यालयबाट निकालिन्छ।
सैलुनमा ग्राहक नआएपछि बिल्लुले नयाँ जुक्ति निकाल्छन्। आधा दाममै कपाल, दाह्री बनाउने सूची टाँस्छन्। सस्तोमा कपाल बनाउने लोभमा गाउँका साहुकार दामचन उनको सैलुनमा छिर्छन्। तर, भारी वजनका दामचन बस्दा कुर्सी भाँचिन्छ र उनी पछारिन्छन्। त्यसो त, दामचनसँग पनि ऋणका लागि हात फैलाएका हुन्छन्, बिल्लुले। तर, दामचनले उनलाई सुको नदिई फर्काएका हु्न्छन्। भएको एउटा कुर्सी पनि भाँचिँदा उनीसामु सैलुन बन्द गर्नुको विकल्प हुँदैन।
यही समयमा उनका स्कुले साथी साहिर खान एकपछि अर्को सुपरहिट फिल्म दिएर बलिउडमा राज गरिरहेका हुन्छन्। बलिउडमा उनले छुट्टै मुकाम हासिल गरिसकेका हुन्छन्। धन, दौलत, सोहरत सबै प्राप्य हुन्छ उनका लागि। तथापि, उनको हृदयको एउटा कुनै सधैं शून्य रहन्छ। कारण- उनीसँग स्कुले साथी बिल्लु हुँदैनन्।
संयोगवश, उनको पछिल्लो फिल्मको सुटिङ गाउँमा गएर गर्नुपर्ने कथावस्तु हुन्छ। गाउँ छनोट क्रममा अनायाशै उनको मुखबाट निस्किन्छ, बुदबुदा। उनले यो गाउँको नाम बचपनमा सुनेका हुन्छन्। तर, त्यहीं उनका साथी बिल्लु बस्छन् भन्ने थाहा पाएका हुँदैनन्।
साहिर खानको फिल्मको सुटिङ आफ्नो गाउँमा हुने खबरले बुदबुदाका गाउँलेमाझ खैलाबैला मच्चिन्छ। बलिउडका सुपरस्टारलाई गाउँमै प्रत्यक्ष देख्न-भेट्न पाइने कुराले उनीहरूमा उत्साह छाउँछ। फिल्म स्टारलाई प्रत्यक्ष भेट्न पाउनु भारतका ग्रामीण भेगका बासिन्दामाझ प्रतिष्ठाको विषय बन्छ आज पनि।
खैलाबैला त तब मच्चिन्छ, जब साहिर बिल्लुको साथी हो भनेर एक कान, दुई कान मैदान बन्छ। साहिरको साथी बिल्लु भन्ने हल्ला गाउँभरि फैलिरहँदा कसैले बिल्लु साहिरको नोकर, केश काट्नेवाला, दुईबीच मित्रता नभई चिनजान मात्र होला भनेर अड्कल काट्छन्। कतिले साँच्चै उनीहरूको दोस्ती हुनसक्छ भनेर यकिन गर्छन्।
साहिर खान गाउँमा सुटिङका लागि आएको खबरले बिल्लुका छोरोछोरी पनि आफ्नो बुवाको साथीसँग भेट्न आतुर हुन्छन्। बिल्लु भने आफ्नो आर्थिक अवस्थाकै कारण साहिरमा भने भेट्ने आँट जुटाइरहेका हुँदैनन्।
बाल्यकालको साथीले आफूलाई स्मरण गरेको छ पनि होला भनेर बिल्लुलाई विश्वास लाग्दैन। त्यसैले छोराछोरीले समय-समयमा साहिरसँग भेट्ने कुरा गर्दा उनी अनेक बहाना बनाउँदै टार्छन्।
बिल्लु साहिरको साथी भएको उनका छोराछोरी पढिरहेको स्कुल व्यवस्थापनले पनि जानकारी पाउँछ। र, एक दिन प्रिन्सिपलसहितका व्यक्तिहरू विद्यालयको स्वर्ण महोत्सवमा साहिरलाई बोलाइदिन आग्रह गर्दै बिल्लुको घर पुग्छन्। साहिरलाई कार्यक्रममा ल्याउन सके गुन्जा र दुग्गु दुवैको फी मिनाहा गरिदिने प्रस्ताव गर्छन्। बिल्लु भने साहिरलाई कसरी स्कुलमा बोलाउने भनेर असमन्जसमा पर्छन्।
यतिसम्म त ठीकै थियो। साहिरको साथी भन्ने खबरले अब बिल्लुको सैलुनबाहिर कपाल, दाह्री काट्न आउने मानिसको लाइन लाग्न थाल्छ। बिल्लुकी पत्नी बिन्दिया पनि साहिरको बारेमा छरछिमेकका महिलाहरूसँग बढाइचढाइ कुरा गर्न थाल्छिन्। त्यसपछि त के थियो, फोटो खिचाइदिने शर्तमा बिर्यानी, साहिरको दस्तखत दिलाउने शर्तमा बर्फी र साहिरको रुमाल दिलाउने शर्तमा रासनपानी बिल्लुको झुपडीमा पुग्न थाल्छ।
गाउँका साहुकार दामचनले त साहिरलाई आफ्नो घरमा खाना खान बोलाइदिने शर्तमा बिल्लुको इच्छाविपरीत उनको सैलुनमा भव्य कुर्सी पुर्याइदिन्छन्।
सबैतिरको तनाव हटाउन बिल्लुले साहिर बसेको गाउँकै गेस्टहाउसमा फोन गर्ने आँट जुटाउँछन्। उनले फोन गरेको बुथ बाहिर गाउँलेको भीड जम्मा हुन्छ। फोनमा आफू बिल्लु बार्बर भएको बताउँदा साहिरका सेक्रेटरीले उनलाई तथानाम गाली गर्छन्। र, साहिरले भेट्न नसक्ने बताउँछन्। नीलो अनुहार लगाउँदै उनी बुथबाट बाहिरिन्छन्। गेस्टहाउसमै गएर साहिरलाई भेट्ने प्रयास गर्ने साहस उनले जुटाउन सक्दैनन्।
साहिरसँग फोनमा कुरा गर्न नसकेपछि सुटिङस्थलमै भेट्ने सोच बनाएर बिल्लु त्यहाँ पुग्छन्। तर, त्यहाँ पनि बिल्लुलाई रोटेपिङमा उनलाई राखिन्छ र टाढाबाट हेर्न दिइन्छ, भेट्न दिइँदैन।
त्यसपछि त के थियो र ! दामचनले आफूले दिएका सामान उठाउन लगाउँछन्, सैलुनबाट। र, जसरी पनि साहिरसँग भेटाउन भन्दै सुटिङ स्थलमा बिल्लुलाई लिएर जान्छन्। त्यहाँ गुन्जा र दुग्गुको स्कुलकी हेडमास्टर र अन्य स्कुल कर्मचारीहरू पनि स्वर्ण महोत्सवमा आमन्त्रण गर्न पुगेका हुन्छन्। बिल्लुबाट सम्भव नभएपछि उनीहरूले कुनै मन्त्रीलाई फोन गर्न लगाएर साहिरसँग भेट्न गएका हुन्छन्। आधा घण्टाका लागि भए पनि कार्यक्रममा आइदिन आग्रह गर्छन्। तर, स्कुलकै एक पदाधिकारी दामोदर दुवेले बकबक गरेर साहिरको मुड खराब बनाइदिन्छन्। अन्तिममा दुवेलाई कार्यक्रममा आउन नदिने शर्तमा साहिर स्कुलको कार्यक्रममा जान राजी हुन्छन्।
त्यसपटक पनि दामचन र बिल्लुलाई गार्डहरूले भीडबाट भित्र पस्न दिँदैनन्। अनि दामचनका गुन्डा र सुटिङस्थलका गार्डहरूबीच झडप हुन्छ। त्यसपछि प्रहरीले दामचनको समूहलाई पुलिस थानामा लगेर भक्कुमार पिटिन्छ। हिरासतबाट निस्किसकेपछि दामचनले सबै सामान फिर्ता लिँदै बिल्लुलाई तथानाम गाली गर्छन्।
अर्को दिन स्कुलमा साहिर आउने भएकाले गुन्जा र दुग्गु चाँडै स्कुल निस्किन्छन्। बिन्दिया पनि साहिरलाई हेर्न स्कुल जाने अनुमति बिल्लुसँग माग्छिन्। तर, बिल्लु पनि सँगै साहिरलाई हेर्न जाने कुरा गर्छ र दुवै स्कुलतिर लाग्छन्।
स्कुलको गेटबाटै बिल्लु र विन्दिया भित्रको कार्यक्रम हेरिरहेका हुन्छन्। साहिरलाई केही बोल्न भनिन्छ। र, साहिर सुटिङको कुरा गर्दै जाँदा आफ्नो बालापन सम्झिन पुग्छन्। आफूसँग टिफिन नहुँदा टिफिन सेयर गर्ने, कपाल काटिदिने, बुवाको गोजीबाट पैसा चोरेर फिल्म हेर्न लैजाने, मुम्फली (बदाम)को लालच देखाउँदै अभिनय गर्न लगाउने बिल्लु आफ्नो अति प्यारो साथी रहेको खुलासा साहिरले नै गर्छन्। अब बल्ल गाउँलेमा बिल्लु साँच्चिकै साहिरको साथी भएको यकिन हुन्छ। र, सबैका आँखा रसाउँछन्।
तर, बिल्लु त्यहाँ साथी भेट्न नखोजी पत्नी विन्दियालाई लिएर घर फर्किन्छन्। हुन सक्छ, कसैले बिल्लु सोही गाउँमा रहेको कसैले साहिरलाई सुनाइदिन्छ। उनका छोराछोरीलाई पछ्याउँदै साहिर खान आफ्ना प्रिय साथी बिल्लुको झुपडीमा हाजिर हुन्छन्। वर्षौं बिछोडिएका दुई मित्रको मिलन हुन्छ।
०००
सन् २००९ मा प्रियदर्शनद्वारा निर्देशित बलिउड फिल्म हो, बिल्लु बार्बर। यसमा मुख्य भूमिकामा साहिरको भूमिकामा शाहरुख खान र बिल्लूको भूमिकामा स्वर्गीय इरफान खान छन्। मिस युनिभर्स तथा बलिउड अभिनेत्री लारा दत्त बिल्लुकी पत्नीको भूमिकामा छिन्। अभिनेता ओम पुरीले साहुकार दामचनको भूमिका गरेका छन्।
१३ फेब्रुअरी २००९ मा विश्वभर रिलिज भएको यस फिल्मको कथा मुस्ताक शेखले लेखेका थिए भने मनिषा कोर्देले डाइलग। यस्तै, श्रीनिवासनले पटकथा लेखेका थिए। यस चलचित्रको छायांकन मणिकन्दन भन्ने गाउँमा गरिएको थियो। प्रितमले फिल्ममा संगीत दिएका हुन्।
२६ करोडमा निर्माण गरिएको ‘बिल्लु बार्बर’ले बक्स अफिसमा ४७.५ करोड कमाएको थियो। तत्कालीन समयको सफल चलचित्रमा दरिएको छ, बिल्लु बार्बर।
भारतको देहाती जीवनको सजीव चित्रण छ, यस फिल्ममा। साहिर र बिल्लुको ‘याराना’ सँगसँगै चित्रित छ, भारतीय देहाती जीवन। कमजोर आर्थिक अवस्थाका मानिस, उनीहरू माथि शोषण गर्दै रहेका साहुकारहरू, बढी जान्ने बनी टोपल्ने देहाती ‘जानकार’, गाउँको इमोसनल जीवनशैली चित्रण गरेर फिल्मको निर्माण पक्षले गज्जबले ‘स्टोरी टेलिङ’ गरेको छ, यस फिल्ममा।
०००
फिल्मको समीक्षामा ‘भेराइटी’का डेरेक एलीले स-साना शहरमा मनोरञ्जनका लागि बलिउड मुभीहरूको जबर्जस्त प्रभाव बिल्लु बार्बरबाट देख्न सकिने उल्लेख गरेका छन्। ‘द हलिउड रिपोर्टर’की लिसा छिरिङले लेखेकी छन्, ‘एक बलिउड कमेडी सिनेमा, जो अप्रत्यासित सुखहरूबाट भरिभराउ छ।’
‘फिल्म जर्नल इन्टरनेसनल’का फ्र्यांक लभेसले यस फिल्मलाई एक आनन्दका रूपमा व्याख्या गर्दै लेखेका छन्, ‘यस फिल्ममा बिल्लुको र गरिबी र मनोदशालाई हँसीमजाकको विषय बनाउन सकिँदैन। बिल्लुको कठोर गरिबीलाई पटक्कै नछिपाउनु फिल्मको सबल पक्ष हो।’ टाइम्स अफ इन्डियाले यो फिल्मलाई ‘मित्रता र सरलताको एक मार्मिक गीत’ संज्ञा दिएको छ। सीएनएन-आईबीएनका राजीव मसन्दले यस फिल्मलाई हृदयस्पर्शी र मनोरञ्जक संज्ञा दिएका छन्।