काठमाडौं- यस आर्थिक वर्षमा नेपाल सरकारको सचिवस्तरका १९ वटा दरबन्दी रिक्त हुँदैछन्।
राष्ट्रिय किताब खाना (निजामति) को विवरणअनुसार तीमध्ये कतिपयले उमेर र कतिपयले पदावधिको हदका कारण अनिवार्य अवकाश पाउँदै छन्।
अवकाशमा जाने विशिष्ट श्रेणीका एक अधिकृत हुन्, महेश्वर काफ्ले। उनी महालेखा परीक्षकको कार्यालयमा उपमहालेखा परीक्षक छन्। उनले आगामी १२ माघमा अनिवार्य अवकाश पाउने छन्। सोही कार्यालयकी उपमहालेखा परीक्षक राममाया कुँवरले २३ साउनमा अनिवार्य अवकाश पाएकी छन्।
यस्तै, नायब महान्याधिवक्ता नारायणप्रसाद पौडेल पनि यसै वर्ष रिटायर हुँदै छन्। उनी आगामी ९ पुसदेखि सेवामा हुने छैनन्। नायब महान्याधिवक्ता विश्वराज कोइरालाले पनि आगामी १७ वैशाखमा अनिवार्य अवकाश पाउने छन् ।
कर्णाली प्रदेश सरकारका प्रमुख सचिव डा. गोपीकृष्ण खनाल पनि घर फर्केका छन्। उनले ४ भदौदेखि अनिवार्य अवकाश पाएका छन्। जल तथा ऊर्जा आयोगका सचिव सुशीलचन्द्र तिवारीले आगामी १३ असारदेखि अनिवार्य अवकाश पाउने छन् ।
शहरी विकास मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ पनि छिट्टै घर फर्किंदै छन्। उनले ११ असोजदेखि अनिवार्य अवकाश पाउने छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेको पनि घर फर्किने बेला भइसकेको छ। उनले पनि ९ पुसदेखि घरै बस्नुपर्नेछ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पशुपन्छीतर्फका सचिव रेवतीरमण पौडेलले पनि आगामी २८ वैशाखदेखि अवकाश पाउने छन् ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव धनराज ज्ञवालीले ४ साउनदेखि अनिवार्य अवकाश पाएका छन्। मुलुकको विदेश सम्बन्धको एक प्रमुख आधार मानिने परराष्ट्र मन्त्रालयले यसै वर्ष नयाँ सचिव पाउँदै छ। कारण- उक्त मन्त्रालयका सचिव भरतराज पौडेल २० मंसिरदेखि घर जाँदैछन्।
घर जाने पर्खाइमै छन्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव दामोदर रेग्मी पनि। उनले ११ कात्तिकदेखि घरै बस्नुपर्नेछ।
यस्तै, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारी पनि घर फर्केर आरामको जिन्दगी बिताउने तयारीमा छन्। घर फर्किने बेलामा बल्ल यिनले मन्त्रालयको जिम्मेवारी पाएका छन्। र, आगामी ११ चैतदेखि अवकाश पाउँदै छन्।
सार्वजनिक खरिद अनुगमन कार्यालयकी सचिव देवकुमारी गुरागाईं पनि अवकाशको पर्खाइमा छिन्। उनले २६ फागुनदेखि अवकाश पाउने छिन्। हाल निर्वाचन आयोगमा पुगेका सचिव सूर्यप्रसाद गौतम पनि घर फर्किने तयारीमा छन्। उनले ६ फागुनदेखि पदावधिको पाँचवर्षे हदका कारण अनिवार्य अवकाश पाउने छन्।
यस्तै, संघीय संसद सचिवालयमा कार्यरत पदमप्रसाद पाण्डेयले २१ असोज र सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार लालबहादुर कुँवरले २९ माघमा अनिवार्य अवकाश पाउने छन्। सर्वोच्च अदालका सह-रजिस्ट्रार नारायणप्रसाद पन्थी पनि आगामी १७ वैशाखदेखि घर फर्किने छन् ।
काम कम गफ बढी सचिवका रूपमा परिचित तथा हालै संस्कृति मन्त्रालयबाट शिक्षा मन्त्रालयमा पुगेका सुरेश अधिकारीले आगामी १७ वैशाखदेखि घर जानुपर्नेछ ।