सुनसरी- सप्तकोशी नदीमा असारदेखि बन्द भएका जेट बोट आजदेखि पुनः सञ्चालनमा आएका छन्।
बराहक्षेत्र नगरपालिका-१ चतराघाटदेखि कोप्चेसम्म हिउँदको समयमा चल्दै आएका जेट बोट ‘मकालु’ले आजदेखि पुनः सञ्चालन ल्याएको छ।
सप्तकोशी किनारस्थित चतराघाट जेट बोट सञ्चालन हुने दन्तकाली जल यातायात प्रालि सञ्चालक अनिश थापाले जानकारी दिए। दशैं-तिहार लक्षित गरी यात्रुहरूलाई सहजताका साथ आफ्नो गन्तव्यस्थल पुग्न मकालु जेट बोट सञ्चालनमा ल्याइएको उनले बताए ।
त्यसका लागि आज बुधबार चतराघाटबाट कोप्चेसम्म जेट बोट परीक्षण गरिएको छ । आजैदेखि सेवालाई निरन्तरता दिइएको थापाले बताए। उनका अनुसार चतराघाटबाट कोप्चेसम्मका लागि भाडादर जनही ६०० रुपैयाँ कायम गरिएको छ ।
चतराबाट जेट बोट सञ्चालन भएपछि भोजपुरको दक्षिणी क्षेत्र, धनकुटाका सिम्ले, अखुवाटार, त्रिवेणी, साङ्मालगायत ठाउँमा आउजाउ तथा खाद्यान्न ढुवानी सहज हुने छ।
बराहक्षेत्र मरिन एन्ड रिसोर्ट जेट बोटका सञ्चालक नवीन पौडेलका अनुसार १५ असारयता नदीको पानीको सतह बढेपछि जेट बोट बन्द गरिएको थियो । त्यसयता भोजपुर र धनकुटाका बासिन्दाले पैदल यात्रा गर्दै आउनु परेको थियो ।
बराहक्षेत्र मन्दिरबाट अकरे भीरको बाटो हुँदै कठिन पैदल यात्रा गर्दा करिब तीन घण्टामा मात्र सिम्ले पुग्न सकिन्छ। जेट बोटबाट यो यात्रा करिब १५ मिनटको मात्र हो।
‘नेपालीहरूको महान चाड दशैंमा आफ्नो थातथलो फर्किने यात्रु बढी हुन्छन्,’ पौडेलले भने, ‘उहाँहरूलाई सुरक्षित साथ आ–आफ्नो गन्तव्यसम्म पुग्नका लागि दशैं अवधिभर ५ असोज शुक्रबारदेखि जेट बोट सञ्चालन गर्दैछौं।’
सप्तकोशी नदीमा हिउँदको समयमा बराहक्षेत्र मरिन एन्ड रिसोर्ट, सप्तकोशी टुरिजम एन्ड वाटर ट्रान्सपोर्टेसन, नेपाल रिभर ट्रान्सपोर्ट प्रालि, दन्तकाली जल यातायात, बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालि गरी चारवटा कम्पनीले तीनवटा लामो दूरीका र चारवटा छोटो दूरीका जेट बोट सञ्चालन गर्दै आएका छन्।
जेट बोटले उदयपुर, भोजपुर र धनकुटाको सिमाना माइबेनीलगायत ठाउँहरूमा स्थानीय बासिन्दा, आन्तरिक र बाह्य पर्यटक तथा बराह क्षेत्र मन्दिर, त्रिवेणी, सिम्ले र किराँतीहरूको आस्थाको केन्द्रविन्दु खुवालुङसम्म आउजाउ सहज बनाएका छन्।
सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराघाट सप्तकोशी नदी किनारदेखि कोप्चेसम्म वर्षादको समयमा बन्द भएका जेट बोट हिउँदको समयमा पानीको बहाव कम भएपछि नियमित सञ्चालनमा आउने कोशी एडभेन्चर सञ्चालक समितिका सचिव शिव थापाले जानकारी दिए।