काठमाडौं– प्रधानसेनापति प्रभुराम शर्माले तथ्यरहित एवं पूर्वाग्रही बेमौसमी तर्क उठाइ स्थिर माहोललाई खल्बल्याउने कुनै पनि स्वार्थ प्रेरित समूहबाट क्षणिक र दूरगामी असर पार्नसक्ने प्रायोजित अभिलाषाप्रति सजग र सतर्क रहन निर्देशन दिएका छन्।
प्रधानसेनापतिको जिम्मेवारी सम्हालेको दोस्रो वर्ष पूरा भएको अवसरमा नेपाली सेनाका सकल दर्जालाई सम्बोधन गर्दै प्रधानसेनापति शर्माले नेपाल र नेपाली जनताको बृहत्तर हितमा समर्पित रहन सुझाव दिए।
प्रधानसेनापति शर्माले भने, “नेपालको एकीकरण अभियानको थालनीदेखि नै सेनाले देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वतन्त्रता, राष्ट्रिय एकता एवं जनभरोसालाई सदैव जोगाइराख्न अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको छ।”
सेनाले सामूहिक प्रयासबाट आर्जन गरेको गरिमा र स्थापित गरेको जनविश्वासका लागि सकल दर्जालगायत निजामती कर्मचारी र आश्रित परिवारजनलाई धन्यवाद ज्ञापन गर्दै उनले सैन्य सङ्गठन आजको भोलि तयार गर्न सकिने विषय नभएको बताए।
प्रधानसेनापति शर्माले भने, “लामो अध्ययन, तयारी, अभ्यास र अनुभवले निखारिँदै सवल र सुदृढ हुँदै जाने सङ्गठित र अनुशासित सङ्गठन नयाँ प्रविधि, सिर्जना हुने नयाँ परिवेश तथा थपिँदै जाने बहुआयामिक चुनौतीले सदैव चलिरहन्छ।”
सम्बोधनका क्रममा प्रधानसेनापतिले कार्यकालको दोस्रो वर्षका लागि निर्धारण गरिएका लक्ष्य र प्राप्त उपलब्धिको समीक्षाका साथै आगामी कार्यदिशाका बारेमा जानकारी गराएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
कार्यकालको तेस्रो वर्ष थालनीको पूर्वसन्ध्यामा प्रधानसेनापतिले छाउनी तथा सैनिक मञ्च टुँडिखेलमा रहेका वीर स्मारकमा माल्यार्पण गरे। उनले कर्तव्यपालनाको सिलसिलामा घाइते भएका सकलदर्जाको योगदानको उच्च मूल्याङ्कन गर्दै उपचारका क्रममा रहने सबैलाई शीघ्र स्वास्थ्यलाभको कामनाका साथै सकलदर्जालाई संस्थागत हितमा केन्द्रित रहन आग्रह गरे।
प्रधानसेनापतिले आजै जङ्गीअड्डामा आयोजित एक कार्यक्रमका बीच उपरथीमा पदोन्नति भएका कुमारबाबु थापा र महासेनानीमा पदोन्नति हुनुभएका प्रमुख सेनानी सुदर्शन विष्टलाई दज्यानी चिन्ह प्रदान गरे।
सो अवसरमा उनले सैनिक कल्याणकारी निर्देशनालयको प्रकाशन कल्याणकारी दर्पण, नेपाली सेनाको व्यवस्थापनमा सञ्चालित काठमाडौं-तराई-मधेश द्रुतमार्ग सडक आयोजनाको प्रकाशन केटीएफटी जर्नलका तेस्रो भाग र सेनाको वर्षभरिका प्रमुख गतिविधिको तस्वीर समेटिएको पुस्तकको पनि विमोचन गरे।