• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

तिमी फर्किन्छौ भने आफ्नै गाउँ …


मङ्गलबार, भदौ १९, २०८० मा प्रकाशित

तिमी आउँछौ भने मेरो गाउँ
मागेर बुकी फूलसँग सुवास
छरिदिउँला तिम्रा बस्त्रहरूमा
काढेर भीर मौरीको मह
भरिदिउँला तिम्रो मनको बट्टा
तिमी आयौ भने
उखालेर पानी अमला
भिजाइदिउँला तिम्रो सुकेको आँत
झिकेर वन काँक्रीको बियाँ
लगाइदिउँला तिम्रो निधारमा टीका
तिमी बस्यौ भने
टुकीलाई छेकेर हत्केलाले
बनाइदिउँला तिम्रै आँखामा लगाउने गाजल
मिचेर अँगेरीको रस
पोतिदिउँला तिम्रा ओठहरूमा लाली
चुँडाएर आकाश छुन हिँडेका कम्मरी लहरा
बाँधिदिउँला तिम्रै दुःखेको कम्मरमा पटुकी
तिमीले चाह्यौ भने
मिचेर तिउरीको फूल
लगाइदिउँला तिम्रो हत्केलामा मेहन्दी
खोजेर रुद्राक्षका माला
लगाइदिउँला तिमीलाई नौगेडी
भाँचेर रानी सिन्का
लगाइदिउँला तिम्रो नाकमा फुली
जोडेर पारिजातका फूलहरू
सजाइदिउँला तिम्रो गलामा हार
तिमीले चाह्यौ भने
छेडेर बुलढ्यांग्राका दाना
झुण्ड्यादिउँला तिम्रा कानमा झुम्का
तिमी खुशी हुन्छौ भने
सँगालेर सजिवनका थोपा
राखिदिउँला तिमीले दाँत माझ्‍ने बुरुसमा
बटुलेर रिठ्ठाको गाँज
धोइदिउँला काखमै राखेर तिम्रो उमेरको पछ्यौरी
काटेर केराको पात
ओढाइदिउँला झरीमा
भाँचेर कटुसका स्याउला
छेकिदिउँला घाम
तिमी खुशी हुन्छौ भने
बसेर चौतारीको डिलमा
सुनाउँला तिमीलाई मन पर्ने कविता
समातेर जूनकिरी
पढौंला तिमीले लेखेको गजल
तिमी फर्किन्छौ भने
बुनेर जाली रुमाल
तिम्रै हातमा राखिदिउँला
टिपेर भुइँका फल
भरिदिउँला तिम्रो रहरको गोजी
तिमी फर्किन्छौ भने
आफ्नै हातले बनाएको बेतको लौरो
तिम्रो हातमा राखिदिउँला
बोरामा राखेर गाउँको याद
बाँधिदिउँला मुटुको प्रेमले
तिमीलाई बोकेर पिठ्यूँमा
तारिदिउँला खोला
तिमीलाई चढाएर शहर जाने बसमा
म हेरिरहुँला तिमी गएको बाटो

Advertisement

०००

गजलकार प्रदीप रोदनको ‘तिमी आउँछौ भने मेरो गाउँ’ शीर्षकको यो कविता झट्ट सुन्दा कुनै प्रेमीले प्रेमिकालाई आफ्नो गाउँमा आउन आग्रह गरिरहेजस्तो लाग्‍न सक्छ। तर होइन, यो कविताले प्राकृतिक सौन्दर्यले भरिपूर्ण हाम्रा गाउँघरको चित्रण गरेको छ। अनि, गाउँ छोडी टाढा शहरमा बसिरहेका युवा पुस्तालाई गाउँ नै फर्किन आग्रह गरिरहेको छ।

सुनसान छन् गाउँ, रित्ता छन् तिनका सयौं घरहरू। तन्‍नेरी पुस्ता शहरमै अलमलिँदा बाँझो जमिनमा वैंश फेरिरहेका छन् रुखबुट्यानले। साँच्चै मनमोहक पो छन् त हाम्रा गाउँघर। तर, सुनसान, उज्यालैमा पनि अँध्याराजस्ता। तिनै रित्ता गाउँघर फेरि गुल्जार बनाउन युवा पुस्तालाई आग्रह गरिरहेको छ गजलकार रोदनको यो कविताले। र, यो कवितालाई टिकटकमा भाइरल बनाएका छन् तिनै युवा पुस्ताले, जो आफू जन्मी-हुर्केको प्यारो गाउँ छाडेर शहरको कोलाहलमा तनावपूर्ण जिन्दगी जिइरहेका छन्। अनि, यही कविता सुन्दै उनीहरू गहभरि टिलपिलाएका आँशु लुकाउँदै छन्। टिकटकमा यही कवितालाई पार्श्‍व बनाएर युवा पुस्ता आ-आफ्ना गाउँका तस्बिर र भिडियो सेयर गर्दै नोस्टाल्जिक बनेका छन् यतिबेला।

०००

कस्तो परिवेशमा रचिएको थियो त यो कविता? गजलकार रोदन हाम्रो समयको जल्दोबल्दो मुद्दा अर्थात् रित्ता गाउँ, भीर, पाखा र पहराको चित्रण गरिएकाले यो कविता टिकटकमा भाइरल बनेको ठान्छन्। भन्छन्, ‘अहिलेका भव्य शहरहरू पनि कुनै समयका गाउँ नै थिए। र, अहिलेका पुस्ताले बाल्यकाल होस् या किशोरावस्था, गाउँलाई भोगिसकेका छन्। त्यसकारण पनि आफ्नै अनुभव सम्झेर धेरैले टिकटकमा मन पराएका हुन सक्छन्।’

उनले कवितामा निकै मार्मिक शब्दहरूको चयन गर्दै गाउँले परिवेशको सुन्दर चित्रण गरेका छन्। बुकीफूल, भीरमौरी, पानी अमला, वन काँक्री, तिउरीको फूल, रुद्राक्ष, पारिजात, बुलढ्यांग्रा, सजिवन, रिठ्ठाको गाँज, केराको पात, चौतारी, जूनकिरी, जाले रुमाल, भुइँफूल, बेतको लौरी। यिनले गाउँको सजीवता वर्णन गरेका छन्।

०००

अहिले गाउँबाट शहर र शहरबाट युवा पुस्ता विदेशिने ट्रेन्ड नै छ। शहरको सुविधा देखेर मानिसहरू शहरमा बसाइँ सर्छन्। र, शहरभन्दा पनि गुणस्तरीय जीवन जिउने अभिलाषामा विकसित मुलुकतर्फ उड्दै गरेका युवा पुस्ताको क्याराभानले जोकसैलाई विचलित बनाउँछ। गायक जेबी टुहुरेले गाएकै छन्- ‘बसाइँ हिँड्नेको ताँतीले बस्‍नेको मन रुवाउँदछ।’

तर, गजलकार रोदन ‘रिभर्स माइग्रेसन’को कुरा गर्दै छन् यो कवितामार्फत। र, युवा पुस्तालाई शहरबाट अझ धेरै टाढा कुनै विदेशी भूमिमा होइन, आफ्नै सुन्दर गाउँघर फर्किन आग्रह गर्दै छन्। उनको ठम्याइ छ, गाउँमै सुखी हुन सकिन्छ, खुशी हुन सकिन्छ र प्रकृतिको काखमा रमाउन सकिन्छ।

गजलकार रोदनका अनुसार ‘पोइट आइडल’मा गेस्टका रूपमा जाने क्रममा ‘तिमी आउँछौ भने मेरो गाउँ’ कविताले उनको मुटुमा सिर्जनात्मक ढ्यांग्रो बजाएको थियो। र, स्टेजमा वाचन गरेको त्यो नै उनको पहिलो गजल पनि थियो।

गजलकार रोदनका अनुसार सामान्यतया जिन्दगीलाई बाँध्‍न सक्ने र चाहिने चिज गाउँमै छ। तर, अहिलेका युवा पुस्ता ती चिजहरूलाई बिर्सेर आधुनिकताको पछि दौडिरहेका छन्। यति मात्र होइन, सपना नै ठूलो देखेर युवा पुस्ता परदेशिने गरेको गजलकार रोदन बताउँछन्। भन्छन्, ‘मन ठूलो बनाएर सपना ठूलो नदेख्‍ने हो भने तिमी आउँछौ भने तिमीलाई मेरो गाउँमै खुशी बनाउन सक्छु भन्‍ने यो कविताको सार हो।’

०००

अहिले हामीले बजारको ब्रान्डलाई मात्र चिन्‍ने गरेका छौं। गाउँका उपयोगी चिजलाई बिर्सिसक्यौं। र, युवा पुस्तालाई गाउँमा के-के चिज छन्, तिनको प्रयोग के-केमा गर्न सकिन्छ थाहा नै नरहेको उनको भनाइ छ। यसै कुरालाई युवा पुस्तामाझ पुर्‍याउन यो कविता सिर्जना गरेको उनी बताउँछन्।

मानिसको जीवनमा दौडधुप कहिल्यै पनि सकिँदैन। गाउँबाट एउटा घर शहरमा बनाउन पाए हुन्थ्यो भनेर बाउबाजे सोच्थे। तर, शहरमा बसेका युवा विदेश जान पाए हुन्थ्यो भन्‍ने सोच राख्छन्। विदेशमा गएर पनि त्यहाँको ग्रामीण भेगमै पुगेर दुःख बेसाउनुपर्छ। पछि उसका सन्तानलाई त्यसले पनि पुग्दैन र त्यसभन्दा राम्रो स्थानमा जान रुचाउँछन्। रोदन भन्छन्, ‘हामीले पनि आधुनिकतासँगै चल्न सक्नुपर्छ। तर, गाउँले परिवेशबाट वाक्कदिक्क लागेर सबै बेचबाच गरी शहरमा सानो टुक्रा जमिन किन्‍ने। र, त्यो पनि बेचेर विदेश जानु भने राम्रो होइन।’

प्रगति र परिवारको सपना पूरा गर्नकै लागि जहाँ गए पनि गाउँसँगको सामिप्य छोडिहाल्ने र बन्धन टुटाइहाल्न भने नहुने उनी बताउँछन्।

०००

२०७८ सालको जनगणनाअनुसार नेपालमा ९३ लाख ४१ हजार ४०८ जना एक स्थानबाट अर्कोमा बसाइँ सरेका छन्। प्रतिशतका आधारमा यो कुल जनसंख्याको करिब ३१ प्रतिशत हुन आउँछ। यसरी बसाइँ सरेका मध्ये ३१.८ प्रतिशत व्यक्तिहरूको पछिल्लो पटक बसाइँ सरेको अवधि १० देखि २४ वर्ष भएको देखिन्छ।

बसाइँ सर्नेमा सबैभन्दा बढी महिला छन्, ३३.३ प्रतिशत। र, यसमा पुरुषको संख्या २९.१ प्रतिशत छ।

राष्‍ट्रिय तथ्यांक कार्यालयको जनसंख्या शाखाका निर्देशक ढुण्डिराज लामिछानेका अनुसार पछिल्लो जनगणनाअनुसार बसाइँ सराइको ट्रेन्ड गाउँबाट शहरमा बढी छ। सबैभन्दा बढी पहाडबाट तराई मधेशमा बसाइँ सर्ने क्रम बढी देखिन्छ। शहरबाट गाउँमा ‘रिर्भस माइग्रेसन’ भने अहिलेसमम देख्‍न नसकिएको उनी बताउँछन्।

पछिल्ला वर्षहरूमा बसाइँ सर्नुको मुख्य कारण विवाह रहेको निर्देशक लामिछाने बताउँछन्। बसाइँ सरी आएका कुल संख्यामध्ये करिब ३८.२ प्रतिशत विवाह गरेर आएको उनी बताउँछन्, जसमा बढी महिला नै छन्। यस्तै, बसाइँ सराइका अन्य कारणहरूमा काम र रोजगारी १५.२, व्यापार व्यवसाय २.८, अध्ययन तालिम ७.८, आश्रित १९.५, प्राकृतिक प्रकोप ०.७, कृषि ३.९, घर फर्किएका ४.१ र अन्य ६.६ प्रतिशत छन्।

बसाइँ सरेर आएका पुरुषमध्ये सबैभन्दा बढी ३०.३ प्रतिशत काम र रोजगारीको कारण तथा महिला ५८.२ प्रतिशत विवाहका कारण रहेको तथ्यांकमा उल्लेख छ।

जनगणना अनुसार हाल बसोबास गरिरहेको गाउँपालिका वा नगरपालिकाबाट अर्को स्थानमा कहिल्यै बसोबास नगरेका व्यक्तिहरू पनि उल्लेख्य छन्। त्यस्ता मानिस ६८ प्रतिशत देखिएका छन्।

तीमध्ये पुरुष ७७ र महिला ५९.४ प्रतिशत छन्। कुल जनसंख्याको १०.८ प्रतिशत व्यक्तिहरू पछिल्ला वर्षमा सम्बन्धित जिल्लाको अर्को पालिकामा पनि सरेको देखिएको छ। यस्तै, १८.२ प्रतिशत मानिस एक जिल्लाबाट अर्कोमा तथा ३.१ प्रतिशत व्यक्तिहरू विदेशबाट बसाइँ सरेर हालको स्थानमा बसिरहेको देखिएको छ।

यस्तै, गत आर्थिक वर्ष ०७९-८० को पहिलो ७ महिनामा झण्डै ५ लाख युवा वैदेशिक रोजगारीका लागि विदेश उडेका छन्। वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार साउनदेखि माघसम्म वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने र श्रम स्वीकृति नवीकरण गर्नेको संख्या ४ लाख ८२ हजार ४७५ छ।

कोभिड-१९ महामारीको समयमा अन्य स्थानबाट आफ्नो जन्मघर फकिर्नेको संख्या पनि उल्लेख्य पाइएको छ। यो संख्या तीन लाखभन्दा बढी रहेको निर्देशक लामिछाने बताउँछन्।

०००

‘पछिल्लो तथ्यांकले बसाइँ सराई हिमाल र पहाडबाट तराई मधेश, गाउँबाट शहर र शहरबाट विदेशतिर पलायनको ट्रेन्ड स्पष्‍ट चित्रित गरेको छ,’ त्रिभुवन विश्‍वविद्यालय जनसंख्या केन्द्रीय विभाग प्रमुख प्रा.डा. योगेन्द्र गुरुङ भन्छन्। उनका अनुसार अहिले सबैभन्दा बढी बसाइँ सराईको ट्रेन्ड गाउँबाट शहरतिर छ। जहाँ-जहाँ सेवा सुविधा बढी हुन्छ, मानिसहरू त्यतै जान खोज्छन्।

वैदेशिक रोजगारमा जानेहरू पनि शुरुमा अविकसित स्थानमा काम गर्छन्। र, कमाइ राम्रो हुन थालेपछि सदरमुकाम, ठूल-ठूला शहरतिर जाने गरेको उनको भनाइ छ। ‘शिक्षा, स्वास्थ्य, रोजगारको अवसरकै लागि नेपालमा एक स्थानबाट अर्कोेमा बसाइँ सर्ने गरेको देखिन्छ,’ गुरुङ भन्छन्, ‘अहिले नेपालको विकास शहर र काठमाडौं केन्द्रित छ। त्यसैले पनि सुविधा खोज्दै मानिसहरू बसाइँ सरी शहर र काठमाडौं आउन रुचाइरहेका छन्।’

०००

शहरबाट गाउँतिर बसाइँ सरी जान असम्भव नै रहेको डा. गुरुङ बताउँछन्। उनका अनुसार हरेक सेवा सुविधा शहरकेन्द्रित भएकाले पनि कोही पनि शहर छोडेर गाउँ जान रुचाउँदैनन्। गाउँमा पनि शहरजस्तै सेवा सुविधा, शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था हुने हो भने भविष्‍यमा शहरबाट गाउँतर्फ रिभर्स माइग्रेसन हुन सक्ने सम्भावना रहेको उनको भनाइ छ।

तर, अहिलेसम्म स्थानीयवासीको इच्छा, आकांक्षाअनुसार स्थानीय तहले विकास निर्माणमा जोड दिन नसकेकाले संघीयतापछि पनि सेवा, सुविधाको खोजीमै जन्मथलो छोड्दै मानिसहरू शहरतिर लर्को लाग्‍ने क्रम बढ्दै गएको उनी बताउँछन्। भन्छन्, ‘सरकारले उद्योगधन्दा र गाउँको विकासका लागि नयाँ किसिमको योजना, परियोजनाहरू सिर्जना गर्न सके गाउँका मानिसहरू गाउँमै रोकिन सक्ने थिए।’

उनका अनुसार अहिले नेपालमा बसाइँ सरी शहर आइसकेका व्यक्तिहरू फेरि फर्केर गाउँमै जाने सक्ने अवस्था छैन। तर, शहरका मानिस गर्मी छल्न वा घुमफिरका लागि गाउँ, पहाड र हिमाल जान रुचाउँछन्।

०००

२०७८ को जनगणनाअनुसार नेपालका ३४ जिल्लाको जनसंख्या घटेको पाइएको छ। ती जिल्लाको जनसंख्या घट्नुको मुख्य कारण बसाइँ सराई रहेको डा. गुरुङ बताउँछन्। भन्छन्, यसरी बसाइँ सराई बढ्दै जाने हो भने भविष्‍यमा विभिन्‍न किसिमका समस्याको सामना नेपालले गर्नुपर्छ नै। अहिले पनि विभिन्‍न किसिमको समस्या देखापर्न थालिसकेका छन्।’

उनका अनुसार अहिले  पहाड र गाउँबाट मानिसहरू बसाइँ सरी तराई र शहरमा आउने क्रम बढ्दो छ। यसो हुँदा पहाड र गाउँघरका जमिन बाँझो हुँदै गएका छन्। अर्कातिर तराई र शहरका उर्बर जमिन घरैघरले ढाकिँदै गएका छन्, जसले अबको केही वर्षमै नेपालले भोकमरीको सामना गर्नुपर्ने उनी बताउँछन्।

प्रदेशका मानिसहरू प्रदेशमै रहनेगरी सातै प्रदेशमा समान किसिमको विकास, अवसर र सेवा सुविधा सिर्जना गर्ने राज्यको दायित्व रहेको उनको भनाइ छ। भन्छन्, ‘अहिले पनि बैतडीको मानिसले स्‍नातक पास गरी सर्टिफिकेट लिनुपर्‍यो या विदेश जानु परेमा काठमाडौं नै आउनुपर्ने बाध्यता छ। त्यसकारण पनि तत्काल शहरबाट गाउँ र विदेशबाट स्वदेश रिर्भस माइग्रेसन हुन सम्भव भने देखिँदैन।’

यस्तै, राष्‍ट्रिय तथ्यांक कार्यालयका प्रवक्ता नवीनलाल श्रेष्‍ठको मत पनि डा. गुरुङको भन्दा फरक छैन। उनी पनि अहिले नेपालमा हिमालबाट पहाड, पहाडबाट तराई र गाउँबाट शहर बसाइँ सर्ने दर बढ्दै गएको बताउँछन्।

नेपालबाट विदेशिने क्रम पनि उत्तिकै छ। कुल जनसंख्याको २२ लाख त विदेशमै रहेको अनुमान छ। यसमा डीभी परेका र पीआर पाएका नागरिकलाई समावेश नगरिएको विभागका प्रवक्ता श्रेष्‍ठ बताउँछन्। ‘भोलिका दिनहरूमा फर्कन सक्ने, जसले डीभी, ग्रिनकार्ड, पीआर पाएका छैनन्, त्यस्ता नागरिकको संख्यालाई मात्र जनगणनामा समावेश गरेका छौं,’ उनी भन्छन्, ‘पीआर नपाएका नागरिक नेपालमै आउने सम्भावना छ। तर, पीआर पाएका नागरिक फर्केर आउलान् भन्‍न नसकिने हुँदा उनीहरूको संख्यालाई समावेश गरिएको छैन।’

उनका अनुसार नेपालमा बसाइँ सरेर गाउँबाट शहर नै जाने गर्छन्। तर, कोभिडको समयमा धेरै मानिस गाउँ फर्किए। उनीहरू अध्ययन, अध्यापन  र शहरमै पेशा, व्यवसाय अँगालिरहेका थिए। तर, उनीहरूको जन्मथलोको बसाइ लामो समय भएन। कोभिड महामारीको जोखिम कम हुनासाथ फेरि सबै शहरमै फर्केको श्रेष्‍ठ बताउँछन्। भन्छन्, ‘शहर बसाइँ सरी आएका मानिसहरू यहाँको सेवा, सुविधा र  अवसरहरू त्यागेर फेरि गाउँमै गएको तथ्यांक भने छैन।’

०००

गाउँबाट शहर र शहरबाट विदेशिने ट्रेन्ड नेपालमै सीमित छैन। भारतको पछिल्लो तथ्यांकले पनि नागरिकता नै त्यागेर विदेश पलायन हुनेहरूको उल्लेख्य संख्या झल्काउँछ। सन् २०२१ मा भारतका एक लाख ६३ हजार ३७० जनाले मातृभूमिको नागरिकता त्यागेर विदेश रोजेको केन्द्रीय गृह मन्त्रालयको तथ्यांकमा उल्लेख छ। सन् २०२० मा यो संख्या ८५ हजार २५६ थियो। सन् २०१९ मा एक लाख ४४ हजार १७ जनाले भारतको नागरिकता त्यागेका थिए। त्यसरी विदेशिनेहरू अमेरिका, अस्ट्रेलिया, क्यानाडा, बेलायत, इटाली, न्युजिल्यान्ड, सिंगापुर, जर्मनी, नेदरल्यान्ड्स र स्विडेन पुगेको तथ्यांकले देखाउँछ।

तथापि, नागरिकता नै त्यागेर विदेश पलायन भएका भारतीय नागरिकहरूको यो संख्या त्यति ठूलो भने होइन। किनकि, करिब १ अर्ब ४० करोड ८० लाख जनसंख्या छ भारतको। र, १ लाख ६३ हजारले नागरिकता नै त्यागेर विदेश पलायन हुनुलाई भारतले त्यति ठूलो संख्या मानेको छैन।

नेपालको अवस्था के छ त ? गृह मन्त्रालयका अनुसार नेपाली नागरिकता त्यागेर विदेश पलायन हुनेहरूको हालसम्मको कुल संख्या ६१९ छ। स्पष्‍ट छ उनीहरू विदेश पलायन भए। तथापि, २ करोड ९१ लाख ६४ हजार ५७८ जनसंख्या रहेको नेपालका लागि पनि ६१९ जनाले नागरिकता नै त्यागेर विदेशिनुलाई सरकारले त्यति ठूलो समस्याका रूपमा लिएको पाइँदैन। समस्या त रित्ता गाउँमा छ अनि छ बाँझो बसेका जमिनमा।

०००

नेपालमा पछिल्ला वर्षमा गाउँ-गाउँमा सडक पुगेको छ, बिजुलीको केन्द्रीय प्रसारण लाइन विस्तार भएको छ। अर्थात्, गाउँ-गाउँमा विकास पुगेको छ तर मानिस गाउँ छाडेर शहरतिर झरेका छन्। सुविधा सम्पन्‍न चितवनजस्ता जिल्लामै पनि गाउँका गाउँ रित्ता बन्‍न थालेका छन्। जंगली जनावरले दिने हैरानी बढ्दै जाँदा पनि गाउँघर रित्ता बन्‍न थालेका छन्।

कालो बादलमा चाँदीको घेरा भनेझैं अवस्था दुःखद् मात्र छैन। त्यसको एक उदाहरण बनेको छ, बागलुङको झिम्पा गाउँ मोडल। राष्‍ट्रिय समाचार समितिको एक रिपोर्टअनुसार बागलुङको सुदूरपश्चिमस्थित निसीखोला गाउँपालिका-४ झिम्पा गाउँका बासिन्दा अहिले शहरबाट जन्मथलो फर्किन थालेका छन्। ४-५ वर्ष अघिसम्म बसाइँसराइको लहरै आएको थियो, धेरै कमाइ हुनेहरू घर छाडेर मधेश झरे, गाउँका केही घरसमेत खाली भएका थिए। अहिले खाली भएका घरमा समेत मानिस बस्‍न थालेका छन्। काम विशेष, अध्ययन तथा मजदुरीका लागि राष्‍ट्रिय राजमार्ग आसपासमा बसाइँ सरेरसमेत आउन थालेका छन्। पहिला घडेरी किन्‍न तराई सर्नेहरूले अहिले तल्लो झिम्पाको फाँटमा घडेरी किन्‍न थालेका छन्।

गाउँको कुनाकाप्चामै सडक पुगेकाले अहिले शहरमा पाइने सुविधा गाउँमै पाइन थालेको छ। मधेश झरेकाहरू समेत गर्मीले शीतल खोज्दै गाउँ फर्किन थालेका छन्। मध्यपहाडी राजमार्ग कालोपत्र भएपछि निसीखोलामा विकासले फड्को मारेको छ। गाउँमै प्लास्टिक टनेलमा तरकारी उत्पादन हुन्छ। बाख्रापालन मात्र होइन, कागती र सुन्तला खेती पनि फस्टाएको छ। गाउँमै १० शय्याको पालिका अस्पताल निर्माणाधीन छ। एक घर एक धारा निर्माणपछि शुद्ध खानेपानीको सुविधा थपिएको छ।

अर्को मोडल छ, पाँचथरको। जिल्लाको मिक्लाजुङ गाउँपालिकाले किसानलाई सम्मान गर्ने नीति ल्याएर बसाइँ सराइ रोक्न सफलता पाएको छ। सबैभन्दा बढी अन्‍न फलाउने कृषकलाई पालिकाले हरेक वर्ष सम्मान गर्छ। अनि कृषकले प्रशस्त अन्‍न उब्जाएर गाउँ नै हराभरा बनाएका छन्। कोभिड-१९ महामारी, त्यसअघि ०७२ सालको भूकम्प अनि भारतको नाकाबन्दीमा लागेको आत्मनिर्भरताको नारालाई सार्थक तुल्याएको छ यो पालिकाले।

यसबाट देखिन्छ, रिभर्स माइग्रेसन पनि असम्भव छैन। खाली त्यसका लागि लहर चलाउन आवश्यक छ। युवालाई सरकारले भनाउन सक्नुपर्छ- आफ्नै गाउँ फर्किआएँ, नयाँ-नयाँ सपना ल्याएँ।

मङ्गलबार, भदौ १९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

प्रदेशको राजनीतिले फेरि बामपन्थीलाई एकै थलोमा उभ्याउँदै ! सिद्धान्तको एकता कि सत्ताको बाध्यता ?
झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !
झटारो : सरकार, तिमी हरायौ कि जनता हराए ?
घर फर्किएका चार सपना : एउटा पत्र, एउटा यात्रा र पुनर्मिलनको क्षण
झटारो : मने कमरेटको कन्तबिजोग !
झटारो : सरकारी थर्काइबाट थकित, हैरान धनिराम !

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.