‘हरियो वन नेपालको धन’ नारा पञ्चायती व्यवस्थाभरि खुबै लगाइयो, अहिलेसम्म पनि लागिरहेकै छ । त्यतिबेला हरियाली देखाउनकै लागि ल्याइएको प्याटुला प्रजातिको सल्लाले भने डाँडापाखा नै सुक्खा बनाइदिएको कमैले देखेका होलान् ।
काठमाडौं- नेपालमै प्रशस्त रैथाने सल्ला थिए। रैथाने प्रजातिका धुपी, खोटे, लौठ र गोब्रे सल्लाको इतिहास लाखौं वर्ष पुरानो छ। तर, तिनको उपयोगितालाई नजरअन्दाज गर्दै सन् १९६० र ७० को दशकमा नेपालमा भित्र्याइयो, प्याटुला प्रजातिको सल्ला।
वन विज्ञहरूका अनुसार त्यतिबेला नेपालका धेरै डाँडाकाँडा उजाड थिए। र, ती उजाड पहाडलाई भरिभराउ बनाउने उद्देश्यले प्याटुला प्रजातिको सल्ला नेपाल भित्र्याइएको थियो, अस्ट्रेलियन वन परियोजनामार्फत। तर, उक्त प्रजातिको बिरुवा मेक्सिकोबाट मगाइएको विज्ञहरूको भनाइ छ। किनकि, यो प्रजातिको सल्लाको उत्पत्ति दक्षिण अमेरिकी मुलुक मेक्सिकोमा भएको मानिन्छ। विज्ञहरूका अनुसार खासगरी सन् १९६८ मा मेक्सिकोबाट प्याटुला प्रजातिको सल्लाको बिरुवा भित्र्याइएको पाइन्छ।
नेपालमा रैथाने सल्ला हुँदाहुदै पनि त्यो समयमा विदेशबाट प्याटुला प्रजातिको सल्ला किन भित्र्याइयो भन्ने प्रश्न वन र वनस्पति विज्ञहरूको छ। त्यसको जवाफ पाइन्छ, छिटो हुर्किने र चाँडै लाभ लिन सकिने वनस्पतिमा त्यतिबेलाका वन तथा वनस्पति विज्ञहरूले जोड दिएका हुन सक्छन्। तर, उनीहरूले स्वदेशी बिरुवालाई नै फैलाउने कुरामा ध्यान पुर्याउन सकेनन्।
नेपालमा सन् १९७० र ८० को दशकमा अस्ट्रेलियन वन परियोजनामार्फत प्याटुला प्रजातिको सल्ला ल्याई वृक्षरोपण गरिएको वन विभागका पूर्व महानिर्देशक देवशमणि त्रिपाठी बताउँछन्। उनका अनुसार सोही परियोजनामार्फत त्यतिबेला यो प्रजातिको सल्लाको व्यापक वृक्षरोपण गरिएको थियो। र, त्यसैको उपज हो, अहिले नेपालको मध्यपहाडमा यत्रतत्र यो प्रजातिको सल्लो पाइनु पनि।
त्रिपाठीका अनुसार प्याटुला प्रजातिको सल्लाको उत्पत्ति मेक्सिकोमा भएको हो। त्यसकारण त्यतिबेला मेक्सिकोबाटै नेपाल भित्र्याइएको उनको भनाइ छ। शुरुवाति चरणमा यसलाई ठूलो क्षेत्रफलमा नभई रुख-बिरुवाविहीन डाँडाकाँडामा रोपिएको उनी बताउँछन्।
करिब ६ दशकको अन्तरालमा प्याटुला प्रजातिको सल्ला झण्डै एक हजार हेक्टरमा विस्तार भएको छ। ‘विदेशी प्रजातिको सल्ला काठ र फर्निचरका लागि उपयोगी हुन्छ भन्ने छ। तर, त्यससम्बन्धी कुनै अध्ययन तथा अनुसन्धान भएको छैन,’ त्रिपाठी भन्छन्। उनका अनुसार विदेशी प्रजातिभन्दा रैथाने सल्ला नै बहुउपयोगी छन्। तीमध्ये कतिपयको चोपबाट क्यान्सर बिरामीका लागि आवश्यक किमो थेरोपीमा प्रयोग हुने रसायन बनाइन्छ। ‘तर, ती प्रजातिका सल्लालाई व्यापक विस्तार गरी निर्यात गर्ने पाटोमा नेपालमा कसैको ध्यान गएको पाइँदैन,’ त्रिपाठी भन्छन्।
विदेशी प्रजातिभन्दा रैथाने सल्ला नै बहुउपयोगी छन्। तीमध्ये कतिपयको चोपबाट क्यान्सर बिरामीका लागि आवश्यक किमो थेरोपीमा प्रयोग हुने रसायन बनाइन्छ। ‘तर, ती प्रजातिका सल्लालाई व्यापक विस्तार गरी निर्यात गर्ने पाटोमा नेपालमा कसैको ध्यान गएको पाइँदैन,’ त्रिपाठी भन्छन्।
रैथाने सल्लाको लामो इतिहास
रैथाने सल्लाहरूको नेपालमा लामो इतिहास छ। जुन तुलनात्मक रूपमा अस्ट्रेलियन प्रजातिको सल्लाभन्दा बढी लाभदायी रहेको पनि पुष्टि भइसकेको त्रिपाठी बताउँछन्।
उनका अनुसार अहिलेसम्म विदेशबाट ल्याई रोपिएको सल्ला खासै प्रयोगमा आएको छैन। बनावटका आधारमा रैथाने सल्लाभन्दा ठूलो र चौडा भए पनि काठ र दाउराबाहेक अन्य प्रयोजनमा यसको उपयोग भएको पाइँदैन। तर, प्याटुला प्रजातिको सल्लाको तुलानमा रैथाने सल्लाहरूबाट काठ र खोटो उत्पादन गर्न सकिन्छ नै, त्यसबाहेक लौठ सल्ला (रैथाने)बाट क्यान्सरको औषधि र पाइन्स सिड भनेर सप्लिमेन्ट्री फुडको रूपमा विकास भइरहेको उनको भनाइ छ।
रैथाने सल्लाहरूबाट सम्भावना थुप्रै भए पनि सन् १९६० को दशकमा वन प्रशासनमा रहेका अधिकारीहरूले छिटो हुर्किने प्रजाति मात्र खोजे। परिणाम- कम उपयोगी (दाउरा र काठमा मात्र) प्याटुला प्रजातिको सल्लो नेपाल भित्रियो।
यो प्रजातिको सल्लालाई लिएर धेरैको धारणा फरक रहेको त्रिपाठीको भनाइ छ। धेरैले यो प्रजातिको सल्लोले जमिन रुखो बनाउने बताउने गरेका छन्। हुन पनि, यो प्रजातिको सल्लाको घना आवादी रहेका इलाकामा झारपात र रुख बुट्यान कमै देखिन्छन्। यो प्रजातिका सल्लाको रुख वरिपरि झरेका पातले पानी जमिनमा सोसिन नदिई बगाउन मद्दत पुर्याएको यत्रतत्र देखिन्छ। त्यसै पनि यो प्रजातिका सल्लाको वन रहेका इलाकामा पानीको मुल फुटेको पाइँदैन। जब कि, साललगायत रुखको घना आवादी रहेका वनमा यत्रतत्र पानीका मुल देखिन्छन्।
तथापि, वन विभागका पूर्व महानिर्देशक त्रिपाठी यस्तो बुझाइको खण्डन गर्छन्। भन्छन्, ‘हामीले बुझ्नुपर्ने कुरा के हो भने सल्लाले रुखो बनाउने होइन, रुखो ठाउँमा सल्ला हुने हो।’
उनका अनुसार बोटानिकल भाषामा भन्नुपर्दा जहाँ कडा चट्टानहरू छन्, त्यस्ता ठाउँलाई कोलोनाइज्ड गर्न सल्लो लगाइन्छ। सल्लाको पातमा एक किसिमको एसिड हुन्छ। त्यो पात ढुंगामाथि खसेपछि ढुंगालाई नै विस्तारै गलाउँदै माटो बनाउँछ। र, त्यसले इको सिस्टम विकास गर्ने उनी बताउँछन्। अर्थात्, जहाँ रुख बिरुवा हुँदैनन्, ती इलाकामा पहिलो सल्ला रोपिन्छ अनि सल्लाले विकास गरेको उर्बरा शक्तिमा अडिएर अन्य रुख बिरुवा पनि पलाउँछन् भन्ने धारणा छ।
त्यसकारण फरेस्ट्री र बायो डाइभर्सिटी पर्स्पेक्टिभबाट हेर्दा शुरुको अवस्थामा रुख बिरुवाको राज्य अर्थात कोलोनी विकास गर्नमा यस्तो प्रजातिका सल्लाको मुख्य भूमिका रहन्छ। तथापि, त्यो इकोलोजी आजको भोलि तयार हुने होइन। त्यसका लागि वर्षौं लाग्छ। एक रुखो पारिस्थितिक प्रणालीबाट उर्बर पारिस्थितिक प्रणालीमा रुपान्तरण गर्न सल्लोको निकै महत्त्वपूर्ण भूमिका रहने उनको भनाइ छ।
प्याटुला प्रजातिको सल्ला नेपालमा एउटै ठूलो क्षेत्रफलमा भने फैलिएको छैन। अर्थात्, यो सल्ला मात्र पाइने ठूलो वन क्षेत्र कतै देखिँदैन। अन्य बिरुवा नदेखिने थोरै इलाका खासगरी सुख्खा क्षेत्रमा यो सल्लो फस्टाएको पाइन्छ। तथापि, यो पहाडी क्षेत्रका सबै जिल्लामा यत्रतत्र देखिन्छ।
शुरुवातमा विदेशबाट ल्याएर काभ्रे, सिन्धुपाल्चोकका खुला डाँडामा यो सल्ला रोपिएको थियो। सुदूरपश्चिमको डडेलधुरामा पनि यसको बिरुवा रोपिएको थियो।
त्रिपाठी भन्छन्, ‘मैले प्याटुला प्रजातिको सल्लासम्बन्धमा डडेलधुरामा अध्ययन गर्दा त्यसको उम्रने शक्ति अत्यधिक रहेको भेटेको थिएँ। अत्यधिक उम्रन थाल्यो भने यो बिरुवा अझै धेरै विस्तार हुँदै जाने सम्भावना छ। र, यसले रैथाने सल्लोलाई नै प्रतिस्थापन गर्ने हो कि भन्ने खतरा छ।’
शुरुवातमा विदेशबाट ल्याएर काभ्रे, सिन्धुपाल्चोकका खुला डाँडामा यो सल्ला रोपिएको थियो। सुदूरपश्चिमको डडेलधुरामा पनि यसको बिरुवा रोपिएको थियो।
हरियाली देखाउनकै लागि भित्रियो प्याटुला
‘हरियो वन नेपालको धन’। यो नारा पञ्चायती व्यवस्थाभरि खुबै लगाइयो। अनि पञ्चायतको अन्त्यपछि अहिलेसम्म पनि लागिरहेकै छ। डाँडाकाँडा हरियाली देखाउनकै लागि प्याटुला प्रजातिको सल्ला भित्र्याइएकामा भने सन्देह छैन।
सन् १९७०-८० को दशकमा नेपालको जंगललाई बढीभन्दा बढी विस्तार गर्नुपर्छ भन्ने मान्यता थियो। र, कुनै सम्भाव्यता अध्ययनबिनै सल्लालगायत बिरुवालाई विदेशबाट भित्र्याइएको बुझ्न कठिन छैन। जब कि, कुनै पनि मुलुकको पारिस्थितिक अवस्था अध्ययन गरेर रैथाने प्रजातिलाई नै यत्रतत्र फैलाउने कुरामा जोड दिनु उचित हुने थियो। त्रिपाठीका अनुसार आफूले ल्याएको परियोजना सफल र आफू सक्रियता साथ त्यसमा दत्तचित्त रहेको देखाउनकै लागि यस्ता विदेशी बिरुवा नेपाल भित्र्याइएको पाइन्छ।
त्यसरी भित्र्याइएका बिरुवामध्येको एक प्याटुला रहेको उनी बताउँछन्। तर, यो बिरुवा अहिले नेपालका लागि सोचेजति लाभदायी हुन सकेको उनको भनाइ छ।
उनको बुझाइमा त्यतिबेलाको वन प्रशासनले रैथाने बिरुवाको विस्तारमा जोड दिनुपर्थ्यो। तर, नेपालीहरूको बानी नै हो, जे विदेशीले भन्यो, त्यही पत्याइदिने। भन्छन् ‘त्यसकारण पनि त्यो समयमा जे उनीहरूलाई राम्रो लाग्यो, त्यही बिरुवा ल्याए। र, हरिया डाँडा देखाउनु थियो, देखाए।’
प्याटुला नेपाल भित्रिएपछि डाँडाहरू त हरिया भए। तर, जहाँ यो बिरुवा विस्तार भएको छ, त्यहाँ बढी झुरुप्प हुने अन्य प्रजातिका वनस्पति नउम्रिने, उम्रिएका पनि राम्रोसँग नहुर्किने समस्या छ। र, माटो पनि बढी एसिडयुक्त हुन जान्छ।
त्यसकारण पनि यो बिरुवाबाट रैथाने सल्लासरह लाभ हासिल गर्न नसकिएको हो। यदि यसको साटो रैथाने बिरुवाहरूलाई विस्तार गरिन्थ्यो भने बायोडाइभर्सिटी, इको सिस्टम, सामाजिक र आर्थिक दृष्टिकोणबाट नेपालले अझ धेरै फाइदा लिन सक्ने विज्ञहरू बताउँछन्। ‘त्यसैले पनि त्यो समयमा गलत छनोट हुन गएको देखिन्छ,’ त्रिपाठी बताउँछन्।
०००
वन विज्ञ पशुपतिनाथ कोइराला नेपालमा प्याटुला सल्ला सन् १९६८ मा भित्रिएको बताउँछन्। खुला डाँडाहरूमा वृक्षरोपण गर्नकै लागि सल्लाको यो प्रजाति नेपाल भित्रिएको उनको भनाइ छ।
कोइरालाका अनुसार प्याटुला सल्ला नेपालको रैथाने प्रजाति होइन। शुरुवाती दिनमा काभ्रे र सिन्धुपाल्चोकमा मात्र रोप्ने उद्देश्यले यो बिरुवा भित्र्याएको उनी बताउँछन्। तर, पहाडी वन विकास आयोजनाले थप २९ जिल्लामा प्याटुला विस्तार गरेको पाइन्छ। ‘तर, अहिले ती २९ जिल्लाबाहेक देशभर सल्लाको यो प्रजाति विस्तार भइसकेको छ,’ उनी भन्छन्।
उनका अनुसार अस्ट्रेलियन वन परियोजनाले त्यतिबेला काभ्रे र सिन्धुपाल्चोकका सामुदायिक वनमा यो प्रजाति रोपेको थियो। कोइरालाका अनुसार यो सल्लाको उपयोग विशेष गरी काठ र फर्निचरका लागि गरिन्छ। यसको काठलाई सुकाएर अधिकतम उपयोगमा ल्याउने सरकारी योजना भए पनि अहिलेसम्म अगाडि बढ्न नसकेको उनी बताउँछन्। भन्छन्, ‘अहिले वन व्यवस्थापन कसरी गर्नुपर्छ भनेर विभिन्न प्रोजेक्टले सल्लाको बारेमा अध्ययन गर्दै आएका छन्।’
धेरैको बुझाइ यो आयातित रुखले सुक्खापन बढाउँछ भन्ने नै देखिन्छ। तर, त्यसबारे कसैले अहिलेसम्म अध्ययन नगरेकाले सुक्खापन बढाउँछ नै भन्न नसकिने कोइराला बताउँछन्।
तर, समय फेरिएको छ। ४ दशकअघि बिनाकुनै अध्ययन विदेशबाट सहजै बिरुवा भित्रिन्थे। त्यसको उदाहरण सल्लाको प्याटुला प्रजाति र मसला जातका रुख हुन्। पछिल्ला वर्षमा भने सामान्य जानकारी नभएको, कुनै परीक्षण नगरिएको प्रजातिका बिरुवा भित्र्याउन पाइँदैन। कोइराला भन्छन्, ‘अध्ययनविनै कुनै नयाँ प्रजातिको बिरुवा विदेशबाट भित्र्याइयो भने त्यसले रोग र किराहरू पनि साथमै ल्याउन सक्छ भन्ने कुरा अघि बढेको छ।’
धेरैको बुझाइ यो आयातित रुखले सुक्खापन बढाउँछ भन्ने नै देखिन्छ। तर, त्यसबारे कसैले अहिलेसम्म अध्ययन नगरेकाले सुक्खापन बढाउँछ नै भन्न नसकिने कोइराला बताउँछन्।
०००
वन तथा वनस्पतिका शोधार्थी सुनराज तामाङको मत भने प्याटुला प्रजातिको सल्लाका बारेमा फरक छ। उनका अनुसार सल्लाको नयाँ प्रजातिले आफ्नो वरिपरिको पानी सोसेर लिन्छ। पानीको मुहान वरिपरि यो प्रजातिलाई रोप्यो भने पनि त्यसले पानीको मुहान नै सुकाउने उच्च सम्भावना रहन्छ।
भन्छन्, ‘यो प्रजातिको विशेषता सुक्खा ठाउँमा हुने हो, जसले आफ्नो पानीको आवश्यकता पूरा गर्न वरिपरि जराको माध्यमबाट पानी सोस्छ। त्यसकारण पनि यसले अन्य बिरुवाहरूको तुलनामा बढी पानी सोसेको देखिन्छ।’
उनका अनुसार प्याटुला सल्ला फूल नफूल्ने प्रजातिको बिरुवा हो, जसलाई सुक्खा ठाउँमा बाँच्नका लागि संघर्ष गर्ने बिरुवाका रूपबाट पनि चिन्न सकिने तामाङ बताउँछन्।
०००
अस्ट्रेलियन परियोजनाले भित्र्याएकाले ‘पाइनस प्याटुला’लाई नेपालमा अस्ट्रेलियन प्रजाति मानिएको हो। तर, यो दक्षिण अमेरिका महादेशको रैथाने वनस्पति हो। वन विज्ञ लीलानाथ शर्मा भन्छन्, ‘पाइन्स प्याटुलाले सुक्खा गराएको भन्ने कुरा धेरै सुनिएको छ। यो सल्लाको जात नै सुक्खा ठाउँमा हुर्कने हो। तर, कुनै ठाउँको जमिनमा पानी रिचार्ज कम भएको भएर पनि सुक्खा भएको हुन सक्छ।’
नेपालमा प्याटुलाबारे कुनै अध्ययन भएको छैन। त्यसकारण थुप्रैले यसले सुक्खा बनाउँछ भन्ने गरिएको पाइन्छ। तर, त्यो वैज्ञानिक आधारमा पुष्टि नभएको शर्मा बताउँछन्।
उनका अनुसार नेपालका लागि प्याटुला उपयोगी बिरुवा भने होइन। त्यो समयमा कुनै सोधखोज नै नगरी पाइन्स प्याटुला ल्याइएको थियो। ‘यसको सट्टा त्यो समयमा हाम्रो रैथाने सल्लालाई विस्तार गर्न सकिन्थ्यो होला। तर, त्यसो गरिएको पाइएन,’ उनी भन्छन्।
पाइन्स प्याटुलाको मुख्य उपयोगिता के हो भन्नेबारे अहिलेसम्म जानकारी नभएको उनी बताउँछन्। भन्छन्, ‘कुरा बुझ्दै जाँदा यो बिरुवाको विस्तार हुँदै गयो भने भविष्यमा वन क्षेत्रमा आक्रामक अवस्था देखापर्न सक्ने जोखिम उच्च छ।’
रैथाने सल्ला क्यान्सरको औषधिमा प्रयोग
नेपालको रैथाने लौठ सल्लाको खोटो एकदमै उपयोगी रहेको व्यापार तथा निकासी प्रबर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरदबिक्रम राणा बताउँछन्। उनका अनुसार लौठ सल्ला क्यान्सरका बिरामीका लागि औषधि अर्थात केमो थेरापीमा प्रयोग गरिन्छ।
हाम्रो देशको भौगोलिक बनावट नियाल्दा हामीकहाँ लौठ सल्लाजस्ता बस्तुहरू उत्पादन गर्ने प्रचुर सम्भावना रहेको उनी बताउँछन्। ‘तर, हामीले गर्न सकेका छैनौं। न यसमा कसैको चासो देखाएको पाइन्छ,’ राणा भन्छन्, ‘सामान्य सल्लाबाट निकालिएको खोटो पनि नेपालबाट निर्यात हुन्छ, जुन रंग बनाउन काम लाग्छ। तर, लौठ सल्लो, जसबाट केमोथेरापी बन्छ, त्यसको सम्भावना पनि धेरै छ नेपालमा। यसको विस्तारमा ध्यान दिने हो भने राम्रो उपलब्धी हासिल गर्न सकिने छ।’
वार्षिक अर्बौंको खोटो विदेशमा
व्यापार तथा निकासी प्रबर्द्धन केन्द्रको तथ्यांकअनुसार सन् २०२२ मा १ अर्ब ९३ करोड ८२ लाख ४० हजार रुपैयाँबराबरको खोटो भारत निर्यात भएको थियो। यस्तै, सन् २०२१ मा १ अर्ब ३३ करोड ८२ लाख २४ हजार रुपैयाँबराबरको खोटो भारतमै निर्यात भएको थियो। सन् २०२० मा ७० करोड ५० लाख ६५ हजार रुपैयाँबराबरको खोटो भारत गएको थियो।
सन् २०१९ मा १ अर्ब २६ करोड ७ लाख ७३ हजार रुपैयाँबराबरको खोटो भारत पठाइएको थियो। सन् २०१८ मा पनि नेपालबाट १ अर्ब ४४ करोड ४३ लाख ७३ हजार रुपैयाँबराबरको खोटो निर्यात भएको थियो। त्यस वर्ष भने नेपालले भारतसहित आइसल्यान्ड, निकारागुवा र चीनमा पनि खोटो निर्यात गरेको थियो। तर, सबैभन्दा बढी भारतमा १ अर्ब ४३ करोड २६ लाख ४१ हजार रुपैयाँ बरारबको खोटो निर्यात भएको थियो।