धरान– जिल्ला प्रशासन कार्यालय सुनसरीले धरानमा निषेधाज्ञाको घोषणा गरेपछि धरान, इटहरी प्रवेश गर्ने मुख्य नाका बराहक्षेत्र-१ खार खोलास्थित झण्डे चाेकमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
प्रशासन कार्यालयकाे निर्देशन बमाेजिम सुरक्षा व्यवस्थामा कडाइ गरिएकाे सशस्त्र प्रहरी बेस क्याम्प चतराका प्रहरी निरीक्षक देवेन्द्र रोक्काले बताए।
विरामी बोकेको एम्बुलेन्स, शवबाहन र अन्य अत्यावश्यक सवारी साधनलाई चेक जाँच गरेर मात्र धरान जाने व्यवस्था गरेको र अन्य सवारी साधनहरुलाई प्रवेश निषेध गरिएको उनले बताए। नडहा, कालाबन्जर, कान्छि चोक हुदै इटहरी आवतजावत गर्ने सार्वजनिक र निजी सवारी साधन निर्वाध रुपमा सञ्चालन भइरहेको पनि उनले बताए।
अहिलेसम्म धरान सुनसान रहेको र टोलटोलमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरेकाले मध्याह्नसम्म धरानको स्थित सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
निषेधाज्ञा अवधिभर धरानमा समुहिक कार्यक्रमका साथै जमघट गर्न रोक लगाइएको छ।
शुक्रबार राती १२ बजे देखी लागु भएको कर्फ्यु आज राती १२ बजेबाट हटाइने छ।