चितवन– विभिन्न जिल्लाबाट बसाइसराइँ गरी चितवन आएका गुरुङ समुदाय यतिबेला भाषा संरक्षणमा जुटेका छन्। स्याङ्जा, पर्वत, कास्की, गोरखा, लम्जुङ, तनहुँलगायतका जिल्लाबाट आएका गुरुङ समुदायको यतिबेला चितवनमा सिङ्गो गाउँ नै बनेको छ। बसाइसराइँसँगै भाषा लोप हुने अवस्था आएपछि उनीहरु यसको संरक्षणमा जुटेका हुन्।
भाषा संरक्षणका लागि ‘तमू ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद् चितवन’ले दुई हप्ते गुरुङ भाषा प्रशिक्षणको सुरूवात गरेको छ। पहिलो प्रयासमै ५० जनाले भाषा कक्षामा सहभागीता जनाएका छन्। सोह्र वर्षदेखि ७४ वर्षसम्मका तमू, तमूस्यो भाषा प्रशिक्षण कक्षामा प्रशिक्षार्थीका रूपमा सहभागी छन्।
जिल्लामा करिब एक दशकअघि विद्यार्थी लक्षित भाषा कक्षा सञ्चालन भएको थियो तर, आम तमू समुदायको लागि यस्तो कार्यक्रम भएको थिएन। केही महिना अघि पूर्वी चितवनको राप्ती नगरपालिकामा चार दिने प्रशिक्षण सञ्चालन भएको थियो। ह्युल छोँज धीँले भने समग्र जिल्ला लक्षित गरेर कार्यक्रम चलाएको हो।
हाललाई आन्तरिक स्रोतसाधन जुटाएर भाषा कक्षा सञ्चालन गरिएको तमू ह्युल छोँज धीँ, चितवनकी अध्यक्ष विमलादेवी गुरुङले बताइन्। “भाषा संरक्षणमा तमूहरू कति उत्साहित हुनुहुन्छ भन्ने बुझ्नका लागि पनि भाषा कक्षाले ठूलो सहयोग दिलाएको छ”, उनले भनिन्, “माग बढी नै भएको हुँदा आगामी दिनमा यसैलाई वार्षिक कार्ययोजना बनाएर काम गर्न सकिन्छ।”
गत साउन २१ गतेदेखि सञ्चालित भाषा कक्षामा टाढा टाढाबाट पनि मानिसहरु आउने गरेको उनले बताइन्। “ह्युल छोँज धीँले कार्यक्रम आयोजना गरेर टाढै भए पनि धाइरहेको छु।” लोकदोहोरी गायक कृष्ण गुरुङले भने। उनी भाषा सिक्नकै लागि इच्छाकामनाको कुरिनटारबाट भरतपुर आउजाउ गरिरहेका छन्।
भरतपुर महानगरपालिका-१०, शिखरचोककी ७४ वर्षीय शारदा गुरुङ पनि जीवनको उत्तरार्धमा भाषा सिक्न दैनिक महाबौद्ध गुम्बा परिसर आउने गरकी छन्। सिक्ने कुरा कहिल्यै नसकिने भन्दै ढिलै भए पनि भाषा सिक्न पाएको भन्दै यसलाई ह्युल छोँज धीँले निरन्तरता दिँदै जानुपर्ने उनले सुझाव दिइन्। धादिङमा जन्मिएर चितवनमा हुर्किएकी उनले लामो समयदेखि ह्युल छोँज धीँको विभिन्न पदमा बसेर नेतृत्व सम्हालिसकेकी छन्।
इच्छाकामनाको कुरिनटारमा जन्मिएर हाल सिमलढाप बस्दै आएकी १६ वर्षीया अस्मिता गुरुङ पनि भाषा सिक्नकै लागि भरतपुर बसेर कक्षा लिइरहेकी छन्। आफ्नो घरमा पुस्तौँदेखि भाषा नबोल्दा भाषाबारे ज्ञान शून्य भएको हुँदा भाषा सिक्ने रहर जागेको उनले बताइन्। पन्ध्र दिनमा धेरै कुरा सिक्न नसके पनि भाषाबारे धेरथोर ज्ञान पाइने उनले बताइन्। “यस्तो कार्यक्रम हरेक गुरुङ बस्तीमा लैजान सके सबैले अवसरको सदुपयोग गर्न सक्थे” उनले भनिन्।
भाषा प्रशिक्षण कक्षामा नयाँदेखि पुराना पुस्तासम्मको उपस्थितिले थप हौसला मिलेको ह्युल छोँज धीँ चितवनका सचिव किशोर गुरुङले बताए। तमूस्यो ह्युल छोँज धीँ चितवनकी पूर्वअध्यक्ष उमिता गुरुङ, वर्तमान कार्यसमितिकी सचिव सीतादेवी गुरुङ तथा तमू सञ्चारकर्मी सङ्घ चितवनका अध्यक्ष तुलमान गुरुङले भाषा कक्षामा प्रशिक्षण दिइरहेका छन्।
तमूस्यो ह्युल छोँज धीँ, तमू ह्युल छोँज धीँ, भरतपुर महानगर समिति, तमूस्यो ह्युल छोँज धीँ भरतपुर महानगर समितिको सह-आयोजनामा तमू ह्युल छोँज धीँ जिल्ला कार्यसमिति चितवनले आयोजना गरेको गुरुङ भाषा कक्षा प्रशिक्षण यही भदौ ३ गते सकिँदै छ।