काठमाडाैं– नाइजरको पश्चिमी सीमा नजिकै संदिग्ध जिहादीहरूको आक्रमणमा १७ जना नाइजर सैनिकको मृत्यु भएको त्यहाँकाे रक्षा मन्त्रालयले जनाएको छ।
मङ्गलबार अबेर रक्षा मन्त्रालयले एक विज्ञप्ति निकालेर माली नजिकको कौउउगौ शहरमा आतङ्कवादीले सेनामाथि हमला गर्दा १७ जनाले ज्यान गुमाएका तथा २० जना घाइते भएका जनाएको छ। घाइतेमध्ये छ जनाको अवस्था गम्भीर छ। सबै घाइतेलाई राजधानी नियामे ल्याइएको छ। एक सय भन्दा बढी आक्रमणकारीलाई निक्रिय पारिएको दाबी गर्दै सेनाले अतिवादीलाई परास्त गर्न सैन्य बल प्रतिवद्ध रहेको बताएको छ।
जिहादी विद्रोहले अफ्रिकाको साहेल क्षेत्रलाई एक दशकभन्दा बढी समयदेखि आक्रान्त पारेको छ। सन् २०१२ मा उत्तरी मालीमा फैलिएको जिहादी आक्रमणले त्यसको तीन वर्षपछि छिमेकी नाइजर र बुर्किना फासोलाई पनि गाँजेको छ।
तीन देशबीचको सीमानामा नियमित रूपमा इस्लामिक स्टेट समूह र अल-कायदासँग सम्बद्ध विद्रोहीहरूले आक्रमण गर्दै आएका छन्। उक्त क्षेत्रमा अतिवादी आक्रमणमा परी हजारौं सेना, प्रहरी अधिकारी र सर्वसाधारणले ज्यान गुमाएका छन् भने लाखौँ पलायन भएका छन्।
निरन्तको रक्तपात र आक्रमणबाट आजित भएका ती देशका सेनाले सैन्य विद्रोहको असफल प्रयास पनि गर्दै आएका छन्। गत महिनाको २६ तारिखमा नाइजरका निर्वाचित राष्ट्रपति मोहम्मद बजुमलाई अपदस्थ गरिएको छ। उनलाई हिरासतमा राखेर सेना प्रमुखले राज्यसत्ता आफूले सञ्चालन गरेको घोषणा गरेका छन्। उनलाई तत्काल निःशर्त थुनामुक्त गर्न र लोकतन्त्र बहाली गर्न अमेरिकालगायत अन्तरराष्ट्रिय समुदायले माग गर्दै आएका छन्।
नाइजरलाई उत्तरपूर्वी नाइजेरियाको उग्रवादी समूह बोको हरामले पनि आक्रमण गर्दै आएको छ।