काठमाडौं- आज २४ जुलाई। विश्व इतिहासका असंख्य घटनाले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, आजको दिन भएका केही विश्व चर्चित घटनाको सारसंक्षेप।
– सन् १९१५- पानीजहाज दुर्घटनामा ८४० को मृत्यु
सन् १९१५ मा आजकै दिन अमेरिकाको सिकागोमा भएको पानीजहाज दुर्घटनामा ८४० जनाको ज्यान गएको थियो। यसलाई मेरिटाइम विनाशको एक ठूलो घटना मानिन्छ। ‘एसएस इस्टल्यान्ड’ नामक यात्रीवाहक जहाज सिकागो नदीमा डुबेको थियो।
– सन् १९५९- निक्सन-ख्रुस्चेभ किचन बहस
तत्कालीन सोभियत संघको राजधानी मस्कोमा अमेरिकी उपराष्ट्रपति रिचर्ड निक्सन र सोभियत प्रधानमन्त्री निकिता ख्रुस्चेभबीच बहसको एक शृंखला आयोजना गरिएको थियो, जसलाई किचन बहस संज्ञा दिइयो। निक्सनले मस्कोमा आयोजित अमेरिकी राष्ट्रीय प्रदर्शनीका क्रममा एक घरको भ्रमण गरेका थिए। सोही कारण त्यसलाई किचन बहस भनिएको थियो। निक्सन पछि अमेरिकाको राष्ट्रपति बने।
– सन् १९७७- लिबिया-इजिप्ट युद्ध अन्त्य
सन् १९७७ मा आजकै दिन लिबिया र इजिप्टबीच जारी ४ दिने युद्ध अन्त्य भएको थियो। हजारौं लिबियाली नागरिक इजिप्टको सीमाबाट भित्र आउन थालेपछि दुई मुलुकबीच सीमायुद्ध शुरु भएको थियो।
– सन् २०१३- रेल डिरेल बन्दा गयो ७९ को ज्यान
सन् २०१३ मा आजकै दिन स्पेनको मड्रिडमा एक यात्रीवाहक रेल लिकबाहिर उछिट्टिँदा ७९ जनाको ज्यान गएको थियो। घटनामा १०० भन्दा बढी घाइते भएका थिए। मड्रिडबाट फेरोल गइरहेको हाइस्पिड रेल लिकबाट बाहिरिएको थियो।
– सन् २०१४- माली विमान दुर्घटनामा ११६ को मृत्यु
सन् २०१४ मा आजकै दिन अफ्रिकी मुलुक मालीमा भएको विमान दुर्घटनामा ११६ जनाको ज्यान गएको थियो। एयर अल्जेरीको उडान नम्बर ५०१७ को म्याकडोनाल्ड डगलस एमडी-८३ विमान दुर्घटनामा परेको थियो।
– सन् २०२३- डेंगुबाट मारिए १७०
सन् २०२३ मा बंगलादेशमा डेंगु फैलिँदा १७० जनाको ज्यान गएको थियो। मुसलधारे वर्षासँगै बंगलादेशभर डेंगु फैलिएको थियो। डेंगुबाट अन्य ३३ हजारभन्दा बढी बिरामी परेका थिए।
– सन् २०२४- इन्स्टाग्रामका ६३ हजार एकाउन्ट बन्द
सन् २०२४ मा आजकै दिन मेटा कम्पनीले आफ्नो स्वामित्त्वको इन्स्टाग्रामका ६३ हजार एकाउन्टहरू बन्द गरिएको घोषणा गरेको थियो। खासगरी, नाइजेरियाली आपराधिक समूह “याहु ब्वाइज”ले सेक्सटर्सनका लागि इन्स्टाग्रामको चरम दुरुपयोग गरेको पाइएपछि मेटाले एक्सन लिएको थियो।