काठमाडौं- भारत हिमाचल प्रदेशमा केही साताअघि आएको बाढी र पहिरोका कारण कैयौंको मृत्यु हुनुका साथै घर, सडकजस्ता भौतिक संरचनामा ठूलो क्षति भएको थियो। यसै सन्दर्भमा सामाजिक सञ्जालमा त्यहाँ गएको बाढीको दृश्य भन्दै भिडियो र फोटो भाइरल भएका छन्।
खासगरी भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ताले हिमाचल प्रदेशको बाढीको भिडियो भन्दै खोलाले किनारको बस्ती कटान गर्दै गरेको भिडियो फेसबुक र युट्युबमा सेयर गरेका छन्।
नेपाल चेकले गरेको तथ्य जाँचमा सो दृश्य पूर्वी नेपालको दुहबीस्थित बुढी खोलाले छेवैमा रहेको बस्तीमा कटान गरेको दृश्य भएको पत्ता लगाएको छ।
यो निचोडमा पुग्नका लागि हामीले गुगल अर्थ प्रयोग गरी भूस्थिति विधिको प्रयोग गर्यौं।

उक्त भिडियाको तथ्य जाँच गर्ने क्रममा हामीले सबैभन्दा पहिला युट्युब प्रयोगकर्ता गोपाल प्रधानले ११ जेठ ०७३ मा अपलोड गरेको भिडियोको अध्ययन गर्यौं। पाँच मिनट १५ सेकेन्ड लामो उक्त भिडियोमा उनले सबैभन्दा महत्त्वपूर्ण सूचना भिडियोको शीर्षकमार्फत दिएका छन्, ‘दुहबी वाटर फ्लो’। यस सूचनाका आधारमा हामीले भिडियो कहाँको हो भनी गुगल अर्थको सहायताले पत्ता लगायौं।
प्रधानको सूचनाको आधारमा हामीले गुगल अर्थमा दुहबी वरिपरिको मिल्दोजुल्दो स्थानको खोजी गर्यौं। भिडियोमा बोल्ने एक पुरुषको बोली (‘ओ गयो’) ले त्यो दृश्य नेपालको हो भन्ने जनाएको थियो। भिडियोमा खोलाको बाढीले बस्ती कटान गर्ने क्रममा शुरुमा एउटा ढिस्को खसेको देखिन्छ। त्यसपछि अर्काे अनि अर्काे हुँदै खोलाले एकपछि अर्काे कटान गरी नजिकको भूभागमा क्षति गरेको देखिन्छ। छेवैमा एउटा सुँगुर हिँडिरहेको दृश्य पनि छ। त्यसपछि एउटा रुखसमेत ढल्छ। अनि क्यामरा किनारमा उभिएर हेरिरहेका मानिसतिर मोडिन्छ। त्यसपछि वरिपरिका दृश्य देखिन्छ। केही महिला पनि देखिन्छन्। सिटी बजेको सुनिन्छ।
भिडियोमा ‘भर्खर प्रशासन आउँदैछ खाली गराउन’ भनेसँगै प्रहरीको आगमन हुन्छ। त्यसपछि हर्न बजेको सुनिन्छ। सँगै पुलको छेउमा उभिएर मानिसहरू खोलाले कटान गरेको हेर्दै गरेको दृश्य छ। भिडियोमा क्षतिका थप दृश्य कैद छन्। त्यसपछि क्यामेराले फराकिलो दृश्य देखाउँछ। कसैले भनेको सुनिन्छ, ‘अपलोड गर्नुपर्छ यो भिडियो’। भिडियोमा एकजनाले ‘यो भाग जान्छ’ भनेको सुनिन्छ। नभन्दै लगत्तै एउटा ढिस्को र रुख ढलेर खोलामा मिसिन्छ। कैयौं मानिसहरू खोलाले कटान गरेको हेर्छन्। कटान जारी छ र सँगै खोलाको धार परिवर्तन गर्ने प्रयास पनि। एम्बुलेन्सको आवाज सुनिन्छ। थप कटान हुन्छ।
यी विवरणहरूबाट केही जानकारी मिले पनि हामीलाई खोला र बस्तीको नाम पत्ता लगाउनु चुनौतीपूर्ण थियो। त्यसका लागि हामीले गुगल अर्थमा सुनसरी, चतराको नहरलाई शुरुवाती विन्दु मानी हेर्दै गयौं। त्यस क्रममा दुहबीको एक ठाउँमा कालो माटो देखियो। यसबाट हामीलाई भिडियोसँग मेल खाने एउटा बलियो संकेत फेला पर्योे। त्यसपछि पुल फेला पर्योे। कोशी राजमार्गस्थित बुढी खोलामा गएको बाढीले कटान गरेको भिडियो भन्ने थाहा भयो।


हामीले गुगल अर्थको एउटा महत्त्वपूर्ण फिचर ‘हिस्टोरिकल स्याटेलाइट इमेज’ प्रयोग गरी हेर्यौं। यो बाढी ०७३ सालमै गएको थियो भन्ने यकिन गर्न हामीले सन् २०१४ अर्थात् त्यसभन्दा दुई वर्षअघिको खोला र पुलको दृश्य हेर्यौं। त्यसमा बाढी गएको देखिएन। त्यसपछि अक्टोबर २०१६ मा गुगल अर्थमा कैद भएको तस्बिर हेर्यौं, जसमा बाढीले सो बस्ती तहसनहस पारेको देखिन्छ।


यसलाई थप पुष्टि गर्नका लागि हामीले नेपाल खबरका दुहबीस्थित पत्रकार सुमन पुरीलाई सम्पर्क गर्यौं। उनले पनि सो भिडियो ०७३ सालमा बुढीखोलाले गरेको कटानको भएको बताए। त्यतिबेला उक्त घटना’bout कुनै समाचार प्रकाशित भएका छन् कि भनी खोज्दा त्यस्तो केही फेला परेन। यी प्रमाणहरूका आधारमा हामीले भारतको हिमाचल प्रदेशमा हालै गएको बाढीको भन्दै भाइरल भिडियोसम्बन्धी दाबी भ्रामक भएको ठहर गरेका छौं।



यो सामग्री नेपालचेक डट ओआरजीले तयार पारेको हो