भारत (बीबीसी)- भारतका महाराष्ट्रसहितका इलाका खडेरीको चपेटामा छन्। पानी संकट हटाउन विभिन्न योजना बहसमा आइरहेका छन्। त्यसमध्येको एउटा हो, हिमतालको पानी पाइपलाइनबाट खेतसम्म पुर्याउने।
महाराष्ट्र राज्य सरकारको उद्योग, खनिज र पर्यावरण मन्त्रालय तथा जलसम्पदा विभागका केही अधिकारीहरूले बनाएका हुन् उक्त महत्त्वाकांक्षी योजना। त्यसप्रति केन्द्रीय सरकारको खास रुचि देखिएको छ। केन्द्र र महाराष्ट्र राज्य सरकारलाई पत्र लेखेर नागपुरको विश्वेश्वरैया नेसनल स्कुल अफ टेक्नोलोजी (बीएनआईटी)का निर्देशकले त्यसबारे शोध तयार पार्न आग्रह गरेको निकै भइसक्यो।
बीएनआईटीबाट एमटेक गर्दै गरेका विदर्भका वरिष्ठ इन्जिनियर प्रशान्त जनबन्धुले त त्यसबारे शोध नै तयार पारिसकेका छन्। उनको भनाइमा हिमालयमा नौ हजार ५७५ वटा हिमताल छन्, जसको क्षेत्रफल २६ हजार चार सय १३ किलोमिटर छ। सबैबाट गरी एक हजार दुई ९२ घनकिलोमिटर पानी उपलब्ध हुन्छ। त्यसलाई खेत-खेतमा पुर्याउन साढे १२ लाख करोड लागतमा ५५ वटा बाँध निर्माण गर्नुपर्ने उनको सुझाव छ। ती बाँधबाट भारतभर पाइपलाइनको सञ्जाल बिछ्याउने प्रस्ताव उनको छ।
त्यसबाट १३२.८३ मिलियन हेक्टर कृषियोग्य जमिनमा सिँचाइ पुग्ने जनबन्धुको दाबी छ। त्यस क्रममा ५० हजार मेगावाट बिजुली उत्पादन गर्न सकिने दाबी पनि उनको छ। बीएनआईटीका सिभिल इन्जिनियरिङ विभागका सहायक प्राध्यापक अभिनाश वासुदेवको भनाइमा उक्त अवधारणा नदीहरू जोड्ने योजनाभन्दा सस्तो पर्छ। बिजुलीको प्रयोग नै नगरी बेकारमा बगिरहेको हिमालयको पानी पाइपलाइनबाट ल्याउन सकिने उनको भनाइ छ। भाडिया इन्स्टिच्युट अफ हिमालयन जियोलोजीका वरिष्ठ वैज्ञानिक डा. डीपी डोभाल त्यस्ता कुनै योजनालाई शुरुवाती विचार मान्छन्। उनका अनुसार हिमतालबाट पर्याप्त पानी प्राप्त गर्न सम्भव भए-नभएको यकिन छैन।
हिमालयमा पहाडी गाउँमा समेत सुक्खायाममा पानीको संकट रहन्छ। वाटरम्यानका रूपमा ख्याती कमाएका म्यागासेसेद्वारा सम्मानित राजेन्द्र सिंहलाई उक्त प्रस्तावप्रति सन्देह छ। ‘नदीहरूलाई पाइपमा बन्द गर्नु ठीक होइन,’ उनी भन्छन्, ‘प्रकृतिसँग ज्यादा छेडछाड पर्यावरणका लागि नोक्सानदायी हुन्छ। नदीहरूलाई स्वाभाविक ढंगबाट बग्न दिनुपर्छ।’