सुनसरी- बराहक्षेत्र नगरपालिका-२ मा शनिबार कवि प्रकाश दिप्सालीलाई नगदसहित सम्मान गरिएको छ।
वडा कार्यालयको सभाहलमा चतरा साहित्यिक मञ्चले कवि दिप्सालीलाई नगद १० हजार १ सय १ रुपैयाँ, सम्मान पत्र र फेटा गुथाएर सम्मान गरेको हो।
बराहक्षेत्र नगरपालिका-३ का स्थायी बासिन्दा दिप्सालीले नगरको प्रतिनिधित्व गर्दै नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौंद्वारा आयोजित ६६ औ राष्ट्रिय कविता महोत्सव, २०८० मा सहभागी जनाएर विजेता बनेका थिइ। साहित्यकार, गीतकार, कवि दिप्सालीले बराहक्षेत्रको नाम साहित्यिक क्षेत्रबाट संसारभरका नेपालीभाषीमाझ उच्च बनाएकामा मूल्यांकन गर्दै सम्मान गरिएको हो।
नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित ६६ औं राष्ट्रिय कविता महोत्सवमा २५ कवितामध्ये कवि दिप्साली उत्कृष्ट १० मा परेका थिए।
बराहक्षेत्र-२ निवासी चर्चित साहित्यकार, कवि प्रह्लाद पहरेदारले दिप्सालीको जीवनी, साहित्यिक यात्रा र बराहक्षेत्रको साहित्यिक क्षेत्रको विगत र हालको अवस्थाबारे चर्चा र परिचर्चा गरेका थिए।
उक्त कार्यक्रममा दिप्सालीले आफू विजेता भएको ‘नौरानको नाम’ कविता वाचन गर्दै अन्य ७ वटा उत्कृष्ट, रोचक कविताहरू प्रस्तुत गरेका थिए। कवि राज माङ्लाकले दिप्सालीका कविताबारे टिप्पणी गरेका थिए।
रियालिटी सो ‘द पोइट आइडल’की प्रतियोगी कवयत्री छबिना लुंगेली मगर, विमला श्रेष्ठ, कवि आर्यन निरौलाले दिप्सालीले कविता वाचन गरेका थिए।
रियालिटी सो ‘भ्वाइस अफ किड्स नेपाल’मा सहभागी भएका बराहक्षेत्र–२ का चर्चित बाल गायक राजेश परियारले ‘मैले हैन, तिम्रा भाकाहरूले मेरो मुटु छोइसकेछन्’ बोलको गीत गाएका थिए। नायुमा राईको आकर्षक नृत्यले कार्यक्रमलाई थप मनोरञ्जन प्रदान गरेको मञ्चकी सचिव वर्षा भण्डारी जानकारी दिइन्।
सम्मानित कवि दिप्साली स्वर्णिम साहित्य समाजका अध्यक्ष हुन्। उनी लामो समयदेखि साहित्य क्षेत्रमा समर्पित भई साहित्यिक गतिविधि सक्रिय रहँदै आएका छन्।
सम्मानित भएपछि दिप्सालीले बराहक्षेत्रको कला, साहित्यले मान, सम्मान, इज्जत, प्रतिष्ठा पाएको बताए। र, यो पुरस्कारले आफूमा अझै जिम्मेवारी थपिएको र साहित्य, कला क्षेत्रको विकासमा सशक्त भएर लाग्ने बताए।
कार्यक्रममा अन्तर्राष्ट्रिय साहित्य मञ्च भारतका उपाध्यक्ष भीम विरही, उदयपुर, धनकुटा, भोजपुर, मोरङ, सुनसरीलगायत ठाउँका साहित्यिकारहरू र स्थानीय बासिन्दाको बाक्लो उपस्थिति थियो।