लन्डन (बीबीसी)- गत जुनमा अमेरिका सरकारले अनआइडेन्टिफाइड फ्लाइङ अब्जेक्ट (यूएफओ)सँग सम्बन्धित एक रिपोर्ट डिक्लासिफाई गर्यो, जसमा भनिएको छ- अहिलेसम्म धर्तिमा एलियन्स आएको कुनै प्रमाण फेला परेको छैन। तथापि, रिपोर्टमा ब्रह्माण्डमा एलियन्सको उपस्थिति अस्वीकार गरिएको छैन।
बितेका धेरै दशकदेखि वैज्ञानिकहरू ब्रह्माण्डमा अर्को जीवन अर्थात् एलियन्सको उपस्थिति पत्ता लगाउने प्रयासमा छन्। उनीहरू पृथ्वीबाट चार प्रकाश वर्ष टाढा अल्फा सेन्चुरी नामक तारामण्डलमा जीवनको खोजी अभियान सञ्चालनको तयारीमा छन्।
युनानी लेखकको दुई हजार वर्ष पुरानो दाबी
नेताली हेन्स लेखिका हुन्। खासगरी, साइन्स फिक्सन उनको रुचिको क्षेत्र हो। उनको भनाइमा स्पेस अब्जर्भेटरी र अन्तरिक्ष यानको कल्पना पनि नरहेको दुई हजार वर्षअघि लुसियन्स नामक युनानी लेखकले आफ्नो पुस्तकमा पृथ्वीभन्दा टाढा जीवन रहेको जिकिर गरेका छन्।
‘अ ट्रु हिस्ट्री नामक आफ्नो पुस्तकमा लुसियन्सले केही यात्रीको कथा लेखेका छन्, जो एक बबन्डरमा फसेर चन्द्रमासम्म पुगेका थिए। उनीहरूको त्यस यात्रामा सात दिन लाग्यो, जब कि आधुनिक विश्वमा रकेटमा बसेर चन्द्रमा पुग्न त्यसभन्दा आधा समय लाग्छ,’ नताली भन्छिन्, ‘त्यहाँ चन्द्रमाका राजा र सूर्यका सम्राटबीच युद्ध चलिरहेको हुन्छ। उनीहरूसँग अनौठा-अनौठा सेना हुन्छन्।’
लुसियन्सले आफ्नो किताबमा चन्द्रमामा पखेटासहितका उड्ने घोडा, विशालकाय गिद्ध र १२ वटा हात्तीबराबरका जनावर ती यात्रीले देखेको उल्लेख गरेका छन्। तिनै अनौठा जीवजन्तुलाई पहिलोपटक एलियन्स भनिएको हो।
त्यसको करिब आठ सय सालपछि १०औँ शताब्दीमा जापानमा एक साइन्स फिक्सन ‘द बेम्बु कटर्स डटर’ लेखियो। ‘यो कथा एक यस्तो बाँस काट्ने व्यक्तिको बारेमा छ, जसले एक दिन बाँस काट्दै गर्दा भित्रपट्टि तिखो प्रकाश देखे। त्यसमा एक सानी बच्ची भेटे र घर लिएर आए। आफ्नै छोरीजस्तो गरी लालनपालन गरे। र, ठूली भएपछि ती बच्चीले आफू चन्द्रमाबाट आएको बताइन्,’ नताली भन्छिन्।
अनौठो के भने एलियनबारे जति पनि लेखिएको छ, तीमध्ये अधिकांशमा चन्द्रमा उल्लेख छ। नतालीको भनाइमा पृथ्वीबाट सहजै देखिने भएकाले चन्द्रमाका बारेमा बढी लेखिएको हुन सक्ने नतालीको भनाइ छ।
तथापि, पछिल्ला वर्षमा मंगल ग्रहको चर्चा पनि कम छैन। सन् १८७० को दशकमा इटालियन खगोलशास्त्री जियोभानी भर्जिनियो सियापरेलीले पहिलोपटक आफ्नो टेलिस्कोपमा मंगल ग्रह देखेका थिए। ‘उनले मंगलको सतहमा नालीजस्ता रेखा देखे, जसलाई उनले कनाली भनिदिए। त्यो भनेको नहर हो,’ नताली भन्छिन्, ‘त्यतिबेला भरखरै पृथ्वीमा स्वेज नहरको काम पूरा भएको थियो। र, मानिसले आम धारणा बनाए, मंगलमा बस्नेहरूले पनि नहर निर्माण गरेका छन्।’

सन् १८८१ मा ‘लन्डन ट्रुथ’ नामक पत्रिकाले मंगल ग्रहबाट पृथ्वीमा आक्रमण हुने काल्पनिक कथा छाप्यो। त्यसको केही वर्षपछि पोल्यान्डका एक पादरीले ‘एलेरियल- अ भोयेज टू अदर वर्ल्डस्’ नामक किताब प्रकाशित गरे। त्यस पुस्तकमा उनले मंगल ग्रहमा बस्ने नौ फिट अग्ला शाकाहारी मानिसका बारेमा जिकिर गरेका छन्। त्यस्ता मानिसलाई उनले ‘मार्सियन’ संज्ञा दिएका छन्।
त्यसपछि नै हो, मानिसले मंगल ग्रहबाट तिखो प्रकाश देखिएको दाबी गर्न थालेको पनि। यही दौरानमा रेडियोमा एचजी वेल्सको किताब ‘द वार अफ द वर्ल्ड्स’को नाट्य रूपान्तरण प्रसारित गरियो। विज्ञानको उन्नतीसँगै विगतका पुस्तक र कथालाई आधार बनाएर फिल्महरू बने। सन् १९६० को दशकमा युवा वैज्ञानिक फ्रेन्ड ड्रेकले एक सौर्य मण्डलबाट अर्को सौर्य मण्डलमा सिग्नल पठाउन विश्वयुद्धमा प्रयोग भएका प्रविधि उपयोग गर्न सकिने बताए। शायद एलियन्सहरूले पनि त्यसै गरिरहेको हुन सक्ने उनको दाबी थियो।
सेथ सोस्टेक ‘सर्च फर एक्स्ट्राटेरेस्ट्रियल इन्टेलिजेन्स (सेटी)’मा वरिष्ठ खगोलशास्त्री हुन्। चार दशकयता उनले एलियन्सले पठाएको हुन सक्ने विभिन्न सिग्नल सुन्ने प्रयास गरिरहेका छन्। उनका अनुसार वेस्ट भर्जिनियास्थित रेडियो एन्टेनामार्फत दुईवटा ताराबाट आउन सक्ने सिग्नल सुन्ने प्रयास गरिएको थियो। एउटा ताराबाट कुनै सिग्नल आएन तर अर्को ताराबाट केही आवाज सुनियो। तर, त्यो केको आवाज थियो भन्ने यकिन भएन। सन् १९८० को दशकमा अमेरिका सरकारले सेटी इन्स्टिच्युटलाई आर्थिक अनुदान दिन थाल्यो।
अमेरिकी खगोलशास्त्री फ्र्यांक ट्रेकले सन् १९६१ मा ‘ड्रेक इक्वेसन’ नामक फर्मुला दिएका थिए। र, हाम्रै आकाश गंगाको कुनै ग्रहमा जीवन हुन सक्ने उनले बताएका थिए। सन् १९६० मा उनले एलियन्सको खोजीमा पहिलोपटक एक्सपेरिमेन्ट गरेका थिए। सेथ सोस्टेकको भनाइमा सबै सिग्नललाई एकसाथ सुन्न सकिने प्रविधिको विकास नभएसम्म एलियन्सको आवाज पत्ता लगाउन असम्भव छ। सन् १९९० सम्ममा यो पनि सभव भयो। यस्ता कम्प्युटर बने, जसमा एकसाथ लाखौँ फ्रिक्वेन्सी सुन्न सकिन्छ।
केही वर्षअघि ओहायो युनिभर्सिटीका खगोलशास्त्रीहरूले एक रेडियो डेटा अध्ययन क्रममा एलियन्सको आवाज रेकर्ड गरेको दाबी गरे। तर, त्यो साँच्चै एलियन्सको आवाज थियो कि धर्तिकै कुनै आवाज रेकर्ड भएको थियो भन्ने पत्ता लगाउन सकेनन्। त्यसैले अहिलेसम्म एलियन्सको उपस्थितिबारे कुनै सबुत प्रमाण जुटेको छैन।
सन् १९९० को दशकको शुरुमै सेटी इन्स्टिच्युटलाई प्राप्त हुँदै आएको सरकारी अनुदान बन्द भयो। तर, त्यो एलियन्सको खोजीको अन्त्य थिएन।
डेभिड ग्रिनस्पुन एस्ट्रोबायोलोजिस्ट हुन् र प्लानेटरी साइन्स इन्स्टिच्युटका वरिष्ठ वैज्ञानिक पनि हुन्। अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाका पनि सल्लाहकार भइसकेका छन्, उनी। उनका अनुसार सन् १९९० को दशकपछि हाम्रै सौर्य मण्डलमा मौजुद साना ग्रहहरू (ड्वार्फ प्लानेट) पनि पत्ता लाग्न थाले। अर्थात् ग्रहको खोजी व्यापक बन्यो। र, त्यसपछि नै हो, हाम्रो सौर्य मण्डलबाहिर पनि जीवनसहितका ग्रहहरू हुन सक्ने आकलन गर्न थालिएको पनि।
मार्च २००९ मा नासाले केप्लर अन्तरिक्ष यान लन्च गर्यो। त्यसमा टेलिस्कोपवाला एक अब्जर्भेटरी पनि थियो, जसको उद्देश्य पृथ्वीभन्दा बाहिर जीवनको खोजी गर्नु। केप्लरले केही वर्ष ताराहरूमाथि नजर राख्यो। उसको काम कुनै ताराको प्रकाश बदलिन्छ कि बदलिँदैन भनेर नजर राख्नु थियो।
इरिस हाम्रो सौर्य मण्डलको सबैभन्दा ठूलो ड्वार्फ प्लानेट हो। यो लगभग प्लुटो जत्रै छ। तर, सूर्यबाट प्लुटोभन्दा तीन गुणा टाढा छ। कुइपर बेल्टमा रहको इरिसलाई सूर्यको एक चक्कर लगाउन ५५७ वर्ष लाग्छ।
यस्तै, मंगल र बृहस्पतिको बीचमा एस्टेरोइट बेल्टमा सिरिस नामक ड्वार्फ प्लानेट छ। आकारमा यो प्लुटोभन्दा १४ गुणा सानो छ। यस ग्रहमा वायु मण्डल छैन। आफ्नो नौ वर्षे अभियानमा केप्लरले हाम्रो सौर्य मण्डलको बाहिर २६०० ग्रह पत्ता लगायोे। र, सोही आधारमा सन् २०१३ मा वैज्ञानिकहरूले हाम्रो आकाशगंगामा अर्बौँ यस्ता ग्रह हुन सक्ने आकलन गरे।

के ती ग्रहमा जीवनको सम्भावना छ ? डेभिड भन्छन्, ‘यसबारेमा मोटो अनुमान लगाउन सकिन्छ। किनकि, हामीलाई थाहा छैन, जीवन कुन अवस्थामा हुन सक्छ। हामी सामु केवल पृथ्वीको उदाहरण छ। तर, पृथ्वीजस्तै कुनै खास क्लाइमेट जोनमा रहेका कुनै ग्रहमा जीवनको सम्भावना हुक सक्छ। हाम्रो आकाशगंगामा यस्ता कम्तिमा ३० करोड ग्रह हुन सक्छन्।’
डायाटोम्स एक प्रकारको एक्ट्रिमोफाइल्स हो, जो अलग-अलग प्रकारको मुस्किल परिस्थितिमा पनि जीवित रहन सक्छ- अत्यधिक चिसो पानी, नूनिलो र तातो पानी इत्यादि। वैज्ञानिकहरूको भनाइमा यो ताराहरू बीचमा मौजुद इन्टरस्चेलर डस्टमा पनि यो घुलमिल हुन सक्छ।
यसबीचमा पृथ्वीमै एक्ट्रिमोफाइल्सजस्ता केही जीवहरूको खोजी गरिएको छ। र, तीमार्फत जस्तोसुकै परिस्थितिमा पनि जीवन चल्न सक्ने देखिएको छ। र, यी स-साना जीव नै जीवनको शुरुवातका आधार हुन् र यी पूरै ब्रह्माण्डमा फैलिएका छन् भन्नेमा वैज्ञानिकहरूको भरोसा बढ्दो छ।
स्टिभन डिक खगोलशास्त्री हुन् अनि विज्ञानका इतिहासकार पनि। उनी नासामा प्रमुख इतिहासकारी बनिसकेका छन्। अन्तर्राष्ट्रिय एस्ट्रोनोमिकल युनियनले उनको नाममा एक ग्रहको नामाकरण गरेका छन्। त्यस ग्रहलाई नाम दिइएको छ, ‘६५४४ स्टिभनडिक’। अन्य खगोलशास्त्रीजस्तै उनी पनि पृथ्वीभन्दा टाढा कतै जीवन रहेको विश्वास गर्छन्। उनी केही वर्ष नासाको ‘एलियन लाइफ प्रिपरेसन प्रोग्राम’मा पनि जोडिएका थिए। उनका अनुसार अन्य ग्रहबाट आउने वस्तुका बारेमा केही नियम त बनाइएको छ। तर, त्यो लामो समयका लागि छैन।
उनी भन्छन्, ‘यदि एलियन्स छन् भने कुनै राम्रा पनि हुन सक्छन्। माइक्रोबको पाटोबाट हेर्ने हो भने अन्य ग्रहबाट आउने ब्याक्टेरियाले पृथ्वीमा संक्रमण पनि फैलाउन सक्छन्। हामीलाई थाहा छैन, एलियन्सको दुनियाँमा परोपकारको सिद्धान्त छ कि छैन। के मानिसप्रति उनीहरूको रवैया ठीक रहन्छ ?’
ल ठीक छ। एलियन्स हामीसँग भेट्न पृथ्वीमै आइपुगे रे ! त्यस परिस्थितिमा हामी उनीहरूसँग कसरी संवाद गर्छौँ नि ? स्टिभन भन्छन्, ‘यो गम्भीर चर्चाको विषय हो। मलाई लाग्छ फिल्म ‘अराइभल’मा यसलाई राम्रो ढंगले देखाइएको छ। यसमा केही एलियन्स मानिससँग संवाद गर्ने कोशिस गर्छन्। त्यसैले हामीलाई त्यस्तो भाषा चाहियो, जो पूरै ब्रह्माण्डमा बुझियोस्।’