काठमाडाैं– पूर्वी युक्रेनमा एक रेस्टुरेन्टमा रुसी मिसाइल प्रहार हुँदा तीन बालबालिकासहित कम्तीमा आठ जनाको मृत्यु भएको छ।
पूर्वी युक्रेनको क्रामाटोर्स्कको मध्य भागमा मङ्गलबार साँझ भएकाे रुसी क्षेप्यास्त्र प्रहारबाट ५० भन्दा बढी घाइते भएका छन्।
डोनेट्स्क क्षेत्रका सैन्य प्रशासन प्रमुख पाभ्लो किरिलेन्कोका अनुसार आक्रमण साँझ करिब ७:३० बजे भएको थियो। “हामी अहिले शहरमा घाइते र मृतकको सङ्ख्या निर्धारण गर्न काम गरिरहेका छौँ। यो शहरको केन्द्र हो। यी सर्वसाधारणको भीड हुने सार्वजनिकरूपमा खाने ठाउँहरू थिए,” उनले भनेका छन्।
अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले दोस्रो मिसाइल आक्रमण शहरको बाहिरी भागमा रहेको एउटा गाउँमा भएको बताएको छ।
“रुसले जानाजानी भीडभाड भएका क्षेत्रहरूलाई लक्षित गरेको छ।” युक्रेनका आन्तरिक मामिला मन्त्री इहोर क्लाइमेन्कोले टेलिग्राममा भनेका छन्।
सन् २०२२ फेब्रुअरी, २४ मा शुरु भएको रुस-युक्रेन युद्धले धेरैको ज्यान लिइसकेको छ र अहिले पनि दुई राष्ट्रबीच युद्ध जारी छ।