काठमाडाैं– अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले गोप्य दस्तावेजकाे बारेमा अनधिकृत व्यक्ति वा पक्षसँग छलफल गरेको अडियाे सार्वजनिक भएको छ।
सीएनएनले सोमबार राति प्रशारण गरेको अडियो फाइल र एबीसी तथा सीबीएसले पनि प्राप्त गरेको अडियो फाइलमा ट्रम्पले पेन्टागनको गोप्य दस्तावेजमा इरानमाथि आक्रमण गर्ने योजना रहेको सङ्केत गरेको देखिन्छ।
सन् २०२१ को जुलाईमा न्यूजर्सीस्थित बेडमिनिस्टरस्थित गल्फ क्लबमा ट्रम्पले आफ्ना पूर्व चिफ अफ स्टाफ मार्क मिडोजको संस्मरणमा काम गरिरहेका व्यक्तिहरूका लागि दिएको अन्तर्वार्ताबाट यस बिषयमा दुई मिनेटको रेकर्डिङ सार्वजनिक भएकोे हो।
पदबाट हटेपछि गोप्य दस्तावेजको दुरुपयोग गरेको आरोपमा ट्रम्पमाथि ४९ पृष्ठ लामो अभियोग पत्रमा विशेष वकिल ज्याक स्मिथद्धारा उक्त रेकर्डिङको ट्रान्सक्रिप्टको केही अंशलाई प्रमाणका रूपमा उद्धृत गरिएको छ।
अडियोमा उनले कुनै कुरालाई ‘अति गोप्य’ अर्थात् ‘यो गोप्य जानकारी हो’ भनेर पनि सङ्केत गरेको र कोठामा अरूलाई केही देखाइरहेको बुझिन्छ।
“यो सेनाले गरेको थियो र मलाई दिइएको थियो,” श्रव्य सामग्रीमा अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पले भनेका छन्। यसमा उक्त दस्तावेज ‘वर्गीकृत गरिएको’ उल्लेख छ।
“तपाईं देख्नुहुन्छ, राष्ट्रपतिको रूपमा मैले यसलाई सार्वजनिक गर्न सक्थें। अब म सक्दिन, तपाईंलाई थाहा छ,” ट्रम्पले भनेका छन्। “अब हामीलाई समस्या हुन्छ,” ट्रम्पको भनाइलाई पछ्याउँदै उनका एक कर्मचारीको आवाज सुनिन्छ।
“के यो रोचक छैन? यो धेरै राम्रो छ,” ट्रम्पले भनेका छन्। त्यसपछि रेकर्डिङ समाप्त हुन्छ अनि उनले कसैलाई केही कोकहरू ल्याउन आग्रह गर्छन्।
यसै महिनाको सुरुमा ट्रम्पले अमेरिकी सरकारका गोप्य सूचनाहरूलाई जानीजानी गलत तरिकाले व्यवस्थापन गरेको र उनीहरूलाई फर्कन नदिन षडयन्त्र गरेको ३७ वटा अभियोगमा आफू निर्दोष रहेको बताउँदै आपराधिक अभियोगको सामना गर्ने पहिलो अमेरिकी राष्ट्रपति बनेका छन्।
न्याय विभागले अर्को वर्ष ह्वाइट हाउस मा पुनः विजय हासिल गर्ने होडमा रहेका ट्रम्पले जासुसी ऐन र अन्य कानूनको उल्लङ्घन गरेको आरोप लगाएको छ।
“उहाँले पद छोडेपछि गोप्य कागजातहरू हटाउनुभयो र तिनीहरूलाई राष्ट्रिय अभिलेखालयमा हस्तान्तरण गर्न असफल हुनुभयो।” विभागले भनेको छ।
सन् २०२१ को जुलाईमा राष्ट्रपतिबाट हटिसकेका ट्रम्पले एक लेखक, एक प्रकाशक र उनका दुई कर्मचारीसँग गरेको अडियो रेकर्डिङसहितमा ‘गोप्य’ र ‘अति गोप्य’ प्रमाणहरू भएको दस्तावेज सार्वजनिक गरेकाे अभियोग दर्ता गरिएको छ।
अर्बपति विपक्षी नेता ७७ वर्षीय ट्रम्पमाथि फ्लोरिडास्थित आफ्नो समुन्द्री किनारको हवेलीमा गैरकानुनी रूपमा लगेका दर्जनौँ गोप्य कागजातहरू जानीजानी जम्मा गरेको, फिर्ता गर्न इन्कार गरेको र अनुसन्धानकर्ताहरूलाई उनीहरूको पुनः प्राप्तिको लागि अवरोध गर्ने षडयन्त्र गरेको आरोप लगाइएको छ।
ट्रम्पमाथि सुरक्षा अनुमति नभएका व्यक्तिहरूसँग संवेदनशील अमेरिकी गोप्य कुराहरू साझा गरेको आरोप पनि लगाइएको छ।
उनको फौजदारी मुद्दाको सुनुवाई अगष्ट १४ देखि सुरु हुने तय भएको छ, तर उनको कानुनी टोलीले प्रारम्भिक मिति महिनौं पछाडि धकेल्ने सम्भावना छ।