सिन्धुली– सिन्धुलीको गोलञ्जोर गाउँपालिका-२ बितिजोरमा बाढीपहिराेबाट ३१ घरमा क्षति पुगेको छ। बाढीले खेतसमेत बगाएको छ।
Advertisement
आज बिहान आएको बाढीले पाक्न लागेको मकै र रोपाइ गर्न राखिएको धानको ब्याडसमेत बगाएको छ। बाढीपहिराेबाट पशुचौपाया र कखुरा पनि मरेको वडाध्यक्ष दौलत कार्कीले बताए।
लगातारको वर्षापछि खसेको पहिरो र खोल्सामा लेदोसहित आएको बाढीले बितिजोरको कुखुरेटारका चित्रबहादुर माझीको गोठ बगाउँदा पाँच सुँगुर र ६० कुखुरा मरेका छन्।
“बाढीपहिराेले बितिजोरका कखुरेटार, तीनमाने, कटहरे र भालुखोलाका बासिन्दाको घरमा क्षति पुगेको छ।
क्षतिको विवरण संकलन गरिरहेका छौँ। रोपाइँका लागि तयार हुँदै गरेको धानको ब्याड चिनोमानो नरहने गरी पुरिँदा किसान मर्कामा परेका छन्।” वडाध्यक्ष कार्कीले भने।