मलाई छुट्याउन गाह्रो भएको छ, मेरो गाउँमा विकास भयो या विनास? गाउँमा नयाँ संरचना थपिएको भन्दा पुराना संरचना मासिएको देख्दा म यसलार्ई विकासभन्दा विनास भन्न रुचाउँछु।
मलाई अचम्म लाग्छ, स्मरण गरेदेखि अहिलेसम्मको मैले देखे-भोगेको अनि हुर्के-बढेको गाउँको भौतिक संरचना देखेर। जुन समयमा म सानी थिएँ, मैले देखेका र हुर्कंदै गर्दा परिवर्तन भएका भौतिक संरचनालार्ई नियाल्ने हो भने आकाश पातालको परिवर्तन आएको छ।
मलार्ई अझै याद छ कञ्चनपुरको साविक कृष्णपुर गाविसस्थित मेरो सानो गाउँ निकै रमणीय थियो। गाउँमा जताततै कच्ची सडक थिए। सडक कच्ची थिए तर गाडीहरूलाई ओहोरदोहोर गर्न कुनै समस्या थिएन। सडक छेउमा रुखहरू हुन्थे। तराईको टन्टलापुर गर्मीमा मध्याह्नमा बाहिर निस्कनै सकिँदैन। वैशाखदेखि दशैं विदा नहुँदासम्म विद्यालय बिहान लाग्थ्यो अनि १२-१ बजे बिदा हुन्थ्यो। गर्मीयाममा विद्यालय विदापछि गर्मी छल्नकै लागि बोटोछेउका तिनै रुखको छायामा बस्दै, आराम गर्दै घर पुग्थ्यौं।
गाउँमा अहिलेजस्तो घना बस्ती थिएन। बाटोछेउ, खेतमा जताततै रुखहरू थिए। त्यसैले गाउँमा बिजुली बत्ति नहुँदा पनि वैशाख, जेठमा चर्को गर्मी अनुभूति हुन्थेन। पातलो बस्ति अनि घरहरू टाढा-टाढा भएकाले राति कामविशेष कसैको घरमा एक्लै पठाइयो भने निकै डर लाग्थ्यो।
किनभने, गाउँमा त्यो समयमा भूत हुने जनश्रुती निकै प्रचलित थियो। भूतको लामो-लामो कपाल र नङ अनि एकदमै डरलाग्दो रूप। हाम्रो मानसपटलमा सेट गराइएको यस्तै आकृति सम्झन पनि डर लाग्थ्यो। बज्यै (हजुरआमा)ले सुनाउँदै आउनुभएको थियो, यस्तो डरलाग्दो आकृति। एकपटक आफू महिनावारीको समयमा राति छाउगोठमा सुत्न जान लाग्दा भूतलाई बाटोमा देखेको कुरा बज्यैले जहिल्यै सुनाइरहनु हुन्थ्यो। जतिपटक सुन्दा पनि डरले आङ नै सिरिंग भएर आउँथ्यो।
गाउँको त्यो रुखमा भूत छ है, राति या मध्याह्नमा एक्लै फलानो रुख, ठाउँनजिक नजानु भनेर ममीले पनि सानो छँदा बारम्वार सम्झाउनु हुन्थ्यो। मेरो घर नजिकै चौबाटोमा ‘सेतो पुल’ थियो, अहिले पनि छ। सेतो पुलमा भूत बस्छ, मध्य रातमा सेतोपुलबाट अजीव-अजीव आवाज आउँछ भनेर खुबै चर्चा हुन्थ्यो गाउँमा। त्यसैले, सेतो पुलमा भूत छ भन्ने कुरामा प्रायः गाउँका सबैलाई विश्वास लाग्थ्यो। त्यसैले मलाई राति कामविशेषले कसैको घर पठाएमा खुब डर लाग्थ्यो।

भूत बस्ने सेतो पुल
गाउँमा त्यतिबेला २-३ वटा सामुदायिक विद्यालय र दुईवटा चलेका निजी विद्यालय थिए। कुटानी पिसानीका लागि दुईवटा डिजेलबाट चल्ने मिल थिए। लामो समय भेटघाट नभएका टाढा-टाढाका चिनजानका महिलाहरू मिलमा भेट हुँदा भलाकुसारी गर्दै सुख, दुःख साटासाट गर्थे। त्यसले आपसमा आत्मीयता बढाएको थियो।
हरेकले घरमा गाई, भैंसी, गोरु, बाख्रा पालिन्थ्यो। धेरै वस्तुभाउ हुँदा सँगसँगै मेलापात जाने गर्थे। तराई क्षेत्र भएकाले हिउँद होस् या बर्खायाम, गाउँका धेरै महिला कहिले गोडमेल त कहिले अन्नबाली भित्र्याउन खेतबारीमा व्यस्त रहन्थे। खेतबारीमा सिँचाइका लागि स्थानीय बड्डी मछेली नदीबाट कुलोमा पानी ल्याइएको थियो। अनि पालैपालो खेतबारीमा सिँचाइ गरिन्थ्यो।
बालबालिकाहरू साथीहरूसँग खेलेर समय बिताउँथे। जति धेरैसँग घुलमिल हुन सक्यो, त्यति नै समुदायलाई निकटबाट बुझ्न सकिन्छ भन्ने मान्यता त्यो समयको थियो।
कंक्रिटको जंगल मेरो गाउँ
पहिलेको तुलनामा अहिले मेरो गाउँमा धेरै भौतिक परिर्वतन भइसकेको छ। कहींकहीं मात्र घर भएको मेरो गाउँमा अहिले उब्जनी गर्ने खेतभन्दा बढी घर बनिसकेका छन्। अब एक घरबाट अर्कोमा जान भूतको डर भागिसक्यो। भूत छ भन्ने सेतो पुलको छेउछाउमा अहिले पसलै पसल खोलिएका छन्। स-सानो सामान खरिदका लागि ३ किलोमिटर टाढा गुलरिया बजार जानु पर्दैन। पसलेहरू राति अबेरसम्म पसल खोलेर बसेका हुन्छन्। अहिले कोही मान्छेबाट सेतोपुलमा भूत छ भनेर सुनिँदैन।

गाउँमा करिब ८० प्रतिशतले गाई, भैंसी पाल्नै छोडिसके। सबैले डेरीबाटै दूध, दही किनेर खान्छन्। साँझ नपर्दै अन्धकार बन्ने मेरो गाउँमा अहिले हरेक घरमा बिजुली पुगेको छ। कुलोबाट सिँचाइ गर्ने मेरो गाउँले अहिले बिजुलीबाट व्यक्तिगत मोटर चलाउँछ। यसको अर्थ सिँचाइ गर्ने नदी सुकेको होइन। नदी अनि घर छेउको नहरमा उहिलेजस्तै पानी बगिरहेको छ। तर, हिजो सिँचाइ सुविधा दिने कुलो मासिइसक्यो। घर-घरमा मोटरबाटै पानी तान्ने भएपछि कुलोको आवश्यकता परेन शायद।
अहिले हरेकले आफ्नो छुट्टै कुलो बनाएका छन्, मोटरको पानी खेतसम्म पुर्याउन। शायद प्रविधिसँगै मानिस पनि अगाडि बढ्नुपर्छ होला, मेरा गाउँका बासिन्दाहरू पनि प्रविधिमा निर्भर हुँदै गएका छन्।
बिजुलीको व्यवस्था नहुँदासम्म आत्महत्या र सर्पको डसाइबाट मृत्यु भएका समाचार सुनिने मेरो गाउँमा अहिले करेन्ट लागेर मृत्युका घटना बढेका छन्। मानिसले आफ्नै सुविधाका लागि बनाइएका साधनहरू अहिले उसकै विनासको कारण बनेका छन्।
यस्तै, दुइटा मात्र मिल रहेको मेरो गाउँमा अहिले १०-१० मिनटको फरकमा मिल खोलिएका छन्। हरेक मानिस आफ्नो नजिकको मिलबाट कुटानी पिसानी गर्छन्। दुई मात्र मिल हुँदा टाढा-टाढा आफ्नो पहिचानमा रहेका आफन्तहरूलाई कहिलेकाहीं मिलमा भेट्दा जुन किसिमको खुशी हुन्थ्यो, त्यो खुशी कसैको मुहारमा देखिँदैन। पाइलैपिच्छे खोलिएका मिलमा दिनरात देखिइरहने मानिस मात्र जम्मा हुन्छन्। उनीहरूबीच भलाकुसारी छ टाढाको कुरा, सन्चो-बिसन्चो पनि सोध्दैनन्।
एक मावि, दुई प्रावि र दुईवटा बोर्डिङ स्कुल रहेको मेरो गाउँमा अहिले पाइलैपिच्छे बोर्डिङ स्कुल खुलेका छन्। १-२ वटा मात्र स्कुल हुँदा गुणस्तरीय शिक्षाको सोधखोज नगर्ने मेरो गाउँका बासिन्दाहरू अहिले आफ्ना नानीहरूको उज्ज्वल भविष्यका लागि उत्कृष्टभन्दा उत्कृष्ट विद्यालय छनोट गर्छन्। यसलाई सकारात्मक परिवर्तन मान्नुपर्छ।
सबैभन्दा ठूलो परिवर्तन त मेरो गाउँमा तब भयो, जब ०७४ सालको निर्वाचन भयो। नवनिर्वाचित जनप्रतिनिधिहरूले भौतिक पूर्वाधार विकास गर्ने हेतुले गाउँमा भएका साँघुरा सडकहरू फराकिलो बनाउने सोच बनाए। सडक फराकिलो बनाउँदा बाटोछेउ रहेका र शीतल छहारी बनेका सबै रुख, बिरुवा काटिए। अब मेरो गाउँ नै उजाड भयो। हराभरा मेरो गाउँमा जताततै धुलोधुवाँ मात्र हुन थाल्यो। कालोपत्रे गर्छु भनी फराकिलो बनाइएका सडकको गति त्यस्तै छ। जब वैशाख-जेठमा हावाहुरी चल्छ, सडकको धुलो र धुवाँ घरभित्रै पस्छ।

अहिलेका स-साना नानी-बाबुहरूको पिठ्यूँमा ८-१० किलोको किताबको भारी हुन्छ। त्यसमाथि तराईको गर्मीमा उनीहरूलाई घर-विद्यालय-घर आउजाउ गर्न त्यसै पनि गाहो हुन्छ। कतिपय विद्यार्थीहरू त यस्तो गर्मीमा बाटोमै बेहोस हुन्छन्। गर्मी हुँदा बाटो छेउका रुखको छायामा एकछिन आराम गर्न सक्ने वातावरण अब रहेन।
अहिलेको वातावरण पनि उहिलेको जस्तो छैन। मौसममा गडबडी भइरहन्छ। गर्मीमा अति गर्मी त जाडोमा अति जाडो। अत्यधिक गर्मीले मृत्यु र जाडोमा कठ्यांग्रिएर मुत्युका समाचार सामान्य बन्न थालेका छन्। पहिले पंखाबिना सुत्न सकिने मेरो गाउँमा अब गर्मी छल्न मानिसले आफ्नो गच्छेअनुरसार पंखा, फ्रिज र एसीसम्मको व्यवस्था गरेका छन्।
त्यसैले मलाई छुट्याउन गाह्रो भएको छ, मलाई छुट्याउन गाह्रो भएको छ, मेरो गाउँमा विकास भयो या विनास? गाउँमा नयाँ संरचना थपिएको भन्दा पुराना संरचना मासिएको देख्दा म यसलार्ई विकासभन्दा विनास भन्न रुचाउँछु।