सिन्धुपाल्चोक– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गर्न मेलम्ची पुगेका छन्।
दाहाललाई मेलम्चीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत, बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री युवराज दुलाल, बागमती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेल, मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङलगायतले स्वागत गरेका थिए।
आयोजनाको स्थलगत अवलोकनपछि प्रधानमन्त्री दाहालले स्थानीय पदाधिकारीसँग पनि अन्तर्क्रिया गर्दै छन्।
१ असार २०७८ मा मेलम्ची खोलामा बाढी र पहिरो आउँदा खानेपानी आयोजनाको मुहानमा क्षति पुगेको थियो। वर्खा सकिएपछि मुहान क्षेत्र मर्मत गरेर आयोजना पुनः सञ्चालन गरिएको थियो।
काठमाडाैं उपत्यकामा विद्यमान खानेपानी अभावको दीगो एवं दीर्घकालीन रुपमा समाधान गर्ने र उपत्यकाका बासिन्दाको स्वास्थ्यस्थिति तथा जीवनस्तर सुधारमा योगदान पुर्याउने उद्देश्यले मेलम्ची खानेपानी आयोजना निर्माण गरिएको हो।
सिन्धुपाल्चोकको हेलम्बु गाविसअन्तर्गत मेलम्ची खोलाको रिवर्मामा मुहान (हेडवर्क) निर्माण गरी सुन्दरीजलसम्म २६ दशमलव ५ किलोमिटर लामो सुरुङ निर्माण गरेर पानी ल्याइएको छ। सुरुङको माध्यमबाट दैनिक १७ करोड लिटर पानी काठमाडाैं उपत्यकामा ल्याइने गरिएको छ।