फुटपाथमा आफ्नो सुरमा हिँड्दा
कुलमानको बिजुलीको बट्टामा
कतिखेर ठोक्किएर
निधारमा टुटुल्को आउँछ
थाहै हुन्न
हिँडनुपर्छ काठमाडौका
सडकमा खनिएका खानेपानी
बिजुलीका खाल्टाखुल्टीसँग
पौंठेजोरी खोज्दै
कतिखेर कुर्कुच्चा मर्किन्छ
कतिखेर ढाड सर्किन्छ
थाहै हुन्न
धारेहात आफैंलाई लाऊ
दोष अरूको होइन आफ्नै हो
लोभीपापी जनप्रतिनिधि छानेकोमा
खनेका छन् पुरेका छन्
फेरि खनेका छन्
फेरि पुरेका छन्
जबसम्म बजेट नामको
गुलियो बाँकी रहन्छ
यो खन्ने-पुर्ने चलिरहन्छ
काठमाडौंलाई असहज भएको छ
काठमाडौंवासी धुलोबाट बिरामी
भएका छन्
सास लिन गाह्रो छ
सफा भई हिँड्नै गाह्रो छ
काठमाडौं खाल्टो विश्वको
सबभन्दा खराब वातावरण भएको
शहरमा दरिइसक्यो
बर्खा आउँदै छ
कति सर्वसाधारण
कति सवारी साधन
खाल्टोमा जाकिने हुन्
बाटोमा चिप्लेर ढल्ने हुन्
त्यसको हिसाब छैन
कर कसेर लिन्छौं
सुविधा त देऊ न
थोरै खाऊ पुग्ने गरी
काम त गर न
होइन भने
यो खन्ने-पुर्ने हेर्दै
एक पुस्ता जाने भो
अर्को पुस्ताले पनि
यही बेथिति झेल्नु नपरोस्
नालायकहरूले चलाएको चक्रको
दुःख भोग्नु नपरोस्