गण्डकी- मखमलको चोली, छिटको गुन्यू, पटुकी, घलेक, टिकिस, पछ्यौरी, खुर्पेटोसहितको परम्परागत पोशाकमा चिटिक्क सजिएर पाहुनाको स्वागत गर्न लस्करै उभिन्छन्, सादीखोलाका मगर समुदायका युवती। उनीहरूलाई साथ दिन्छन्, भोटो, स्टकोट, कछाड, पेटी, भांग्रा, टोपी र खुर्पेटोमा सजिएका पुरुषहरूले।
विभिन्न स्थानमा आधुनिकताको नाममा परम्परागत संस्कार र संस्कृति हराइरहेका अवस्थामा स्याङ्जाको पुतलीबजार नगरपालिका-७ सादीखोलाका मगर समुदाय भने आफ्नो संस्कार र संस्कृति जोगाउँदै त्यसैबाट गाउँमा पर्यटकलाई आकर्षित गर्ने अभियानमा जुटेका छन्।
स्याङजा र तनहुँलाई छुट्याउने साँधका रूपमा खोला रहेका कारण प्राचीन कालदेखि नै सादीखोला गाउँका रूपमा स्थापित छ यो ठाउँ। यहाँ मगर समुदायको बाक्लो बसोबास छ। प्राचीन कालमा पश्चिम ३ नम्बरस्थित तनहुँ र पश्चिम ४ नम्बरको स्याङ्जा छुट्याउने खोलाका रूपमा पनि यसलाई लिइन्थ्यो। पुस्तौं अघिदेखि नैं आफ्ना जिजुबाजे यस गाउँमा आएर बसेको ८१ वर्षीय मनबहादुर थापा मगर बताउँछन्।
पछिल्ला वर्षमा गाउँ छाडेर शहर झर्ने समस्याबाट सादीखोला पनि अछुतो छैन। यहाँबाट पनि धेरै मानिस बसाइँ सरेर स्याङ्जा, पोखरालगायत विभिन्न स्थानमा पुगेका छन्। ‘पहिला यहाँ मगर समुदायका ५५-५६ घर थिए,’ मनबहादुरले भने, ‘बर्सेनि बसाइँ सर्दै जाने क्रम बढ्दा अहिले भने २७ घरमा मात्रै बसोबास छ।’
बस्तीमा घर घटे पनि मगर संस्कार र संस्कृतिलाई जीवन्त राख्नेगरी प्रयास भइरहेको छ। मगर गाउँको मौलिकता कायम राख्न परम्परागत पोशाकको प्रयोगसँगै मगर संस्कृतिमा आधारित सोरठी, नचरीजस्ता नृत्यलाई जीवित राखिएको छ। मगर समुदायमा विशेषतः झोरा, सोरठी, नचरी, सुनिमाया, यानिमाया, ठाडो भाका, झ्याउरे, सालैजो, कौह्रा आदि नृत्य प्रचलित छन्।
सादी खोलामा आउने पर्यटकलाई लक्षित गरी स्थानीय बासिन्दाले होमस्टे चलाएका छन्। होमस्टेमा आउने पर्यटकलाई सोरठी, नचरीजस्ता परम्परागत नृत्यले स्वागत गर्ने गरिएको सादी खोला टोल विकास संस्थाका संयोजक सुकबहादुर थापा मगरले बताए। ०७३ सालमा होमस्टे थालिएको यस गाउँमा अहिले १५ घरमा घरवास सञ्चालनमा छन्।
परम्परागत नृत्यका लागि पोशाक, मादल, झ्याली, झुर्मा आदि बाजा आवश्यक हुन्छन्। आर्थिक अभावका कारण ती वस्तुहरूको जोरजाम गर्न समस्या हुने गरेको उनले बताए। यहाँका सोरठी, नचरीजस्ता नृत्यहरू विभिन्न मेला महोत्सवमा स्याङ्जा तथा पोखरा लैजाने गरिन्छ।
‘परम्परागत संस्कार र संस्कृतिको जगेर्नाका लागि राज्यका तर्फबाट सहयोग आवश्यक छ,’ उनले भने, ‘हामी मगर समुदायको मौलिक संस्कृतिलाई पुस्तौंसम्म जीवन्त राख्न चाहन्छौं।’ कृषिजन्य उत्पादनमा पनि अब्बल सादीखोला सुन्तला र महको पकेट क्षेत्र हो। यहाँ उत्पादित सुन्तला स्याङ्जा र पोखराका बजारमा निकै माग हुने गरेको छ। यहाँका हरेक घरमा मौरीका घार छन्। सर्वसाधारणले मह बेचेर राम्रै आम्दानी गर्छन्। प्रतिकिलो एक हजार ५०० रुपैयाँमा मह बिक्री हुन्छ।
परम्परा जगेर्नाका लागि गाउँको तल रहेको झण्डै २ सय वर्ष पुरानो तोरी पेल्ने कोललाई संरक्षित गरिएको छ। गाउँको पुछारमा रहेको मिलेनियम गुफालाई गाउँको पर्यटनसँग जोड्ने लक्ष्यका साथ त्यहाँ पुग्ने गोरेटो बाटो निर्माण गरिएको छ। पर्यटकलाई लक्षित गरी गाउँ र मिलेनियम गुफाका बीचमा रहेको मिलन चौतारीमा खानेपानीको व्यवस्था गरिँदैछ।
तनहुँको दुलेगौंडाबाट स्याङ्जाको रामबाछा जोडिने सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक)मा पर्ने यस गाउँलाई पर्यटनसँग जोड्ने लक्ष्य रािखएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले बताए। ‘मिलेनियम ट्रेकमा आउने पर्यटकलाई यहाँको मौलिक मगर संस्कृतिको अनुभव लिन मिल्नेगरी हामी यसको प्रबर्द्धनमा लागेका छौं,’ उनले भने।
गाउँमा ठूलो संख्यामा पर्यटक आउने थाहा पाएसँगै परम्परागत नृत्य देखाउन तथा अवलोकन गर्न स्याङ्जा र पोखरालगायत स्थानमा बसाइँ सरेर गएकाहरू पनि फर्केर आउन थालेका छन्। यो गाउँ र आसपासको क्षेत्र चरा पर्यटनमा पनि उत्तिकै महत्त्वपूर्ण रहेको पोखरा पन्छी समाजका अध्यक्ष मनशान्त घिमिरे बताउँछन्। मिलेनियम ट्रेक क्षेत्रमा पाइने धेरै चराचुरुंगी यस क्षेत्रमा पाइन्छन्। पछिल्लो समयमा हराउँदै गरेको ठेउवा ठाउँ-ठाउँमा देखिएको उनले जानकारी दिए।