ढोरपाटन- रातोमाटो र सेतो कमिरोले पोतिएका घर। कतै ढुंगाले बान्की मिलाएर छाएको छानो त कतै सलक्क खरले छाइएका घर। ढुंगाकै गारो र काठले टमक्क मिलाइएका घरले गाउँको पहिचान दिलाउँथे।
अहिले त्यस्ता मौलिकता बोकेका घर बजारमा त छैनन् नै गाउँमा पनि कम भेटिन्छन्। अझ घरका झ्यालढोकामा कलात्मक शैलीमा बनाइएका आकृति तथा मूर्ति त भेटिनै छाडिसके।
प्रविधिको विकाससँगै मौलिक घर हराउँदै गएका छन्। तिनको ठाउँ आधुनिक घरले लिँदै छन्। बागलुङका अधिकांश गाउँमा ढुंगा, काठ र माटोका घर छन्। एक दशक अघिसम्म गाउँका धेरै घर खर छाइन्थे। अहिले खरले छाएका घर भेट्न मुस्किल पर्छ।
बागलुङका पालिकाहरूले पनि खरका घर विस्थापित गरी जस्तापाताका छानो हाल्ने नीति ल्याएपछि गाउँका मौलिक घर संकटमा परेका छन्। ढोरपाटन नगरपालिका-९ बोबाङमा दुई दशक अघिसम्म ढुंगाको पर्खाल र काठका फल्याकले छाएका घर मात्रै थिए। ती घर अब भेट्न सकिन्न। काठ र ढुंगाबाट बनेका घर विस्थापित बनेपछि विस्तारै ढुंगा र खरका घर बने। अहिले ती ढुंगा र काठका घर पनि विस्थापित हुँदै गएका छन्। अहिले बोबाङ गाउँ जस्तापाताले छाएका घरले ढाकिएको छ। जस्तापाताका घर बनाउन स्थानीयवासीलाई सहज भए पनि गाउँको सौन्दर्यमा भने प्रभाव पारिरहेको छ।
निसीखोलाको निसी गाउँ, तमानखोलाको तमान गाउँ, बोंगादोभान तथा जिल्लाका अधिकांश गाउँमा अहिले धमाधम जस्तापातले छाइएका घर निर्माण भएका छन्। पहिले टाढैबाट चिटिक्क देखिने खर र ढुंगाले छाएका घर अहिले जस्तापाता तथा कंक्रिटबाट बनेका घरमा परिणत भइरहेका छन्।
मौलिक ढुंगे तथा खरका घर बनाउन बढी झण्झटिलो र खर्चिलो हुनाले पछिल्लो समय स्थानीयवासीले जस्तापाताका घर बनाउन थालेको ढोरपाटन-८ बोबाङका कुशल विश्वकर्माले बताए। १५-२० वर्ष अगाडिको तुलनामा अहिले घरको बनावट तथा निर्माण गर्ने शैलीमा निकै परिवर्तन आएको उनले बताए।
‘अहिले गाउँ र बजारका घरमा धेरै फरक पाइँदैन, गाउँमा पनि बजारकै शैलीमा घर बन्न थाले। सबै आधुनिकतासँग जोडिएका छन्, मौलिकता बोकेका घर विस्तारै हराउँदै गए,’ उनले भने, ‘मान्छे विदेश तथा शहर बजार जान थाले। उतैका जस्तै घर गाउँमा बनाउन थाले।
उनका अनुसार अलि हुने खानेले गाउँमा पनि सिमेन्टकै ठूला घर बनाउन थाले। त्यसबाट गाउँ नै आधुनिकीकण भयो, मौलिक संस्कृति र परम्परा हराउन थाले। अब पालिकाहरूले गाउँका सबै घर मौलिकतासँग जोडेर बनाउनुपर्ने नीति ल्याउनुपर्ने उनको सुझाव छ।
अहिले बन्ने घरले गाउँको स्वरुप नै बदलिदिएको निसीखोलाका ७९ वर्षीय तीर्थबहादुर पुनले बताए। उनका अनुसार पहिले गाउँमा बन्ने घर सबै एकै खाले हुन्थे। अहिले भने घरका रंग र आकार फरक-फरक छन्। मौलिक कला संस्कृतिमा बजारभन्दा गाउँ निकै अब्बल रहेको तर बजारको नक्कल गरी घर निर्माण हुन थालेको उनी बताउँछन्। संस्कृति संरक्षणका लागि घर नयाँ बनाए पनि पुरानै शैलीमा नवीन प्रविधि अपनाउनुपर्ने उनी सुझाउँछन्।
‘अहिले बनिरहेका घर स्वास्थ्यका लागि फाइदाजनक छैनन्। सिमेन्ट बालुवाले बनेका छन्, टिनले छाएका छन्। हिउँदमा चिसोले मान्छेलाई रोगी बनाउँछ,’ पुन भन्छन्, ‘पहिले-पहिलेका घर सबै मौसमका लागि उपयुक्त हुन्थे- हिउँदमा न्यानो र गर्मीमा शीतल।
गाउँका पुराना घर संरक्षण गरिराख्न सके केही वर्षपछि पर्यटकीय आकर्षणको केन्द्र बन्न सक्ने पुन बताउँछन्। बनाउन धेरै समय लाग्ने, आगलागीको जोखिम हुने र अहिले कसैले पनि वनमा गएर खर काटेर ल्याउन झण्झट मान्ने हुँदा जस्तापाताले छाएका घर बढ्दै गएको उनी बताउँछन्। बागलुङका धेरै पालिकाले खरको छानोमुक्त गाउँ अभियानलाई तीव्रता दिएका छन्। तमानखोला गाउँपालिकाले भने मौलिक घर संरक्षण गर्न थालेको छ। सो गाउँपालिकाले पुराना मौलिक घरको संरक्षण गरी नयाँ बन्ने घर पनि पुरानै शैलीमा निर्माण गर्ने नीति बनाएको छ।
गाउँपालिकाले सबै घरलाई एउटै रंग, शैली र आकार प्रकारको बनाउनमा जोड दिएको पालिका अध्यक्ष जोकलाल बुढा मगरले बताए। गाउँमा अब कसैले पनि कंक्रिटका भवन बनाउन नपाउने उनको भनाइ छ। आधुनिक प्रविधिको बढ्दो विकास र प्रयोगले ग्रामीण जीवनशैली, यहाँको संस्कार संस्कृति, सौन्दर्य र गाउँको वास्तविक महत्त्व हराउँदै गएपछि गाउँपालिकाले घरलाई पुरानै स्वरुपमा संरक्षण गर्न थालेको उनी बताउँछन्।
‘गाउँमा गाउँकै स्रोत र साधनको प्रयोग गरी घर बनाउनुपर्छ। यहाँ यति धेरै स्रोत साधन छन् तर हामीले आयातित सामानको प्रयोग गरेर घर, भवन बनाइरहेका छौं,’ उनी भन्छन्, ‘गाउँमा पनि सिमेन्टका ठूल-ठूला घर, भवन बन्न थाले। यसलाई रोक्न गाउँपालिकाले स्थानीय स्तरमा भएका स्रोत साधनलाई प्रयोग गरेर मौलिक घर बनाउने योजना बनाएका छौं।’