जापानमा त्यसमा पनि शिकोकु तीर्थयात्रामा तीर्थयात्रीहरूले नेपालको दौरा सुरुवाल जस्तै “हाकुई” लगाएर एक लठ्ठी, पानी बोक्ने भाँडो, झोला, छतरी टाइपको टोपी लगाए पछि विदेशी होस् या स्वदेशी, सबै तीर्थयात्री हुन्छन् ।
लुम्बिनी भगवान् बुद्धको जन्मभूमि हो। संसारभर नै लुम्बिनीसँग तुलना गर्ने अन्य ठाउँ छैनन्। जब कि, संसारभरि डेढ अर्बभन्दा बढी बौद्ध धर्मावलम्बी छन्। यस्तै, डेढ अर्ब हिन्दू धर्मालम्बीहरूले पनि बुद्धलाई भगवान्कै रूपमा मान्ने गर्छन्। यसरी करिव ३ अर्ब मानिसले बुद्धलाई मान्छन्। अन्य धर्ममा विश्वास गर्ने व्यक्तिहरू पनि बुद्ध जन्मेको ठाउँ लुम्बिनी कस्तो रहेछ, एकपटक जान पाए भन्ने सोचमा हुन्छन्।
लुम्बिनीमा जन्मेका गौतम बुद्धलाई हामी शाक्यमुनि बुद्ध भन्छौं। त्यसअघिका दुई बुद्ध कनकमुनि बुद्ध र क्रकुच्छन्द बुद्ध पनि नेपालकै कपिलवस्तुमा जन्मेका हुन्। यही कारणले नेपाल बुद्ध भूमि हो। सोही कारण विश्वमा लुम्बिनी जान पाए हुन्थ्यो भन्ने सोच राख्ने मानिसहरू थुप्रै छन्। भगवान् बुद्धसँगै जोडिएका अन्य १६० वटा ऐतिहासिक र पुरातात्त्विक धार्मिक स्थलहरू पनि लुम्बिनी वरपर छन्।
ती १६० ऐतिहासिक स्थलमध्ये प्रमुख कनकमुनि र क्रकुच्छन्द बुद्धका जन्मभूमि तथा सिद्धार्थ गौतमले २९ वर्ष बिताए स्थल हुन्। त्यसपछि कुदान स्तुपा हो, जहाँ भगवान् बुद्धले बुद्धत्व प्राप्त गरिसकेपछि उनका बुवा राजा शुद्धोधन र छोरा राहुल पहिलोपटक भेट्न आएको स्थान हो। जुन आफैंमा महत्त्वपूर्ण छ।
गौतम बुद्धको निधनपछि उनको अस्तुलाई आठवटा भागमा विभाजन गरिएको थियो। र, तिनलाई आठवटा स्तुपामा राखिएको थियो। पछि अन्य देशका मानिसहरूले पनि बुद्धको अस्तुलाई हामीले पनि पाउन पाए हुन्थ्यो भनेपछि ती सबैलाई उत्खनन् गरियो र हजारौं भाग लगाएर बाँडियो। तर, रामग्राममा भएको स्तुपा उत्खनन् गर्न लाग्दा त्यतिबेला सर्पहरूले संरक्षित गरेर राखेका कारण उत्खनन् गर्न सकिएन। त्यो स्तुपा अहिले माटोको ढिस्कोजस्तो देखिन्छ। तर, त्यो स्तुपा अहिलेसम्म कसैले उत्खनन नै नगरेको स्तुपा हो।
यो कुरा धेरै बौद्धमार्गीहरूले नै थाहा पाएका छैनन्। यी ठाउँहरूलाई विकास गरियो भने लुम्बिनीको महत्त्व अझ बढ्ने छ। अहिले लुम्बिनी घुम्न आउने मानिस पनि १०-१५ मिनटमा बुद्ध जन्मेको ठाउँ हेर्छन् र फर्केर जान्छन्। त्यसैले उनीहरूको बसाइ केही मिनट या घण्टामा सीमित नराखी १-२ दिन बिताउन सक्ने बनाउन अत्यावश्यक छ। त्यसका लागि यी ८-९ ठाउँलाई विकास गर्न आवश्यक देखिन्छ। तथापि, ती स्थलसम्म पुग्ने सडक तयार पार्नुपर्यो। चिया नास्ता गर्ने होटेलको विकास गर्नुपर्यो, कसरी ट्राभल गर्ने जानकारी दिनुपर्यो र स्थानीय उत्पादनको प्रबर्द्धन गर्नुपर्यो।
यो सबै पाटोको एकीकृत रूपमा विकास हुनेगरी शुरुमा जापानी पुरातत्त्वविद प्राध्यापक केन्जो टाँगेले गुरुयोजना निर्माण गरेका थिए। त्यो गुरुयोजना सन् १९९५ मै पूरा भइसक्नुपर्ने थियो। तर, अहिलेसम्म ८० प्रतिशत पनि पूरा हुन सकेको छैन। ३० वर्ष बितिसक्दा पनि गुरुयोजनामा ८० प्रतिशत प्रगति नहुँदा बाँकी २० प्रतिशत सक्न कति वर्ष लाग्छ भन्ने अन्योल छ।
यो गुरुयोजना चाँडै सकियो भने संसारकै आकर्षक गन्तव्य लुम्बिनी हुन सक्छ। त्यसपछि मात्र लुम्बिनी आएका पर्यटकलाई एक दिन होइन २-३ त्यतै बिताउने वातावरण सिर्जना हुन सक्छ। र, त्यसबाट नेपालको पर्यटनले ठूलो फड्को मार्न सक्छ।
सबैभन्दा महत्त्वपूर्ण पक्ष भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइसकेको छ। अब जापानबाट पर्यटक सीधै भैरहवा आउन सक्छन्। अन्य मुलुकका बौद्धमार्गी पनि सीधा भैरहवा उत्रेर बुद्ध जन्मस्थल र क्रिडास्थलको फेरो मार्न सक्छन्। पर्यटकहरू सीधै भैरहवामा उत्रिँदा नेपालमा पर्यटकको संख्या कति होला ? त्यसबाट भित्रिने विदेशी मुद्रा कत्रो परिमाणमा होला ? दुर्भाग्य, हाम्रो देशको योजना निर्माणको तहमा बस्ने मानिसहरूले विमानस्थल त बनाए तर त्यसलाई आवश्यकरुट परमिट या अन्तर्राष्ट्रिय एयरलाइन्सहरूसँग समन्वय गर्दै गरेनन्।
त्यसैले हो, त्यति धेरै खर्च भएर निर्मित विमानस्थलमा साताको दुई दिन मात्र अन्तर्राष्ट्रिय उडान भइरहेको छ। जब कि, पूर्ण क्षमतामा भैरहवा विमानस्थल सञ्चालनमा आउँदा मात्र लुम्बिनीको सांस्कृतिक, पुरातात्त्विक महत्त्वबाट देश र देशवासीले लाभ उठाउन सक्ने छन्। यसको पहलकदमी पर्यटन मन्त्रालय, पर्यटन बोर्डजस्ता सरकारी एवं नाटाजस्तै निजी क्षेत्रका संस्था-संगठनहरूले लिनै पर्छ।
पर्यटकीय सञ्जालको कुरा गर्दा चारवटा महत्त्वपूर्ण साइट ‘लुम्बिनी’ जहाँ बुद्ध जम्मे, ‘बोधगया’ जहाँ बुद्धले ज्ञान प्राप्त गरे, ‘सारनाथ’ जहाँ बुद्धले पहिलोपटक ज्ञान बाँडे, ‘कुशीनगर’ जहाँ बुद्धको महापरिनिर्वाण भयो। यी चार प्रमुख गन्तव्य हुन्। त्यसका साथसाथै नेपाल र भारतमा मात्र नभई श्रीलंका, बंगलादेश, पाकिस्तान, अफगानिस्तानसम्म पनि बौद्धमार्गीहरू जान सक्छन्। यी देश त दक्षिण एसियाका मात्र भए, त्यहाँभन्दा पर जाने हो भने थाइल्यान्ड, कोरिया, जापान, चीनमा पनि भिजिट गर्न सकिन्छ।
जापानमा सिकोकु भन्ने बुद्धिस्ट सर्किट छ। मैले पीएचडीपछिको पहिलो अध्ययन गर्दैगर्दा सिकोकु र लुम्बिनीको तुलना गरेको थिएँ। सिकोकुमा ८८ वटा बौद्ध मन्दिर छन्, जसलाई कोबोदाइसी नामक भिक्षुले सातौं शताब्दीमा विकास गरेका थिए। १-२ को गिन्तीका आधारमा ती बौद्ध मन्दिरको नामाकरण गरिएको छ। जसको आफ्नो छुट्टै नाम पनि छ। पहिलो मन्दिरबाट हिँड्न शुरु गरेर ८८ वटै मन्दिरसम्म पुग्दा पैदल २ महिना लाग्ने गर्छ।
अहिले त प्राविधिक सुविधाका कारण निजी कार, मोटरसाइकल, मिल्नेमिल्ने ठाउँमा साइकलमा पनि पुग्न सकिन्छ। ८८ वटा मन्दिरको परिक्रमा पूरा गरिसकेपछि जापानको कोयासन भन्ने छ। जसरी हिन्दू धर्ममा चार धाम गएर अन्तिममा पशुपति जानुपर्छ भन्ने छ, जापानमा पनि ८८ वटा मन्दिर पुगिसकेपछि कोयासन जानुपर्छ भन्ने विश्वास छ। कोयासन जानुपरे थप एक महिना लाग्छ। जापानमा पर्यटनको यति राम्रो विकास गरेका छन्। जो तीर्थयात्रामा जान्छन्, उनीहरूको लागि एकै प्रकारको ड्रेस बनाइदिएको छ। नेपालको दौरा-सुरुवालजस्तै बौद्ध दर्शनको त्यो ड्रेसमा धेरै कुरा लेखिएका छन्।
त्यहाँ जाँदा तीर्थयात्रीहरूलाई एक लठ्ठी, पानी बोक्ने भाँडो, झोला, छतरी टाइपको टोपी दिइन्छ। त्यो लगाएपछि विदेशी होस् या स्वदेशी, सबै तीर्थयात्री हुन्छन्। तीर्थयात्रीहरूलाई त्यहाँका बासिन्दाले निकै राम्रो स्वागत, सत्कार गर्छन्। आफूकहाँ आएर बसिदेओस्, चिया, कफी, फलफूल खाइदेओस् भन्ने चाहन्छन्। अथवा सानो रुमाल दिएर होस् कि, पैसा दिएर हुन्छ स्वागत गर्छन्।
आफू ती तीर्थस्थलमा जान नसके पनि आफूले गरेको दानबाटै तीर्थयात्राको पुण्य प्राप्त हुने त्यहाँको जनविश्वास छ। अन्तिम मन्दिरसम्मको परिक्रमाको अभिलेख राख्ने गरिन्छ। जापानको पर्यटन कति व्यवस्थित छ भन्ने यसबाट छर्लंग हुन्छ।
त्यहाँको जस्तै व्यवस्था नेपालको लुम्बिनीमा पनि लागू गर्न सक्यौं र लुम्बिनी वरिपरिका ८-९ ठाउँमा भिजिट गर्नेगरी विकास गर्न सकेमा पर्यटनमा फड्को मार्न सकिन्थ्यो। पर्यटकले बस्ने अवधि बढाएमा खर्च पनि धेरै गर्छन्। यहाँ बस्दा स्थानीय खान खाने, स्थानीय सामग्री किन्ने, बस्ने गर्दा रोजगारी पाउनेदेखि लिएर धेरै कुराबाट फाइदा लिन सक्छौं।
जापानको सिकोकुमा बौद्ध पहिरनमा सजिएका अन्य धर्मावलम्बीहरूले परिक्रमा गरिरहेको भेटिन्छन्। आस्था इसाई धर्ममा छ तर विश्वास बौद्धमा। उनीहरू २-३ महिना लगाएर ८८ वटै मन्दिर पुग्छन्। जसरी हामी मनोकामना पूरा होस् भनी मनकामना मन्दिर जान्छौं, त्यसरी नै इसाईहरू पनि जापानको सिकोकु पुगेर आफूलगायत आफ्नो सम्पुर्ण परिवारको सु-स्वास्थ्य, जागिर राम्रो पाउँ र व्यापार राम्रो होस् भन्ने मनोकामना राखेर पूरा हुने विश्वासमा त्यहाँ पुग्छन्।
लुम्बिनी आउने पर्यटकले पनि केही न केही मनोकामना लिएर आएका हुन्छन्। तर, अहिले पर्यटकहरू २ घण्टाको लागि मात्र लुम्बिनी घुम्न आएका हुन्छन्। बुद्ध जन्मेको ठाउँ हेर्ने र अशोक स्तम्भ वरिपरि टिकटक बनायो, फर्कियो। अरू के छ र लुम्बिनीमा हेर्नलायक भन्ने गर्छन्। लुम्बिनी भनेको एकदमै आस्थाको केन्द्र हो। त्यसकारण हरेक पर्यटकले म किन जाँदै छु लुम्बिनी, के पाउँछु त्यहाँ जाँदा भन्ने कुरा बुझेर नै आएका हुन्छन्। तर, पर्यटकले सोचेअनुरुप अझै हामीले लुम्बिनीको विकास गर्न सकेका छैनौं।
पर्यटक आकर्षित गर्न स्थानीय सामग्रीहरूको उत्पादनमा जोड दिन सक्यौं भने पनि त्यसबाट लाभ लिन सक्छौं। बुद्धलाई पहिलोपटक नुहाइएको पोखरीको पानी स-साना आकर्षक भाँडामा राखेर लुम्बिनी घुम्न आउने पर्यटकलाई दियौं भने उनीहरूले किनेर लैजान्छन्। पीपलको पात सबै भुईंमा कुहिएर खेर गएको छ। तिनलाई पनि आकर्षण तरिकाले सजाएर राख्यौं भने पनि आएका पर्यटकले बुद्ध जन्मेको ठाउँको पीपलको पात भनेर किनेर लैजान्छन्। यस्तै, स्थानीय बासिन्दाले तयार पारेका हस्तकलाका सामग्रीहरू पनि पर्यटकको रोजाइमा पर्छन्।
यस्तो गर्दै गएमा स्थानीयवासीमा पनि लुम्बिनी प्रति आत्मीयता बढ्छ। लुम्बिनीको विकास, संरक्षण र प्रबर्द्धधन गर्नुपर्छ भन्ने सोच आउँछ। त्यसका लागि पर्यटन क्षेत्रमा काम गर्ने निकायहरूले आ-आफ््नो तर्फबाट काम गर्न निकै आवश्यक देखिन्छ।
यहाँनेर बिर्सन नहुने पाटो भारतले आफूकहाँ प्रबर्द्धन गरिरहेका बुद्धस्थलहरू हुन्। बुद्धिस्ट टुरिजम भन्नेबित्तिकै भारतले मेजर सेयर त पाइरहेकै छ। चारवटा मध्य तीनवटा बुद्धस्थल भारतमा पर्छ। तीमध्ये अन्य ऐतिहासिक तत्व जुन बुद्धसँग जोडिएका छन्, ती पनि भारतमा पर्छन्। वैशालीदेखि लिएर अन्य ठाउँमा पनि बुद्धले बिताएका ठाउँहरू छन् भारतमा। ती ठाउँहरू भारतमा रहेकाले बुद्धिस्ट वर्ल्डबाट आएका पर्यटकहरू आफ्नै भूमिमा विचरण गरुन् भन्ने भारत चाहन्छ।
सात दिनका लागि घुम्न आएका पर्यटकलाई ६, साढे ६ दिनसम्म भारतमै बस्न लगाउँछ। बचेको एक-आधा दिन पनि ब्रेक फास्ट भारतमै खुवाउँछ र प्याकेट लन्च ल्याएर लुम्बिनी ल्याउँछ। फोहोरहरू नेपालमै फाल्छ र बेलुका पर्यटकलाई भारत नै लैजान्छ।
नेपाल सरकारले पर्यटकहरू भारतबाट नेपाल छिर्दै गर्दा २४ घण्टाको भिसा दिएको छ भने कमसे कम एक रात नेपालमै बिताउनुपर्ने हो। एक रातको बस्नका लागि अहिलेको अवस्थामा अनिवार्य गर्न सकिँदैन। तर, हामीसँग आकर्षक प्याकेज हुने हो भने २-३ घण्टा घुम्न आएका पर्यटकलाई भने १-२ दिननै बस्ने गरी रोक्न सक्छौं।
लुम्बिनी घुम्न आएमा पर्यटकलाई लुम्बिनीमा यस्ता-यस्ता ठाउँ छन्, १-२ दिन बस्न सके बिहानको प्रार्थनामा जानूसु, दुई घण्टा ध्यान गर्नूस्, बुद्ध जन्मेको ठाउँमा जानूस्, लुम्बिनीका सबै मन्दिर पुग्नूस्, बुद्धसँग जोडिएका अन्य मन्दिर रामग्राम र अन्य मन्दिरमा यसरी जाने, यो सुविधा छ, बस्नेखाने व्यवस्था छ, टुरिस्ट गाइडको व्यवस्था छ भनेर पर्यटकलाई सम्झाउन सकेमा आधा दिनको सट्टा १-२ दिन राख्न सकिन्छ। यसका लागि भारतलाई नै गाली गर्नु पर्दैन। बरु भारतसँग सहकार्य गरेर पाँच दिनका लागि घुम्न आएको पर्यटकलाई साढे तीन दिन भारतमा राख र एक वा डेढ दिन नेपाल आउन देऊ ताकि पर्यटकहरूले नेपाल पनि त्यसरी नै घुम्न सकून् भन्न सक्नुपर्छ।
किनकि, बुद्धको जन्मभूमि मात्र जाऊँ भन्ने एकथरि पर्यटक हुन्छन् भने अर्काथरिले जन्मभूमिलगायत अन्य भागमा पनि जाने चाहना राख्छन्। दोस्रो प्रकारका पर्यटक बढी हुन्छन्। भारतले नक्कली लुम्बिनी बनाउन सके सबै पर्यटकलाई उतै रोक्न सकिन्छ भन्ने सोच बनाइरहेको छ। तर, सम्भव छैन। बुद्ध जन्मेको लुम्बिनी हो भन्ने कुरा संसारभरलाई थाहा छ। लुम्बिनीका रेप्लिकाहरूको निर्माण आश्चर्य भएन।
त्यसकारण हामीले भारतसँग सहकार्य गरेर जोइन्ट ट्राभल प्लान बनाउनुपर्छ। लुम्बिनी आएका पर्यटकलाई काठमाडौंसम्म पनि ल्याउन सकिन्छ। काठमाडौंमा पनि बुद्धसँग जोडिएका महत्त्वपूर्ण ठाउँहरू छन्- स्वयम्भू, महाबौद्ध चैत्य, नमोबुद्ध आदि। घुम्न आउँदा ट्राभल प्याकेजमा काठमाडौंमा रहेका बुद्धका मन्दिर घुम्न आवश्यक छ भन्नुपर्छ।
काठमाडौंका यी बौद्ध मन्दिरहरूमा बुद्ध भने आएका होइनन्। यिनीहरूलाई पछि निर्माण गरिएको हो। अर्को महत्त्वपूर्ण ठाउँ भनेको मुक्तिनाथ हो। जो हिन्दू र बौद्धमार्गीको साझा आस्थाको केन्द्र हो। त्यहाँ पुजारी र बौद्ध भिक्षुणी दुवै पूजा गर्ने गर्छन्। लुम्बिनीमा घुम्न आएका पर्यटकलाई मुक्तिनाथसम्म जाने वातावरण पनि सिर्जना गर्न सक्छौं। यसो गर्दा पर्यटकले नेपालमा बस्ने दिन लम्ब्याउँछ।
लुम्बिनीदेखि मुक्तिनाथसम्म जाँदा तराईको संस्कृति र पोखरा हुँदै जाँदा मध्य पहाडको बनावट, वातावरणसँगै संस्कृति पनि देख्न सकिन्छ। त्यस क्षेत्रमा बन्जी जम्प, साइक्लिङलगायत अन्य धेरै साहसिक खेलको मनोरञ्जन लिन सकिन्छ। त्यसपछि मुक्तिनाथ पुग्दासम्म पर्यटकले नेपालको तराई, पहाड र हिमाल तीनवटै भौगोलिक बनावटको बारेमा र अलग-अलग संस्कृतिको बारेमा पनि जान्ने अवसर पाउँछन्।
तर विडम्बना, अहिले भैरहवा एयरपोर्ट तयार भए पनि अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन। यसरी अर्बौं खर्चे बनाइएको विमानस्थल त्यत्तिकै थन्किन पुग्दा नेपाललाई कति धेरै घाटा भइरहेको छ। विमानस्थल बन्दै गर्दा सरकारले अन्तर्राष्ट्रिय एयरलाइन्सहरूसँग समन्वय गरेर नियमित उडानको व्यवस्था मिलाइसक्नुपर्ने थियो। त्यतिबेलै प्राविधिक पाटोमा पनि सहजता ल्याइसक्नुपर्ने थियो। पछिल्ला दिनमा त्यसका लागि केही प्रयास भएका छन्। अझै धेरै गर्न बाँकी छ।