सप्तरी- कुनै बेला साहु महाजनको खेतबारीमा मजदुरी गरी परिवार पाल्दै आएकी सप्तरीको बोदे बर्साइन नगरपालिका-७ हैठीकी कलमतदेवी सदाको पहिचान फेरिएको छ। दुई छाक टार्नै मुश्किल जिन्दगीबाट उनले त्राण पाएकी छन्।
पुँजी अभावमा आर्थिक उन्नति गर्ने सोचसम्म नभएकी सदा अहिले किराना व्यापार गरेर राम्रो आम्दानी गर्छिन्। गाउँको साहुकोमा हरवाचरवाको काम गरी जीविकोपार्जन गर्दै आएकी सदाको परिवारमा केही वर्ष अघिसम्म दुःखको पहाड थियो। तर, ऋण लिएर गाउँमै किराना पसल खोलेपछि दुःख विस्तारै दूर भएको छ।
‘केही नगरी जीवनस्तर उकास्न सकिन्न भन्ने बुझेर दुई वर्षअघि न्यून पुँजीमा किराना पसल सञ्चालन गरें, अहिले जीवनमा ठूलो परिवर्तन आएको छ,’ उनी भन्छिन्। व्यापार गर्ने इच्छा भए पनि पुँजी अभावका कारण त्यसले मूर्तता पाउन सकेको थिएन। तर, ०७८ सालमा द फ्रिडम फन्डको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रले सञ्चालन गरेको हरवाचरवा सशक्तीकरण अभियान कार्यक्रमअन्तर्गत गठित दिनाराम दिनाभद्री बचत तथा ऋण समूहबाट ऋण लिएर व्यापार शुरु गरेपछि आफ्नो सपना साकार भएको उनको कथन छ।
कलमतदेवीले पसल चलाउन थालेपछि अहिले उनका श्रीमान् विहारी सदाले पनि उनलाई सघाइरहेका छन्। ‘म पसल चलाउँछु, श्रीमानले नजिकैको बोदे बर्साइन बजार र मानराजबाट पसलका लागि चाहिने सामान ल्याइदिनुहुन्छ,’ उनी भन्छिन्, ‘अहिले दुवै मिलेर पसल चलाइरहेका छौं।’ पसलबाट दैनिक एक हजारदेखि एक हजार ५०० सम्म आम्दानी भइरहेको छ।
‘पहिला गाउँको साहु महाजनकहाँ मजदुरी गर्दै आएको थिएँ,’ उनका श्रीमान् विहारी सदा भन्छन्, ‘केही वर्षदेखि मजदुरी छाडेर किराना पसलमा श्रीमतीलाई सघाउँदै आएको छु।’ अरूको मजदुरी गर्नुभन्दा आफ्नै व्यापार गरेर राम्रो आम्दानी गर्न पाएकोमा असाध्यै खुशी छन् उनी।
यस्तै, सप्तरीको शम्भुनाथ नगरपालिका-१० जमुवाकी लक्ष्मीकुमारी रामले पनि गाउँमा किराना पसल चलाएर राम्रो आम्दानी गर्दै आएकी छन्। सामान्य लेखपढ गर्नसमेत नजानेकी लक्ष्मीलाई बिहान हुनेबित्तिकै कतिबेला पसल खोल्ने, कहाँबाट सामान ल्याउने र बिक्री गर्ने भन्नेमा हतारो हुन्छ।
दुई वर्ष अघिसम्म पुँजी अभावमा आयआर्जनको कुनै काम गर्न नसकेकी उनी अहिले भने गाउँ नजिकै किराना पसल सञ्चालन गरी राम्रो आम्दानी गर्दै आएकी छन्। आयआर्जनको गतिलो आधारसँगै लक्ष्मीको जीवनमा परिवर्तन मात्र होइन, परिवारको पहिचानसमेत फेरिएको छ।
आयआर्जनको ठोस आधार नपाउँदा केही वर्ष अघिसम्म गाउँकै साहु महाजनकहाँ बनिबुतो गर्दै आएको अतित सम्झिँदै लक्ष्मी भन्छिन्, ‘पहिले हरवाचरवाको रूपमा ज्याला मजदुरीमा सधैं काम गरेर जीविकोपार्जन गरिरहेकी थिएँ। बालबच्चालाई पालनपोषण गर्न धौ-धौ हुन्थ्यो।’
‘दिनभरि ज्याला मजदुरीमा काम गर्दा मात्र थोरै मात्र ज्याल पाउँथें। परिवार चलाउन समस्या हुन्थ्यो,’ लक्ष्मी भन्छिन्, ‘तर, अब मेरो त्यो दुःखको दिन कटेको छ।’ अहिले तरकारी व्यापार गरेरै पाँचजना परिवारको गुजारा चलाउँदै आएकी छन् उनी।
विपन्नता र चेतना अभावमा साहु महाजनकहाँ श्रम गर्दै आएकी लक्ष्मीकुमारी, कलमतको जीवनमा आएको यो परिवर्तन हरवा सशक्तीकरण कार्यक्रमबाट आएको हो। ‘शुरु शुरुमा म धेरै लजाउँथें, के गरौं नगरौं भन्ने थाहै थिएन। सधैं मजदुरी गरेर जेनतेन परिवार मात्रै पाल्थें,’ लक्ष्मी भन्छिन्, ‘तर, जब श्रीपुर्राज सामुदायिक विकास केन्द्रले गाउँमै हरवाचरवा परिवारलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरे, तबदेखि हाम्रो जीवनमा परिवर्तन आयो।’
कलमतदेवी आबद्ध दिनाराम दिनाभद्री बचत तथा ऋण समूहमा ३० जना सदस्य छन्। हरेकले मासिक एक सयका दरले बचत गर्छन्। समूहका अध्यक्ष अधिकलाल सदाका अनुसार सदस्यको मासिक बचत रकम २४ हजार रुपैयाँभन्दा बढी पुगेको छ। बचत भएको रकम समूहकै सदस्यमा ऋण लगानी गरिएको छ।