काठमाडौं– एसिया कप क्रिकेट हुने कि नहुने भन्ने अन्योलता लगभग हटेकाे छ। एसियन क्रिकेट काउन्सिलले पाकिस्तानी क्रिकेट बोर्डले प्रस्ताव गरेको ‘हाइब्रिड मोडल’ लाई स्वीकृत गर्ने भएसँगै एसिया कप पाकिस्तान र श्रीलङ्कामा हुने टुंगो लागेकाे हाे।
क्रिकइन्फोकाअनुसार प्रतियोगिताका १३ मध्ये ४ वा ५ खेलहरू मात्र पाकिस्तानमा र बाँकी सबै खेलहरू श्रीलङ्कामा आयोजना हुने बताइएकाे छ।
क्रिकइन्फोले बताएअनुसार १ देखि १७ सेप्टेम्बरभित्र आयोजना हुने एसिया कप प्रतियोगिता कुन-कुन देशमा हुने भन्ने आधिकारिक घोषणा एसीसीले यो सातापछि गर्ने छ।
पहिलो पटक एसिया कपमा पुगेकाे नेपालले समूह चरणमा भारत र पाकिस्तानसँग भिड्दै छ। अर्को समूहमा श्रीलङ्का, बंगलादेश र अफगानिस्तान रहेका छन्। दुवै समूहबाट दुई/दुई टोली सुपर फोरमा जानेछन् र सुपर फोरबाट टप २ टिम फाइनलमा प्रवेश गर्नेछन्।
भारतले पाकिस्तानमा हुने प्रतियोगितामा आफ्नो टिम नपठाउने अडान लिएपछि प्रतियोगिता नै अन्योलमा परेको थियो। भारतले सबै खेल श्रीलङ्कामा खेल्नेछ।