काठमाडौं– नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले योग्य, जुझारु र गतिशील नेता, कार्यकर्तालाई उचित जिम्मेवारी दिन प्रतिबद्ध रहेको बताएका छन्।
शनिवार नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्य समितिले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पार्टीका नेता, कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न निर्देशन समेत दिएका छन्।
देउवाले गठबन्धन बनाएर चुनाव लडेका कारण मात्रै नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्न पुगेको भन्दै सबै नेता, कार्यकर्तालाई एकताबद्ध हुन आग्रह गरे
सभापति देउवाले प्रजातन्त्रमाथि फेरी संकट आउन नदिने गरी काँग्रेसलाई बलियो बनाउनुपर्ने बताउँदै देशभर संगठन निर्माणको अभियान सञ्चालन गर्न पनि पार्टी पङ्क्तिलाई आह्वान गरे।
उनले भने, ‘हाम्रो पार्टी ऐतिहासिक पार्टी छ। २००७ सालदेखि लड्दै आएको पार्टी हो । यो पार्टी ग्रासरुट, गाउँसम्म, वडासम्म, टोलसम्म पुर्याएर यो पार्टी मात्रै प्रजातन्त्रलाई अझ बलियो बनाउने यो पार्टी जति बलियो हुन्छ, जति समक्ष हुन्छ, त्यति नै मात्रामा देशमा प्रजातन्त्र सुदृढ भएर जान्छ। त्यसपछि मात्रै नेपालमा फेरी प्रजातन्त्रमा संकट आउँदैन। प्रजातन्त्र स्थायी भएर जान्छ।’