काठमाडौं- सन् २०२२ को नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणको नतिजा हेरौं। स्वास्थ्य सेवा विभागको पोषण शाखाका अनुसार ६ देखि २३ महिनाबीचका ६६ प्रतिशत बालबालिकामा रक्तअल्पताको समस्या देखिएको छ।
शाखा प्रमुख लीलाबिक्रम थापाका अनुसार ५ वर्षमुनिका ४५ प्रतिशत बालबालिकामा रक्तअल्पता पाइएको छ। लामो सरकारी प्रयासका बावजुद बालबालिकामा हुने रक्तअल्पताको समस्या घट्नु साटो बढ्दै गएको यस तथ्यांकले देखाउँछ।
शाखाको पछिल्लो तथ्यांक विश्लेषणबाट पाँच वर्षमुनिका बालबालिका, किशोरकिशोरी, गर्भवती, सुत्केरीलगायत सबै उमेरमा आइरनको कमीले रक्तअल्पता हुन्छ। यो नेपालको एक मुख्य जनस्वास्थ्य समस्या हो।
‘सन् २०२२ को तथ्यांकले नेपालमा बर्सेनि रक्तअल्पताको समस्या बढ्दै गएको देखाउँछ। सबैभन्दा बढी ६ देखि २३ महिनाका बालबालिकामा यो समस्या छ। देशभर यो उमेर समूहका ६६ प्रतिशत बालबालिका यो समस्याबाट पीडित छन्,’
सोही वर्षको तथ्यांकबाट देशभरका ३९ प्रतिशत किशोर-किशोरीमा पनि रक्तअल्पताको समस्या देखिएको छ। यस्तै, १५ देखि ४९ वर्ष उमेर समूहका ४३ प्रतिशत महिलामा पनि रक्तअल्पता देखिएको छ।
बर्सेनि रक्तअल्पता घट्नुको साटो बढ्दै गएकाले यो जनस्वास्थ्य मुख्य समस्या बनेको थापा बताउँछन्। ‘सात प्रदेशमध्ये सबैभन्दा बढी मधेशमा रक्तअल्पताको समस्या अझ बढी छ,’ उनी भन्छन्।
तथ्यांकमा रक्तअल्पता
नेपालमा रक्तअल्पतासम्बन्धी तथ्यांक नियालौं। हरेक ५ वर्षमा देशभर स्वास्थ्य सर्वेक्षण गरिन्छ। जस्तो- सन् २००६ गरिएको सर्वेक्षणमा ६ देखि ५९ महिनाका बालबालिकामध्ये ४८ प्रतिशतमा रक्तअल्पता थियो। सन् २०११ मा घटेर ४६ र २०१६ मा फेरि बढेर यो संख्या ५३ प्रतिशत पुग्यो।
यो त भयो ६ देखि ५९ महिनाका बालबालिकाको तथ्यांक। सन् २००६ मा १५ देखि ४९ वर्षका महिलामध्ये ३६ प्रतिशतमा रक्तअल्पता देखिएको थियो। सन् २०११ मा उक्त उमेर समूहका ३५ प्रतिशत महिलामा यो समस्या देखियो। र, सन् २०१६ मा बढेर ४१ प्रतिशत महिलामा रक्तअल्पता देखिएको थियो।
यी आँकडाले नेपालमा रक्तअल्पताको समस्याले विकराल रूप लिँदै गएको प्रष्ट्याउँछन्।
यस्तै, सन् २०१६ मा ६ देखि ५९ महिनाका बालबालिका र १५ देखि ४९ वर्षका महिलाको रक्तअल्पता परीक्षण गरिएको थियो। ६-५९ महिनाका बालबालिकामध्ये ५३ प्रतिशतमा रक्तअल्पता देखिएको थियो। त्यसमा पनि ग्रामीण भेगमा ५६ र शहरी क्षेत्रका ४३ प्रतिशत बालबालिकामा यो समस्या थियो। यसैगरी, १५-४९ वर्ष उमेर समूहका ४१ प्रतिशत महिलामा पनि रक्तअल्पता देखिएको थियो। यो भनेको १० मध्ये ४ महिलामा रक्तअल्पताको समस्या देखिनु हो।

न्यूनीकरणमा के गर्दैछ सरकार ?
६-५९ महिनाका बालबालिका र १५-४९ वर्ष उमेर समूहका महिलामा रक्तअल्पताको अवस्था भयावह हुँदै गएको सरकारी तथ्यांकले नै देखाउँछन्। त्यसैले हो, यो समस्यामाथि सरकारले दृष्टि दिएको पनि।
यो समस्या न्यूनीकरणका लागि सरकारले हरेक विद्यालयमा आइरन चक्की निःशुल्क वितरण गर्दै आएको छ। सरकारी विद्यालयमा साताको एक दिन आइरन चक्की वितरण गरिन्छ। यस्तै, गर्भवतीलाई हरेक सरकारी स्वास्थ्य संस्थामा निःशुल्क आइरन चक्की र फोलिक एसिड उपलब्ध गराइन्छ।
६ महिना कटेका र पाँच वर्षमुनिका बालबालिकाको खाना पोषणयुक्त नहुँदा रक्तअल्पताको समस्या निम्तिन्छ। रक्तअल्पता देखिएका बालबालिकालाई १५ वटा पोषण तत्त्व मिश्रित बालभिटा वितरण गर्ने गरिएको छ।
सरकारी तहबाटै यो प्रयासका बावजुद रक्तअल्पता न्यूनीकरण हुन नसक्नुका विभिन्न कारण रहेको थापा बताउँछन्। ‘रक्तअल्पता हुनुको प्रमुख कारण पोषणको अभाव हो । हामीले खाने खानाबाट पोषण पाइने भएकाले दिनहुँ यस पाटोमा ध्यान दिनु जरुरी छ,’ उनी भन्छन्, ‘हुनेखाने व्यक्तिहरूले दैनिक पोषणयुक्त सन्तुलित खाना खान्छन्। तर, हुँदा खाने वर्गले पेट भर्नकै लागि खान्छन्। त्यसले पनि रक्तअल्पताको समस्या न्यूनीकरण नभएको हुन सक्छ।’
उनका अनुसार रक्तअल्पता हुन नदिन सबै उमेर समूहका व्यक्तिले सन्तुलित खानेकुरामा जोड दिनु आवश्यक छ। त्यो भनेको हरियो सागपात, गेडागुडीको झोल, फलफूल खानुपर्नेमा थापा जोड दिन्छन्।
तराईका जिल्लाको परिदृष्य केही फरक छ। त्यहाँ पनि सन्तुलित खानाको कमी त छ। तर, पहाड र हिमालको तुलनामा तराईको पानी प्रदूषित छ। सोही प्रदूषित पानी पिउनाले झाडापखाला, कुपोषणलगायत समस्या देखिन्छन्। अन्ततोगत्वा त्यसले रक्तअल्पताको समस्या निम्त्याउँछ।
के हो रक्तअल्पता ?
कान्ति बाल अस्पतालका हेमाटोलोजिस्ट तथा क्यान्सर रोग विशेषज्ञ डा. सुधीर सापकोटाका अनुसार चलनचल्तीको भाषामा रक्तअल्पता भनेको रगतको कमी हो। रातो, सेतो र प्लेटलेट्स गरी तीनथरिका रक्त कोषहरूबाट रगत बन्छ। तीनमध्ये रक्तकोषमा रातो रगतको कमी भएर रक्तअल्पता हुन्छ।
यस्तै, रगतमा हेमोग्लोबिन हुन्छ। त्यसको काम रगतलाई रातो बनाउने र फोक्सोबाट अक्सिजन लिएर शरीरभर पुर्याउने हो। तर, हेमोग्लोबिनको मात्रा कम भयो भने अक्सिजनको कमी भएर स्वाँस्वाँ हुने, श्वास फेर्न गाह्रो हुने, अलिकति दौडधुप गर्नासाथ थकान महशुस हुने गर्छ। यस्तै, बालबालिकाले रक्तअल्पता हुँदा ढुंगा, माटोलगायत अखाद्य बस्तुहरू खाने गर्छन्। डा. सापकोटा भन्छन्, ‘रातो रक्तकोष र हेमोग्लोबिनको कमी हुनुलाई नै रक्तअल्पता भनिन्छ।’
रक्तअल्पता आइरनको कमीका कारण हुन्छ। बालबालिकाले खाना राम्रोसँग खाएन भने बालबालिकामा आइरनको कमी हुन्छ र रक्तअल्पता देखापर्छ।
बालबालिकामा रक्तअल्पता हुने अर्को कारण हो, पेटमा हुर्किने जुका। पाँच वर्षमुनिका बालबालिकाको पेटमा जुका पर्ने समस्या धेरै हुन्छ। पेटमा हुर्किने जुकाले रगत चुस्छ र रक्तअल्पता हुन्छ। सोही कारण बालबालिकालाई ६-६ महिनामा जुकाको औषधि खुवाउने गरिएको हो। त्यसबाहेक सिकलसेल एनिमिया, थालेसेमियाजस्ता वंशाणुगत रोगले पनि रक्तअल्पता निम्त्याउँछन्।
कसरी थाहा पाउने रक्तअल्पता ?
रक्तअल्पता हुँदा बालबालिकामा स्वाँस्वाँ हुने, खान मन नगर्ने, थकान महशुस हुने, रिंगटा लाग्ने, छटपटी हुने, पढाइमा ध्यान नदिने, तौल कम हुनेजस्ता लक्षण देखिन्छन्।
डा. सापकोटाका अनुसार उमेरअनुसार हेमोग्लोबिन कति हुनुपर्छ भन्ने मापदण्ड तय छ। त्यसभन्दा कमी भएमा रक्तअल्पता भएको मानिन्छ। उनी भन्छन्, ‘पाँच वर्षमुनिका बालबालिकाको हेमोग्लोबिन ११० ग्राम डिसिलिटर हुनुपर्छ। यस्तै, ५-११ वर्षका बालबालिकाको हेमोग्लोबिन ११५ ग्राम डिसिलिटर, १२-१४ बालबालिकाको १२० ग्राम डिसिलिटर, १५ वर्ष पुगेका किशोरीहरूमा १२० ग्राम डिसिलिटर र १५ वर्ष पुगेका किशोरहरूमा १३० ग्राम डिसिलिटर हेमोग्लोबिन हुनुपर्छ।’
परीक्षणका क्रममा रक्तअल्पता देखापरे के कारणले यो समस्या देखिएको हो भन्ने कारण खोजिन्छ। शुद्ध शाहाकारी व्यक्तिहरूमा पनि भिटामिन ‘बी’को कमीले पनि रक्तअल्पताको समस्या देखापर्ने उनी बताउँछन्।
आइरनको कमीले रक्तअल्पता भएको हो भने करिब ३ महिना आइरन चक्की खानुपर्छ। खासगरी, महिलामा ३ महिना आइरन चक्की खाँदा पनि रगतको मात्रा बढेन भने थप स्वास्थ्य जाँच गर्नुपर्छ। यदि, रक्तअल्पताको समस्या वंशाणुगत रहेछ भने त्यसको उपचार पद्धति पनि फरक हुने डा. सापकोटा बताउँछन्।
‘रक्तअल्पताले तत्काल र दीर्घकालीन असर गर्छ। तत्काल हुने असरमा स्वाँस्वाँ हुने, खान मन नगर्ने, झिँजो मान्ने, काममा एकाग्र नहुने, पढाइमा मन नलाग्ने हुन्छ,’ भन्छन्, ‘रक्तअल्पताको समस्या भएका बालबालिकालाई अरू रोगले पनि चाँडै आक्रमण गर्छन्। बालबालिकालाई लामो समय रक्तअल्पता भइरह्यो भने बौद्धिक र शारीरिक विकासमा असर पुग्छ। त्यो भनेको दीर्घकालीन असर हो।’
रक्तअल्पता भएका बालबालिकामा हेमोग्लोबिनको मात्रा बढाउन भिटामिन ‘बी’, आइरन चक्की, फलफूल, हरिया सागपात खुवाउने तथा नियमित जाँच गरी चिकित्सकको सल्लाहबमोजिम औषधि चलाउन डा. सापकोटा सुझाउँछन्।