लन्डन- भाले गोहीसँग संसर्ग नगरी एउटी पोथी गोही आफैं गर्भवती भएको घटना पहिलो पटक कोस्टारिकाको एउटा चिडियाखानामा पत्ता लागेको छ।
उक्त गोही र उसको अण्डाभित्र विकसित भ्रुणमा ९९.९ प्रतिशत आनुवंशिक समानता छ। ‘भर्जिन बर्थ’ अर्थात् ‘कुमारी आमाबाट हुने जन्म’ पनि भनिने त्यस्तो प्रक्रिया चराचुरुंगी, माछा र अन्य सरीसृपमा देखिन्छ। तर, यसअघि गोहीमा पनि त्यस्तो हुन्छ भन्ने थाहा थिएन।
क्रम विकासका क्रममा कुनै पुर्खाबाट त्यस्तो क्षमता गोहीमा पनि विकसित भएको हुनसक्ने वैज्ञानिकहरूको आकलन छ। यसबाट प्राचीनकालमा पृथ्वीमा विचरण गर्ने तर लोप भइसकेको डाइनोसरका पोथीहरू पनि भालेको संसर्गबिनै प्रजनन गर्न सक्थे भन्ने देखिन्छ।
रोयल सोसाइटीको वैज्ञानिक जर्नल ‘बायोलजी लेटर्स’मा यसबारे भर्खरै एउटा शोधपत्र प्रकाशित भएको छ। कोस्टारिकाको ‘पार्क रेप्टिलानिया’मा पालिएको एउटा १८ वर्षे पोथी गोहीले जनवरी २०१८ मा पारेको अण्डामा यो घटना पुष्टि भएको हो।
उक्त अण्डामा भ्रुण पूर्ण रूपमा विकसित भएको थियो तर कोरलिन नपाई त्यो मर्यो। उक्त पोथी गोहीलाई दुई वर्षको उमेरदेखि त्यो चिडियाखानामा एक्लै राखिएको थियो।
तर, गोहीले अण्डा पारेपछि चिडियाखानामा कार्यरत वैज्ञानिकहरूको टोलीले अमेरिकाको भर्जिनिया टेक विश्वविद्यालयमा कार्यरत डा. वारन बुथसँग सम्पर्क गरे। उनी ११ वर्षयता पशुपक्षीमा ‘पार्थनोजेनेसिस’ अर्थात् भाले र पोथीको संसर्गबिनै हुने प्रजननबारे अनुसन्धान गरिरहेका छन्।
डा. बुथले गोहीको भ्रुणको विश्लेषण गरे। त्यसको आनुवंशिक संरचना माउसँग ९९.९ प्रतिशत मिल्यो। त्यस आधारमा उक्त भ्रुणको बाबु नभएको पुष्टि भयो। यो कुरा पत्ता लाग्दा आफू छक्क नपरेको डा. बुथले बीबीसी न्यूजलाई बताएका छन्।
‘हामी यस्तो घटना सार्क, चराचुरुंगी, सर्प र छेपाराहरूमा देख्छौं,’ उनले भने। गोहीमा यसअघि ‘पार्थनोजेनेसिस’ भएको पत्ता नलाग्नुको कारण मानिसले तिनमा त्यस्तो घटना नखोजेको हुनसक्ने अनुमान उनको छ।
‘मानिसले घरमा सर्प पाल्न थालेपछि सर्पमा पार्थनोजेनेसिस देखापरेका घटनाबारे थुप्रै विवरण आउन थाले। तर एउटा सामान्य सरीसृप पालकले प्रायः गोही पाल्दैन,’ उनले भने।
आफ्नो प्रजातिको संख्या घटेको र मासिन सक्ने जोखिम भएको अवस्थामा पार्थनोजेनेसिस गर्न सक्षम जीवले संसर्गबिनै सन्तान जन्माउन सक्छन् भन्ने मान्यता छ। पर्यावरणीय परिवर्तनका कारण आफ्नो संख्या घट्दा डाइनोसरका केही प्रजातिले यही विधिबाट सन्तान जन्माएको हुनसक्ने डा. बुथको अनुमान छ।
‘धेरै प्रजातिमा पार्थनोजेनेसिसको विधि समान हुँदा यो युगौंदेखि चल्दै आएको देखिन्छ,’ उनले भने, ‘यसबाट डाइनोसरहरूले पनि यही तरिकाबाट प्रजनन गरेको हुनसक्ने संकेत पाइन्छ।’
बीबीसीबाट