काठमाडौं- राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले चीनले नेपाललाई ऋण जालमा फसाउन खोजिरहेको आरोप लगाएका छन्।
सर्लाहीको मलंगवामा अभियानले आयोजना गरेको ‘नेपालप्रति चिनियाँ अभ्यास र असर’ विषयक विचारगोष्ठीमा बोल्दै उनले चीनले नेपाललाई ऋण जालमा फसाई श्रीलंका बनाउन खोजिरहेको आरोप लगाए।
चीनले पछिल्लो समय नेपालमाथि विभिन्न कोणबाट आँखा लगाइरहेको उनले टिप्पणी गरे। यादवले भने, ‘उत्तरतिरबाट नेपाली भूमि क्रमशः अतिक्रमण भइरहेको छ। चीनले देशभित्र राजनीतिक हस्तक्षेप गर्नुका साथै अघोषित नाकाबन्दीलाई निरन्तरता दिएको छ।’
नेपाललाई चीनले तिब्बत बनाउने षड्यन्त्र गरिरहेको खुलासा पनि उनले गरे। उनले भने, ‘चीनको तिब्बतीकरण गर्ने षडयन्त्रको विरोधमा अब सम्पूर्ण नेपालीले एकजुट भई आवाज उठाउने बेला आएको छ।’

गोष्ठीमा पूर्वमन्त्री रामचन्द्र राय यादवले नेपाललाई श्रीलंका बनाउने रणनीतिमा चीन लागेको आरोप लगाए। उनले भने, ‘चीनले नेपाललाई श्रीलंका बनाउन खोजिरहेको छ। पोखरा विमानस्थलमा लगानी गरेर विमानस्थल कब्जामा लिने षडयन्त्र गरिरहेको छ।’
चीनले बीआरआईमार्फत नेपाललाई ऋण जालमा पार्न विभिन्न कोणबाट कसरत गरिरहेको पनि उनले जिकिर गरे। उनले भने, ‘चीनको विस्तारवादी नीतिलाई रोक्नुपर्छ, नेपाललाई चिनियाँ ऋणको जालमा फस्न दिनु हुँदैन।’
नागरिक समाजका अगुवा शिवचन्द्र चौधरीले चीनको विस्तारवादी नीतिलाई हामी सबैजना मिलेर नरोकेसम्म नेपालको विकास सम्भव नहुने जिकिर गरे। उनले भने, ‘कहिले चीनका लागि नेपाली राजदूतको ओहोदा प्रमाण पत्र नबुझिदिने त कहिले काठमाडौंमा रहेको चिनियाँ दूतावासमार्फत चीनले नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्न लगायतको काम गरिरहेको छ।’
सन्त हितराम दास जीले सनातन संस्कृति नेपालको आत्मा भएको बताए। उनले भने, ‘समाजमा चलिरहेको जातीय द्वन्द्वलाई समाधान गर्न राष्ट्रीय एकताको सूत्र हिन्दू संस्कृति नै हो। त्यसकारण देशलाई संघीय हिन्दू गणतन्त्र कायम गरी अघि बढ्नु अहिलेको आवश्यकता हो।’